• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेकां सांसद चौधरी भन्छन् ‘ गाउँगाउँमा सिंहदरबार, गाउँगाउँमा भ्रष्टाचार’

नेकां सांसद चौधरी भन्छन् ‘ गाउँगाउँमा सिंहदरबार, गाउँगाउँमा भ्रष्टाचार’

राजविराज, २६ साउन । नेपाली कांग्रेसका नेता एवम् सांसद तेजुलाल चौधरीले गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि गाउँगाउँमा व्यापक भ्रष्टाचार भईरहेको बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको १९औं स्थापना दिवसको अवसरमा जिल्ला शाखाद्वारा शनिवार कठौनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि चौधरीले जनप्रतिनिधी विहिनको अवस्थामा जिल्ला समन्वय समितिमा केही सिमित कर्मचारीले पिसी लिने गरेको बताउँदै भने ‘पहिला त केही सिमित कर्मचारीले कमिशनको नाममा लुट्ने गर्थे भने अहिले जनप्रतिनीधि आएपछि गाउँगाउँमा सिंहदरबार आएको भनिन्छ तर त्यससँगै खुलेयाम भ्रष्टाचार भईरहेको छ । स्थानीय तहमा आएको बजेट व्यापक दुरुपयोग भईरहेको दावी गर्दै जनप्रतिनीधिहरुले खुलेयाम ३० प्रतिशतसम्म कमिशन लिने गरेको उनले बताए ।
वर्तमान सरकार मधेशी, आदिवासी, जनजाति एवम् पिछडावर्गको अधिकार कटौती गरेको चर्चा गर्दै अधिकार प्रत्यायोजित गर्ने नाममा खसहरु आफैआफैमा झगडा गर्ने गरेको दावी गरे । आदिवासी जनजाती महासंघको अधिकार तथा सुविधाहरु कटौती गरेकोले महासंघ आगामी दिनमा रहने वा नरहने हो भनी पूर्व युवा तथा खेलकुद राज्यमन्त्री समेत रहेका सांसद चौधरीले बताए । वर्तमान सरकार निरंकुश शैलीबाट अगाडि बढिरहेको आरोप लगाउँदै उनले भने ‘यो सरकार निरंकुश शैलीबाट अगाडि बढिरहेको छ, मिडियामाथि हस्तक्षेप गरी अंकुश लगाउने दिशामा अगाडि बढिरहेको छ ।’
नेपाली कांग्रेसकी सांसद नमिता चौधरीले सप्तरी जिल्लामा महिला हिंसा व्यापक रुपमा बढिरहेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिईन् । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारिता क्षेत्रमा जनजातिको सहभागिता रहे पनि आदिवासीको सहभागिता नगण्य जस्तै रहेकोले यसतर्फ समेत ध्यान पुर्याउन आग्रह गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी जिल्ला अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य विनोद कुमार चौधरी, रेडियो छिन्नमस्ता प्रा.लि.का शिवांशु एफ.एम.का अध्यक्ष अजय कुमार चौधरी, थारु कल्याणकारिणी सभाका अरुण कुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा आदिवासी, जनजाति एवम् महिला अधिकारका लागि आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, मानव अधिकारका लागि एकल महिला समूह प्रदेश २ कि अध्यक्ष अनिता देवकोटा र आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष बृजमान तामाङ्गलाई सम्मान गरिएको छ ।