• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खाजा भत्ता अब आमाहरुको बैंक खातामै पठाउँछौंः मन्त्री साह

खाजा भत्ता अब आमाहरुको बैंक खातामै पठाउँछौंः मन्त्री साह

राजविराज, २४ साउन । प्रदेश २ का सामाजिका विकास मन्त्री नवलकिशोर साहले विद्यार्थीहरुकालागि खाजा भत्ता अब आमाको नाममा बैंक खातामै उपलब्ध गराउने घोषणा गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई विहीबार शत प्रतिशत विद्यालय भर्ना घोषणा गर्दै उनले यस्तो घोषणा गरेका हुन् । विद्यार्थीको नाममा दिईने खाजा भत्ता अभिभावकले नै खर्च गर्ने भएकोले आमाको नाममा नै दिईनु उपयुक्त रहेको बताउँदै मन्त्री साहले भने ‘विद्यालयमा दिईने खाजा भत्ता समेत व्यापक दुरुपयोग हुने गरेकोले आमाकै नाममा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेका छौं, त्यसैले बैंकमा खाता खोल्न विद्यार्थीका आमाहरुलाई मेरो आग्रह छ ।’
संविधानमा व्यापक त्रुटी रहेको बताउँदै उनले संविधानमा रहेको त्रुटी सच्याउन आफुहरु अझैं संघर्षरत रहेको दावी गरे । लामो एवम् कठोर आन्दोलन पश्चात केही समयका लागि मात्र आफुहरुले बिराम दिएको राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री साहले भने ‘हामी पदमा गए पनि आन्दोलनको मर्मलाई बिर्सेका छैनौं, केन्द्र संघीय सरकारसँगको लडाई अझैं जारी, छ, सहज रुपमा मधेशको भावनालाई सम्वोधन नभए मन्त्री पद समेत त्यागेर आन्दोलनमा जान्छौं ।’
कोइलाडीको आफ्नै इतिहास रहेको भन्दै गजेन्द्रनारायण सिंह र रामराजा प्रसाद सिंहको जन्मस्थानको माटोको तिलक लगाएर आफु वहाँहरुको सपना साकार पार्न प्रतिवद्ध रहेको उनले बताए । मधेशको स्वास्थ्य र शिक्षाको अवस्था भयावह रहेको जानकारी दिँदै मन्त्री साहले भने ‘स्वाथ्य र शिक्षामा मधेशको अवस्था एकदमै दयनीय छ, मोबाइल स्वास्थ्य टोली प्रदेश २ को गाउँगाउँमा पुगेर सर्वसाधारण जनताको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने तयारीमा छौं ।’
तिलाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चौक जिरिया हाटमा आयोजित भव्य समारोहका बिच शिक्षा विकास समन्वय ईकाईका प्रमुख शंकर लुईटेलले शत प्रतिशत पुर्ण विद्यालय घोषणा गरे । स्पोन्सरशिप कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजना गरिएको घोषणा समारोहमा वडा नम्वर १ देखि वडा ८ सम्मका ५ वर्ष देखि १२ वर्ष उमेर समुहका विद्यालय बाहिर रहेका ५ हजार ९ सय ५१ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरि शत प्रतिशत पुर्ण बिद्यालय भर्ना गरिएको ईकाईका प्रमुख लुईटेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा भर्ना भएका निजी तर्फ २ हजार २ सय ७३ जना छात्रा–छात्रा र ३ हजार ६ सय ७८ जना सामुदायिक विद्यालयका विद्यालय बाहिर रहेका छात्र छात्रालाई विद्यालयमा भर्ना गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित शत प्रतिशत विद्यालय भर्ना कार्यक्रममा घोषणा समारोहमा सेभ द चिल्ड्रेन काठमाडौंका जनकराज पन्त, गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, शिक्षा विकास समन्वय एकाई श्रोत व्यक्ति योगेन्द्र प्रसाद यादव, वडा बाल सञ्जालकी अध्यक्ष निशा कुमारी साह, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादव लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय कट्टीका प्रधानाध्यापक सुर्यनारायण साह, विद्यालय व्यवस्थापन समितिहरुको तर्फबाट राधेश्याम यादव, शिक्षक उग्रकान्त झा, सेभ द सप्तरीका अध्यक्ष धुव्र देव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका बालबालिकाहरुले चेतनामूलक एकांकी नाटक प्रस्तुत गरे । गाउँपालिकाका प्रमेश कुमार झाद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य निमित कार्यकारी अधिकृत राजुकुमार झाले गरे ।