• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

मल अभावले किसानलाई सास्ती

एक बोरा मल लिन तीन–चार दिनसम्म लाइन
मल अभावले किसानलाई सास्ती

राजविराज, १० साउन । साउनको दोस्रो साता बित्नै लागेको छ तर वर्षा भएको छैन । चर्को घाम र प्रचण्ड गर्मीका कारण धानका बीऊ सुक्न थालेको छ । मोटर, पम्पिङ्गसेटको भरमा रोपिएका धान खेतहरुमा समेत धाजा फाट्न क्रम बढेको छ । धानबाली लगाउने समय बित्नै लाग्दा यसपाली खडेरी हुने हो कि भनी चिन्ताले सताउन थालेको छ सप्तरीका किसानहरुलाई । खेत रोप्न नपाएको पीडा त किसानहरुलाई छँदैछ, त्यसमाथि मलखाद समेत नपाउँदा उनीहरुलाई खेती गर्ने कार्य पहाड झैं लाग्न थालेको छ ।
वर्षैपिच्छे सप्तरी सहित मधेशका किसानहरुले भोग्दैआएको पीडा यसवर्ष समेत दोहोरिएको छ । पञ्चायती व्यवस्था, प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र हुँदै संघीय शासन व्यवस्थासम्म आईपुग्दा पनि किसानको समस्या ज्यूँका त्यूँ छ । मलखाद लिने क्रममा पञ्चायती शासनकालमा पनि लट्ठी, प्रजातन्त्रमा पनि लट्ठी, लोकतान्त्रिक गणतन्त्र र संघीय शासन व्यवस्थामा पनि पुलिसको डण्टा खानुपर्ने अवस्थामा अझैं परिवर्तन नआएको पीडित किसानहरु बताउँछन् ।
खेती किसानी हुने मधेशका जिल्लाहरुमा गहुँ बाली लगाउने बेला होस् या धानबाली लगाउने बेला । यहाँका किसानकालागि नियति नै बनिसकेको छ । भोट दिएर जिताएका जनप्रतिनीधिहरु पनि किसानको समस्याप्रति गम्भीर नभएको रुपनी गाउँपालिका वडा नम्वर–५ बसबिट्टीका मो. सकुर बताउँछन् । उनी चारदिनदेखि मल लिनका लागि एकाबिहानै राजविराज धाउँदैआएका छन् । अपरान्हतिर मल सकिएको भनी कर्मचारीले सूचना दिएपछि निराश भएर फर्किनुपरेको पीडा सुनाउँदै उनी भन्छन् ‘शासन व्यवस्था त बदलियो तर व्यहार बदलिएको छैन, हिजो जे थियो आज पनि त्यस्तै हालत छ ।’ अधिकारप्राप्तिकालागि आन्दोलन भएको चर्चा गर्दै उनले आफुहरुले भोट दिएर जिताएका प्रतिनीधिहरुले समेत यसतर्फ चासो नदेखाएको भनी गुनासो गरे ।
किसानहरुलाई थप सुविधा दिनुपर्नेमा प्रदेश सरकारले समेत गफै हाँकेर किसानलाई ठग्ने गरेको छिन्नमस्ता गाउँपालिका गाउँपालिका–५ का गणेश शर्मा बताउँछन् । वर्षा नभईरहेको अवस्थामा वैकल्पिक माध्यमबाट खेती गर्नकालागि मल लिन दैनिक राजविराज धाउँदा–धाउँदै थाकिसकेको दुःखेसो सुनाउँदै भने ‘यहाँ त पैसा तिरेर पनि मल पाउन गाह्रो छ, अब त लाग्छ खेती छाडिदिउँ तर वर्षभरि बालबच्चाको भरणपोषण कसरी गर्ने भनी चिन्ताले पिरोल्ने गर्छन् ।’
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्था मार्फत सप्तरीका किसानहरुलाई रसायनिक मल उपलब्ध गराउँदै आएका छन् । तर, सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको रसायनिक मल सहकारी संस्थाले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको किसानहरुको गुनासो छ ।
रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डिएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा प्रति बोरामा रु.४ सयदेखि ६ सयसम्म बढी मुल्यमा बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । धान रोपाइँको सिजनमा डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मलको आवश्यकता रहेपनि आवश्यकता अनुसार कृषि सामाग्री केन्द्रिले आपूर्ति नदिदाँ जिल्लामा रसायनिक मलको अभाव भएको जिल्ला सहकारी संघको भनाई छ ।
जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश कुमार गुप्ताका अनुसार कृषि सामाग्री केन्द्रले आपूर्ति नदिदाँ सप्तरीमा हालसम्म २ हजार मेट्रिक टन रसायनिक मल मात्रै वितरण गर्न सकेको हो ।
यता, कृषि सामग्री केन्द्र लिमिटेड राजविराजले सुरुमा डिएपी मल केहि रुपमा अभाव रहेपनि युरिया, डिएपी र पोटास गरी ८ हजार मेट्रिक टन जिल्लाका सहकारीहरुलाई वितरण गरिरहेको दावी गरेका छन् ।
किसानलाई मारमा पार्ने गरी रसायनिक मलको कालोबजारी भईरहेको विषयमा गुनासो आएकोले अनुगमन थालिएको मलखाद्य आपूर्ति समितीका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउँछन् । अनुगमनको क्रममा कुनै सहकारी संस्थाले कालोवजारी गरिहेको पाइएमा ठाउँको ठाउँ कारवाही गर्ने मलखाद्य आपूर्ति समितीका संयोजक प्रमुख जिल्ला अधिकारी पौडेलले चेतावनी समेत दिएका छन् ।