• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

राजविराज औद्योगिक क्षेत्र गौचरणमा परिणत !

राजविराज औद्योगिक क्षेत्र गौचरणमा परिणत !

राजविराज, ३ साउन । नेपाल सरकारद्वारा उपेक्षित रहँदै आएका राजविराज गजेन्दनारायण सिंह औद्योगिक क्षेत्र यतिबेला गौचरणमा परिणत भएको छ ।
सरकारी उपेक्षा र विभिन्न समस्याको मार खेप्दैआएको यो औद्योगिक क्षेत्रको पर्खाल गत वर्ष बाढीका कारण भत्केको थियो । तर एक वर्ष वितिसक्दा पनि घेरबेर समेत हुन नसक्दा अहिले गाई, भैंसी, बाख्रा लगायतका पशु चौपाया चराउने स्थलको रुपमा परिणत हुन पुगेको हो ।
आजभन्दा करिब २४ वर्षअघि भारत सरकारको सहयोगमा निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त औद्योगिक क्षेत्र हालसम्म सञ्चालनमा आउन सकेको छैन नै । त्यसमा निर्माण गरिएका भौतिक संरचनाहरु समेत उचित मरम्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । एक वर्ष अघि नै ठाउँठाउँमा पर्खालको ईटा भत्काएर औद्योगिक क्षेत्रभित्र रहेका दर्जनौ सिसौका रुखहरु कटान भई चोरी–तस्करी भईसकेका छन् । हाल पर्खाल समेत नरहेका कारण खुल्ला प्रवेशका कारण भवनको झ्याल ढोका लगायतका भौतिक संरचनाहरु समेत तोडफोड हुन थालेको तथा चोरी हुने सम्भावना समेत बढेको स्थानीयवासिन्दा समेत रहेका राजविराज नगरपालिका वडा नम्वर–९ मलेठका गंगाई यादवले बताए ।
औद्योगिक क्षेत्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘औद्योगिक निर्माण गर्ने बेलामा यहाँका वासिन्दाले खुशीखुशी जग्गा दियौं सञ्चालनमा आएपछि हामीले रोजगारी पाउने विश्वासका साथ तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’ त्यत्रो आन्दोलन गरेर देशमा संघीयता आउँदा पनि प्रदेश सरकारले समेत यो ओद्योगिक क्षेत्रलाई उपेक्षा गरेको स्थानीयवासिन्दाको गुनासो छ ।
माओवादी जनयुद्ध तथा तराईमा जारी सशस्त्र द्वन्द्वको मार खेप्दैआएको राजविराज औद्योगिक क्षेत्र वर्तमान अवस्थामा संरक्षण सम्वद्र्धन एवम् सञ्चालनकालागि खासै पहल हुन नसकेकोप्रति सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले चिन्ता व्यक्त गरे । वर्तमान संंघीय संरचनामा प्रदेश नम्वर २ अन्तर्गतको रुपनी गाउँपालिका वडा नम्वर–५ मा रहेको यो औद्योगिक क्षेत्रमा वर्षौंदेखिको समस्याहरुको पहिचान गरी सञ्चालनका लागि तत्काल पहल हुनुपर्ने बताउँदै उनले भने ‘यो औद्योगिक क्षेत्रमा देखिएका समस्याहरु अविलम्व समाधान गरी औद्योगिकमैत्री वातावरण निर्माण हुनु जरुरी छ ।’
औद्योगिक क्षेत्र सुरुभएसँगै नेपाल आयुर्वेद मेडिसिन, सरस्वती मेटल उद्योग, प्लाष्टिक दाना उद्योग, महालक्ष्मी खाद्य उद्योगहरु केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो । गत वर्षको वर्षाका कारण भत्किएको पर्खाल हालसम्म निर्माण नभएका कारण खुला रहेका रहेको पशुचौपाया चराउने गरिएको राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख दिपक आचार्यले स्वीकार गरे ।
गौचरणको रुपमा औद्योगिक क्षेत्र प्रयोग भईरहेका कारण आफु एकदमै चिन्तित रहेको बताउँदै उनले भने ‘हामीले पर्खालको लागि ईष्टिमेट तयार गरेर दिईसक्दा पनि बजेट आएका छैन, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड विकास समितिले मरम्मत सम्भारका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको छ तर त्यो पनि प्राप्त नभएको अवस्था छ ।’ आफुले व्यक्तिगत तवरबाट पनि औद्योगिक क्षेत्रलाई जोगाउन पहल गरिरहेको जानकारी दिँदै रुपनी गाउँपालिकाबाट प्राविधिकको सहयोगमा १८ लाख रुपैयाँको ईष्टिमेट तयार गरी केन्द्रमा पठाएको बताए ।
औद्योगिक क्षेत्रको दुरावस्थाबारे रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले आफु चिन्तित रहेको भन्दै केन्द्र सरकार र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । गाउँपालिकाको बजेटले नभ्याउने भएकोले आफुले समेत औद्योगिक क्षेत्रको संरचना सुधार, व्यवस्थापन र सञ्चालनका लागि पहल गरिरहेको उनले जानकारी दिए ।