सप्तरीमा ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार

सप्तरीमा ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ असार । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ । आँपको राजधानी मानिएको जिल्लामा आँप उत्पादनमा वृद्धि भएसँगै गत बर्षको तुलनामा व्यापार दोब्बर भएको हो ।
सात हजार हेक्टर क्षेत्रफलमा खेती रहेपनि जिल्लामा पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको छ । सप्तरीमा सरदर प्रतिकिलो २० रुपियाँको दरले विक्री–वितरण भएकोमा ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार गत बर्ष सप्तरीमा १४ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब २८ करोड बराबरको आँपको व्यापार भएको थियो । यस बर्ष आँप उत्पादन वर्ष रहेकोले दोब्बरले वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताए ।
पूर्व–पश्चिम राजमार्ग आसपासमा पूर्वमा कञ्चनरुपदेखि पश्चिममा वलान नदीसम्म बढी आँप खेती हुने गरेकोमा महुली, जण्डोल, मैनाकडेरी, श्रीपुर, मधुपट्टी, मलहनियाँ, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, रुपनगर लगायतका स्थान आँपको पकेट क्षेत्र मानिन्छ ।
कार्यालयका अनुसार विभिन्न समयमा परेको असिना तथा हावा हुरीले १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको आँप बालीमा क्षति पुगेको छ । सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ । उत्पादित आँप स्थानीय बजारका साथै काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म खपत हुने गरेको कार्यालयले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author