• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोवाईल फोनको दुरुपयोग रोक्नसके अधिकांश अपराध नियन्त्रण हुन्छः एसएसपी वस्न्यात

मोवाईल फोनको दुरुपयोग रोक्नसके अधिकांश अपराध नियन्त्रण हुन्छः एसएसपी वस्न्यात

राजविराज, २४ असार । नेपाल प्रहरीका नायव प्रहरी महानिरिक्षक (एसएसपी) धिरु वस्न्यातले समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि प्रहरी र नागरीक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा जिल्ला प्रहरी कार्यालयको हाताभित्र नवनिर्मीत महिला तथा बालबालिका सेवा केन्द्र भवनको आईतवार उद्घाटन गर्दै उनले बताएका हुन् ।
‘समाजमा शान्ति ल्याउन र अपराधिक गतिविधि न्युनिकरण गर्नका प्रहरी र नागरिक मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ’ उनले भने–‘प्रहरी र नागरीक मिलेर निस्वार्थ भएर अघि बढ्दा मात्रै समाज शान्ति सुव्यवस्था कायम हुन्छ ।’
शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध रहेको भन्दै एसएसपी वस्न्यातले शान्ति सुरक्षालाई अझै सुद्धिढ गर्न लागि आमनागरिकलाई आह्वान समेत गरे । अपराध अनुसन्धान महाशाखाका प्रमुख समेत रहेका उनले आफ्ना बालबालिकालाई मोवाईल फोन दिदाँ अभिभावकले रेखदेख गर्नुपर्ने आवश्यकता औल्याए । ‘हत्या, जबरजस्ती करणी, चोरी, लुटपाट लगायतका अधिकांश अपराधिक घटनामा मोवाईल फोन नै सहयोगी बन्न पुगेको अनुसन्धानले देखिएको छ’ उनले भने–‘मोवाईल फोनको दुरुपयोग रोक्नसके अधिकांश अपराध नियन्त्रण हुन्छ ।’
समारोहका प्रमुख अतिथी एसएसपी वस्न्यातले प्रलोभनमा नपरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न इमान्दारीपुर्वक काम गर्न प्रहरीलाई निर्दशन समेत दिए । उद्घाटन समारोहमा प्राविधिक तर्फका प्रहरी निरिक्षक निरंजन कुमार सिहले नेपाल तथा एशियाली विकास बैंकको सहयोगमा निर्मित भवनको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनअनुसार कुल १ करोड ३२ लाख ३६ हजार ५ सय ६८ रुपैयाँको लागतमा १५ सय ६५ वर्गफिट क्षेत्रफलमा ३ तल्ले भवन निर्माण भएको हो । भवनमा रिसेप्शन, कार्यालय कक्ष, इन्र्चाज हल, मिटिङ्गहल, डयुटीहल, परार्मश कक्ष, भिकिटम हल, भान्सा कोठा, तालिम कक्ष तथा डाईनिङ्ग हल गरी कुल १७ वटा कोठा रहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) मुकेश कुमार सिहले बताए ।
उनले सो केन्द्रबाट प्रभावकारी ढंगबाट लक्षित वर्गलाई सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । समारोहमा भवन निर्माणमा सहयोग गर्ने लैङ्गिक हिंसा तथा नियन्त्रण संजालका पदाधिकारी र प्रहरीलाई एसएसपी वस्न्यातले कदर पत्रबाट सम्मान समेत गरे ।
समारोहमा जिल्ला समन्वय समिती सप्तरीका संयोजक प्रभाकर यादव, निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई, लैङ्गिक हिंसा नियन्त्रण संजालका अध्यक्ष मनोहर पोखरेल लगायतले बोलेका थिए ।