सरकारी तथा गैरसरकारी निकायद्वारा प्रदेशको निर्णय अवज्ञा

सरकारी तथा गैरसरकारी निकायद्वारा प्रदेशको निर्णय अवज्ञा
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ असार । प्रदेश सरकारले मुस्लिम समुदायको ईद पर्वको अवसर पारेर आइतवार सार्वजनिक विदा दिए पनि सप्तरी सहितका जिल्लाहरुमा अवज्ञा गर्दै सरकारी तथा गैरसरकारी कार्यालय सञ्चालन गरेका छन् ।
गत विहीबार प्रदेश २ को मन्त्री परिषद्को बैठकले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । यद्यपी सप्तरीको राजविराज स्थित जनकपुर उच्च अदालतको राजविराज ईजलास, सप्तरी जिल्ला अदालत, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, ग्लोबल आइएमई सहितका सरकारी तथा निजी बैंकहरु पूर्ण रुपमा सञ्चालनमा रहेको थियो । यद्यपी कार्यालयहरु सञ्चालनमा रहे पनि अन्य दिनको तुलनामा सेवाग्राहीहरुको चाप भने एकदमै न्यून रहेको थियो । कार्यालयहरुमा कार्यरत कतिपय कर्मचारीहरु विदा मनाउन घर गए पनि कार्यालय सञ्चालन रहने जानकारी पाएपछि हतारहतार कार्यक्षेत्र फर्किएका थिए । यद्यपी जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय भने बन्द रहेको थियो ।
प्रदेश सरकारले असार १ गते नै सार्वजनिक विदा घोषणा गर्दा पनि कार्यान्वयनमा नआउनु भनेको संघीयतामाथिको खतराको संकेतको रुपमा लिनुपर्ने वरिष्ठ अधिवक्ता हिम्मत सिंहले बताए । उनले भने ‘यदी संघीयतालाई स्वीकार गरिसकिएको छ भने प्रदेशको निर्णयलाई पनि मान्नुपर्ने थियो ।’
उच्च अदालत राजविराज बार ईकाईका अध्यक्ष विजय कुमार यादवले प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सरोकारवाला निकायले विशेष सजगता अपनाउनुपर्नेमा जोड दिए । सार्वजनिक विदाको निर्णय भए पनि समन्वयको अभावले कार्यान्वयनमा आउन नसकेको हुन सक्ने सप्तरी जिल्ला बार एसोसिएसनका अध्यक्ष रामप्रसाद चौधरीले बताए । यस्तै सप्तरी जिल्ला अदालतका सूचना अधिकारी विश्वराज पोखरेलले आफुहरुलाई माथिबाट कार्यालयमा विदाको विषयमा कुनै जानकारी नआएकोले अदालत सञ्चालनमा रहेको बताए । सप्तरी
सनराईज बैंक राजविराजका प्रबन्धक रोहित महासेठले आफुहरु प्रदेश सरकारको हरेक निर्णय मान्न तयार रहे पनि आधिकारिक रुपमा जानकारी नआएको तथा जिल्लाको कुनै तहबाट समेत कुनै समन्वय नभएकोले बैंक सञ्चालनमै रहेको बताए । यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख राजेन्द्र मण्डल, ग्लोबल आइएमईका प्रमुख ज्ञानकुमार साह लगायतले बैंकहरुको केन्द्रीय कार्यालयहरुले आफुहरुलाई विदा दिने जानकारी दिएकोले कार्यालय सञ्चालन गर्नुपरेको प्रतिक्रिया दिए ।
यता अधिवक्ता मो. समिम अहमदले ईद पर्वको सार्वजनिक विदा कार्यान्वयन नहुनु मुस्लिम समुदायमाथिको ठूलो विभेद भएको बताए । ‘जानकी नवमी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा विदा लागु हुने तर मुस्लिम समुदायको महान पर्व ईदको विदा कार्यान्वयन नहुनु मुस्लिम समुदायमाथिको विभेद हो’ उनले भने ‘केन्द्र सरकार र प्रदेश सरकारले यस्ता गम्भीर त्रुटीहरु नसच्याए हामीहरु चुप लागेर बस्दैनौं ।’

Online Saptari
Online Saptari

About The Author