सप्तरीमा नदी नियन्त्रण कहिले ?

सप्तरीमा नदी नियन्त्रण कहिले ?
Bwtech New Add With Software & Bull SMS

सप्तरी जिल्लामा वर्षा याम प्रायः अभिशाप बन्ने गरेको छ । खेतिपाति नै मुख्य पेशा भएका यहाँका बहुसंख्यक जनताकालागि बर्षा आवश्यक त छ । तर, विभिन्न खोलाहरुका कारण प्रत्येक वर्ष वाढीले क्षति पुर्याउने गरेको कारणले यहाँका जनताकालागि जीउज्यान कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्ने गरेका कारणले वर्षालाई अभिशापका रुपमा लिनु पर्ने अवस्था नरहेको होईन । खाँडो, जीता, त्रियुगा, सुन्दरी, बलान, महुली लगायतका खोलामा गत वर्ष आएको वाढीले निकै उत्पात मच्चायो ।
कैंयौं गाउँ डुवानमा परे । जनधनको पनि धेरै क्षति हुन पुग्यो । त्यति बेला बाढीको चपेटामा परेकाहरुलै अझैं अझंै पनि अवस्था सामान्य बनाउन सकेका छैनन् । यसैबेला अर्को वर्षा याम फेरि सुरु भएको छ । समयमा गत वर्ष कटान भएका ठाउँमा मर्मत सम्भार तथा सम्भावित कटानका ठाउँमा तटबन्ध निर्माणकालागि पहल भएको भए यति बेला बाढी पीडित क्षेत्रका वासिन्दाहरुले अझैं पनि त्रास पालेर बस्नु पर्ने थिएन ।
विभिन्न खोलाबाट आउने गरेको वाढीले वर्षौंदेखि सप्तरीमा व्यापक रुपमा क्षति पुर्याईरहेपनि तिनको नियन्त्रणकालागि प्रभावकारी तवरले काम हुन सकिरहेको छैन । खास गरी वढी क्षति पुर्याउने गरेको खाँडोको तटबन्धकालागि आयोजनाको समेत स्थापना भईसके पनि प्रभावकारी ढंगबाट काम अघि बढ्न नसक्दा त्यसको तटीय क्षेत्रका बासिन्दाको मनमस्तिष्कमा सम्भावित क्षतिको त्रास कायमै छ ।
यसैगरी जीता, महुली, सुन्दरी, बलान, त्रियुगा लगायत अन्य खोलाको तटबन्ध लगायत वाढीबाट जोगाउनकालागि हुनु पर्ने काम नभएका कारणले फेरि यस्तै प्रकारको वाढीको ताण्डब व्यहोर्नु पर्ने पो हो कि भन्ने जनतामा एक प्रकारको डर कायमै छ । जनतालाई बाढीबाट सुरक्षित राख्ने दायित्व सरकारको भएपनि काममा भएको ढिलाई तथा अनावश्यक विवाद बढ्नाले समेत त्यसका पुर्याउने असर समेतलाई मध्यनजर गरी सकेसम्म चाँडो जनतालाई यस प्रकारको त्रासबाट मुक्ति दिलाउनु पर्ने आजको आवश्यकता हो । यसका साथै खोलाको वाढी नियन्त्रणकालागि भईरहेको कामको गुणस्तरका बारेमा पनि चासो राख्नु पर्ने आवश्यकता देखिन्छ ।
खासगरी खाँडो खोलाको वाढीबाट सुरक्षा दिलाउनकालागि तटबन्ध निर्माणका साथै दक्षिणीतर्फको भारतीय सीमावर्ती क्षेत्रबाट पानीको निकासकालागि अहिलेसम्म कुनै टुंगो लागेको छैन । वर्षा सुरु भएपछि उत्तरतिरबाट आएको वाढी बगेर दक्षिण कुनौलीतर्फ जाने तर भारतीय पक्षले त्यहाँ बनाएको बाँधका कारणले पानीको निकास रोकिँदा नेपालतर्फका गाउँहरु डुबानमा पर्ने खतरा कायमै रहेका कारणले यो समस्यालाई कुटनीतिक तवरले हल गर्नु पर्ने आवश्यकता छ ।
नेपालबाट जाने पानीको बहाव दक्षिणतिर यसरी नै राकि राख्ने हो भने यो समस्या सधैं यस्तै रहिरहनेमा आशंका मान्नु पर्दैन । त्यसैले खोलाको कटान रोक्नकालागि तटबन्ध निर्माणकालागि तदारुकता संगै पानी निकासकालागि पनि कुटनीतिक हल खोज्नु पर्ने आवश्यकता त छँदै छ । यसका साथसाथै सम्भावित कटानको अवस्था समेतलाई पहिचान गरेर ती स्थानमा पनि तटबन्ध निर्माणतर्फ ध्यान पुर्याउनु पर्ने अवस्था भएका कारणले यसकालागि सकेसम्म सिघ्र कामको थालनी जरुरी देखिन्छ ।

Online Saptari
Online Saptari

About The Author