• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हर्षोल्लासका साथ मनाईदै ईद उल फित्र

राजविराज, २ असार । मुस्लिम समुदायको महान पर्व ईद उल फित्र (ईद) सप्तरी सहित देशैभरी शनिवार भव्यताका साथ मनाइदैछ ।
ईदको अवसरमा राजविराज–३ स्थित नुरी जामा मस्जिदका साथै आसपास क्षेत्रमा सजावट गरिएको छ । मस्जिदमा विहानैदेखि शुभकामना आदान–प्रदानको कार्यक्रम समेत गरिएको छ । एक महिनाको लामो दैनिक रोजा (उपवास) पछि औपचारिक रुपमा ईदको घोषणा भई मुस्लिम समुदायले निक्कै हर्षोल्लासका साथ ईद मनाउनमा जुटेका छन् ।
मुस्लिम समुदायको पवित्र महिना रमजान र इदुलफित्र पर्व अर्थात नवौं महिना रमजानभरी एक महिनासम्म पानी समेत नखाई भोको रहने गरिएको मो. हैदर अलीले जानकारी दिए । उनका अनुसार रमजान महिनाको पर्व समाप्तिसँगै शौवाला महिनाको एक तारिख अल्लाहप्रति आभार प्रकट गर्न र पारिवारिक मिलन तथा आपसी खुशीयाली साटासाट गर्न ईदुल फित्रको नमाज पढेर ईद मनाउने गरिन्छ ।
मस्जिद तथा वरपर ईदको माहौलमा रौनकता छाएको छ । आफन्तजनले एक–अर्काको गलामा गला मिलाएर ईद मुबारक भन्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ । ईस्लाम धर्मको पाँच स्तम्भमध्ये रमजान एक हो, यसपर्वमा सम्पन्न मुस्लिमहरुमा साढे सात तौला सुन र साढे बाउन्न तौला चाँदी हुने व्यक्तिले गरिब समुदायलाई कुल सम्पतीको साढे दुई प्रतिशत दान गर्ने अनिवार्यता रहेको नेपाल राष्ट्रिय मुस्लिम फोरमका केन्द्रीय सचिव हासिम अन्सारीले जानकारी दिएका छन् ।
उनका अनुसार यसरी दिई दानलाई जकात भन्ने गरिन्छ । साधारण व्यक्तिले पनि रमजान महिनामा फित्रा प्रति व्यक्ति ७० रुपैयाँका दरले गरिब तथा विपन्न वर्गलाई दान दिने निर्णय भएको छ । गरिब र धनी बीचको दुरी हटाउने तथा सामाजिक भाइचार एवम् विस्तारको सन्देश दिने यो पर्वमा गरिव एवम् विपन्न वर्गलाई दान दिने अनिवार्यता रहेको छ । यस पर्वका अवसरमा मुस्लिम समुदायले घरमा विभिन्न परिकारहरु बनाएर ईष्ट मित्र तथा छरछिमेकका व्यक्तिहरुलाई बोलाएर खुवाउने गरिन्छ