राजविराज अस्पतालको अवस्था सुधार्न फोरमको पहल

मास्टर प्लान सहित विशेषज्ञ र उपकरण आवश्यकः मेसु दास
राजविराज अस्पतालको अवस्था सुधार्न फोरमको पहल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ जेठ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज प्रदेश २ कै नमूना अस्पताल बन्ने चर्चा चलिरहँदा संघीय समाजवादी फोरम नेपालका नेताहरुले सक्रियता बढाएका छन् ।
हाल अस्पतालमा रहेका समस्याहरुबारे विस्तृत रुपमा जानकारी लिएर समाधानका लागि ठोस पहल गर्ने उद्देश्यका साथ फोरम नेपाल सप्तरीको अगुवाईमा मङ्गलवार अस्पतालमा एक कार्यक्रम आयोजना गरियो । अस्पतालमा आयोजित छलफलमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालको अवस्थाबारे जानकारी गराएका छन् ।
देशका पुरानामध्येको यस अस्पतालमा ५० शैय्याको क्षमता रहेपनि विभिन्न समस्या र चुनौतीका कारण उपचार सेवा प्रभावित रहदै आएको छ । अस्पतालका मेसु दासले विभिन्न विशेषज्ञ डाक्टरहरुको अभावका कारण उपचारमा चुनौती थपिएको गुनासो गरे ।
एकातिर बिरामीको बढ्दो चापका कारण भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले ५० शैय्या क्षमताको अस्पताल रहेपनि त्यस मुताविक डाक्टर र नर्सहरुको दरबन्दी अनुसार पदपूर्ति नरहेको बताए । दासका अनुसार अस्पतालमा लामो समयदेखि सिभिल सर्जनको पद रिक्त नै छ । यस्तै प्याथोलोजिष्ट, एनेस्थेटिष्ट, छालारोग विशेषज्ञ, इएनटी सर्जन, बालरोग विशेषज्ञ लगायतको पदपूर्ति नभएको कारण उपचारमा समस्या आएको हो ।
कुल १२ जना मेडिकल अफिसर तत्काल आवश्यक रहेकोमा ६ जनाको मात्र दरबन्दी रहेको स्त्री रोग विशेषज्ञको दरबन्दी रहेपनि त्यसको पदपूर्ति नभएको डा.दासले जानकारी दिएका छन् । यसैगरी १८ जना स्टाफ नर्सको दरबन्दीमा १० मात्र कार्यरत रहेको र १० औं तहको वरिष्ठ नर्सको पद समेत रिक्त रहेको उनले बताए । विशेषज्ञ सँगसँगै आवश्यक उपकरणको पनि व्यवस्था हुनुपर्नेमा जोड दिंदै उनले सिटी स्यान, एनआईसियू, आईसियू, कल्चर जाँच तथा अक्सिजन प्लान्टको व्यवस्था हुनु आवश्यक रहेको बताए ।
पुराना भवनमा अस्पताल सञ्चालन गर्न समस्या भईरहेको कारण मास्टर प्लानको आधारमा अस्पताल भवन र स्टाफ क्वाटर समेतको निर्माणमा पहलका लागि उनले आग्रह समेत गरेका छन् । छलफलका सहभागीहरुले सरकारबाट गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउने भन्दै स्थानिय स्तरमा गर्नसकिने सुधारका लागि पहल गर्न मेडिकल सुपरिटेन्डेन्टलाई सुझाव दिएका छन् । उनीहरुले अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यान दिएर यसको क्षमता बढाई ३ सय शैय्या पु¥याउन सके सोही अनुपातमा चिकित्सक र आवश्यक उपकरणको व्यवस्था हुने बताए ।
फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित छलफलमा राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरु वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, शम्भु झा, व्यासशंकर उपाध्याय, धीरेन्द्र प्रसाद साह, महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पार्टीका जिल्ला सचिव केदार यादव, समाजवादी फोरम नेपालका नेतागण तथा स्थानिय वुद्धिजीवीहरुको समेत उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author