शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छौः प्रजिअ पौडेल

शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छौः प्रजिअ पौडेल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरी जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा दण्डहिनता अन्त्य गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।
राजविराज स्थित सिडियो बङ्गलामा सोमवार आयोजित पत्रकार भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सिमाक्षेत्रमा सम्भावित अपराध, चोरी तस्करी तथा वैध मदिराको कारोबारलाई पूर्ण रुपमा निष्तेज पार्न सुरक्षा संयन्त्र थप चनाखो भएर परिचालित हुने बताउँदै उनले भने ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा दण्डहिनता अन्त्य गर्न हामीहरु कुनै कसर बाँकी राख्ने छैनौं, जनताको जिउधनको सुरक्षामा अति सम्वेदनशील छौं ।’
प्रदेश नम्वर २ का आठ जिल्लाहरुमध्ये गरिबी तथा मानवीय सूचकांकमा सप्तरी सातौ स्थान अर्थात रौतहटभन्दा माथि रहेकोप्रति चिन्ता व्यक्त गर्दै जिल्लालाई माथि उठाउन सबै पक्ष जिम्मेवार भएर आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाका १८ ओटै स्थानीय तहहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै मनसुन आउने लागेकोले बाढीबाट जोगिन पूर्व तयारीमा जुट्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले देशमै राजनीतिक तथा शैक्षिक चेतना भएको जिल्ला भएको सप्तरी जिल्लालाई बुझेरै आएको चर्चा गर्दै विकास निर्माण लगायतका कार्यहरुमा सानातिना विवाद भएर मुद्दा मामिलामा जाने प्रवृतिलाई न्यूनिकरण गर्दै सहमती र सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कर्मचारी अभावले गर्दा बजार अनुगमन गर्न नसकिरहेको भन्दै त्यसलाई समेत अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा पत्रकारहरुबाट आएका सुझावहरुलाई आफुले गम्भीर रुपमा लिएको बताउँदै कार्यान्वयनतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे । पत्रकार भेंटघाट कार्यक्रममा सप्तरीका सुरक्षा अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको विभिन्न समस्या एवम् बेथितिहरुबारे ध्यानाकर्षण गराएका छन् ।

Online Saptari
Online Saptari

About The Author