• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

माछा मारेर गुजारा गर्ने मलाह जातिको पेशा संकटमा

माछा मारेर गुजारा गर्ने मलाह जातिको पेशा संकटमा

विद्यानन्द राम
राजविराज, २६ जेठ । सप्तरीको सप्तकोशी नदी तथा कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासमा बस्ने आदिवासी मलाह (मुखिया) जातिको पहिचान बोकेको पेशा संकटमा पर्न थालेको छ ।
मलाह जातिको पुख्र्यौली पेशा स्थानीय नदि नालामा माछा मार्ने, डुंगा खियाउने हो । तर वढ्दो आधुनिकतासँगै मलाह जातीको पुख्र्यौली पेशा संकटमा परेको हो । पहिला पहिला मलाह भन्ने वितिकै पानीको माउ भन्ने गरिन्थ्यो । नदी किनारामा विषेश वसोवास गर्ने मलाहहरुको पुख्र्यौली पेशा भनेको नदीमा डुङ्गा खियाउनु र माछा मारेर जिविकोपार्जन गर्नु हो । तर पछिल्लो समय आधुनिकताको कारण यो जातीको पुख्र्यौली मौलिक पेशा लोप हुदै गएको छ ।

‘साउन–भदौमा अरु महिनाको तुलनामा नदीमा बढी माछा आउने भएकाले राहत पुग्ने भएता पनि चैत, वैशाख र जेठ महिनामा दुई छाक टार्न कठिन भयो ।’

अझ यसमा पनि सप्तरीको भारदह, योगिनीया, मधुवापुर, कोशी ब्यारेज, पोर्ताहा, वैरवा, भलुवा लगायतका गाउँहरुमा वसोवास गर्ने मलाह समुदायको पेशा संकटमा परेको छ । कोशी व्यारेजमा पानीको वहाव कम हुँदै जानु र समयसँगै प्राविधिको विकासले आफुहरुको पेशा संकटमा परेको उनीहरु बताउँछन् ।
पहिला उनीहरु खुल्ला रुपमा सप्तकोशी नदीमा डुङ्गा खियाउने र माछा मार्ने गर्दथे, तर आज भोली यस्तो अवस्था छैन । मलाहहरु पुस्तौदेखि वसोवास गरे पनि अहिले भने कमजोर आर्थिक अवस्थासंगै आफनो मौलिक पेशा पनि गुमाउदै गएको गुनासो गर्छन् । विगतमा सप्तरीको यी क्षेत्रमा सवै भन्दा बढी मलाह जातीकै वसोवास थियो । अहिले पनि सो क्षेत्रमा करिव १८ सय घरधुरी मलाह जातिकै रहेको छ । वन्यजन्तु ऐनको कारण विषेश गरी मलाहहरुको व्यवसाय संकटमा पर्न गएको छ ।
यो क्षेत्रमा मलाह जातिको सदियौ देखीको वसोवस रहेको स्थानीय ललितकुमार मुखिया बताउँछन् । ‘खोलामा माछा पाइदैन, दिनभरि मार्दा पनि दुई किलोसमेत पुग्दैन, कसरी परिवारको गुजारा गर्ने?’ २४ वर्षीय उनले भने–‘साउन–भदौमा अरु महिनाको तुलनामा नदीमा बढी माछा आउने भएकाले राहत पुग्ने भएता पनि चैत, वैशाख र जेठ महिनामा दुई छाक टार्न कठिन भयो ।’
बिगतमा यो क्षेत्रमा मलाह जातिले आफनै तरिकाले जिविकोपार्जन गर्दथे । स्थानीय नदी र जलासय क्षेत्रमा भोगचलन गर्दै आएका थिए । तर पछिल्लो समय यो क्षेत्रका मलाहहरुको पहिचान संगै मौलिकता हराउदै गएको स्थानीय प्रमोद मुखिया बताउँछन् । सप्तकोशीसंग जोडिएका नदिहरुको आसपासको क्षेत्रलाई आफनो पुख्र्यौली थातथलो मान्ने मलाह जातिहरु सप्तरीको भारदह, योगिनीया, मधुवापुर, कोशी ब्यारेज, पोर्ताहा, वैरवा, भलुवा, बदगोरियामा मात्रै होईन अन्य ठाउँमा वसोवास गरे पनि आफनो पुख्र्यौली पेशा र पहिचान गुमाउँदै गईरहेका छन् ।
आफनो मौलिकता गुमेको भन्दै मलाह जातीको क्षेत्रमा काम गर्ने संघ संस्था र आदिवासी जनजातिको अधिकारसम्वन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि १६९ को नियम अनुसार अधिकार दिईएमा आफुहरुकोे मौलिकतासंगै पहिचान पनि जोगिने उनीहरुको भनाई छ ।