बालबालिकालाई सुमार्गमा डोहोर्याउने काइदा

बालबालिकालाई सुमार्गमा डोहोर्याउने काइदा
Bwtech New Add With Software & Bull SMS

–नन्दलाल आचार्य

पात्रहरू–
१. सभाध्यक्षको भूमिकामा – कमलेश (पिता, वर्ष ४३)
२. प्रमुख अतिथिको भूमिकामा – कृष्ण (बुद्धिजीवि, वर्ष ४१)
३. सहभागी सदस्यहरूको भूमिकामा – कविता (माता, वर्ष ३३)
र कुसुम (कान्छी छोरी, वर्ष ३)
४. उद्घोषकको भूमिकामा – कमला (जेठी छोरी, वर्ष ११)

(शनिबार साँझको ६ः३० बजेको समय छ । परिवारका अग्रज र अनुज सदस्यका साथै परिवार निकटका एक महानुभाव प्रमुख अतिथिको रूपमा उपस्थित छन् । परिवारकी एक सदस्य कमला उद्घोषकका रूपमा अघि बढ्छिन् ।)

कमला–(जम्ला हात गर्दै) नमस्कार ! म यस चौधरी परिवारकी एक सदस्य कमला आजको साप्ताहिक पारिवारिक सभाको उद्घोषण गर्ने अनुमति चाहन्छु । (सबैले ताली बजाएर स्वागत गर्दछन् ।)
अब म कार्यक्रमलाई औपचारिक दिशा प्रदान गर्न आसन ग्रहणको कार्यक्रम सञ्चालन गर्दै छु । सर्वप्रथम परिवारका मुली सदस्य कमलेशलाई सभाध्यक्षको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु ।
(सबैलाई नमस्कार गर्दै कमलेश आसन ग्रहण गर्दछन् । अन्यले ताली बजाउँछन् ।)
अब श्रद्धेय कृष्ण अधिकारीज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु । (सबैलाई नमस्कार गर्दै कृष्ण आसन ग्रहण गर्दछन् । अन्यले ताली बजाएर स्वागत गर्दछन् ।)
आसन ग्रहणका लागि प्रमुख अतिथिज्यूलाई हार्दिक धन्यवाद । अब परिवारकी अर्की सदस्य कवितालार्ई सहभागी सदस्यका रूपमा आसन ग्रहण गर्न निवेदन गर्दछु । (नमस्कार गर्दै कविता आसन ग्रहण गर्दछिन् । ताली बज्दछ ।)
अन्तमा परिवारकी कनिष्ट सदस्य कुसुमलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु । (ताली त बज्छ तर अपरिपक्व उमेरका कारण कुसुम औपचारिकता निर्वाह गर्दिनन् ।)
आजको कार्यक्रमलाई खुला सत्र र बन्द सत्र गरी दुई भागमा विभक्त गरिएको निवेदन गर्दछु । खुला सत्रमा चौधरी परिवारका सदस्यहरूले आ–आफ्नो वैयक्तिक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने छ जसमा साप्ताहिक रूपमा आफूले गरेका कार्यहरूको समीक्षा समेटिनु पर्दछ ।
बन्द सत्रमा भने खुला सत्रमा प्रस्तुत वैयक्तिक समीक्षात्मक प्रतिवेदन बारे टिकाटिप्पणी गर्ने र प्रमुख अतिथिलाई साक्षी राखी परिवारका सदस्यहरूको वैयक्तिक आचार संहिता÷प्रतिबद्धता समेटिएको सामुहिक रूपमा नयाँ प्रतिवेदन निर्माण हुन्छ । सबैले हस्ताक्षर गरी प्रतिवेदन फाइलिङ गर्नु पर्दछ । प्रतिवेदनमा समेटिएका प्रतिबद्धताहरू पालना गरे नगरेको बारे आउँदो सभाले मूल्याङ्कन गर्ने छ ।
अब खुला सत्रअन्तर्गत ज्येष्ठ सदस्य कमलेशलाई आफ्नो समीक्षात्मक साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्न अनुरोध गर्दछु । (कमलेश उठेर बोल्ने स्थानमा आउँछन् ।)

कमलेश–(लिखित समीक्षात्मक प्रतिवेदनको सहारा लिँदै) आदरणीय प्रमुख अतिथिज्यू, परिवारका सदस्यहरू ! सभामा यहाँहरू सबैलाई स्वागत छ ।
एकाध कमजोरीका बाबजुत मैले दैनिक कार्यसम्पादन गरेँ । मेरो दैनिक कार्य आफ्नो विद्यालयले तोकेको दैनिक रूटिङबमोजिम कार्य गर्नु हो । मैले आइतबारदेखि शुक्रबारसम्म विद्यालयको जिम्मेवारी पूरा गरेँ । शनिबारका दिन पारिवारिक कामकाज पूरा गर्न भने केही कसर अवश्य बाँकी राखेँ । यसका लागि क्षमा चाहन्छु । अर्को हप्ता यस खाले कमजोरी नरहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो प्रतिवेदन अन्त गर्दछु । धन्यवाद ! (ताली बज्छ ।)

कमला– आफ्ना बारे साङ्गोपाङ्गो चर्चाका लागि कमलेशज्यूलाई हार्दिक धन्यवाद ! अब म कविताज्यूलाई आफ्नो समीक्षात्मक साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्न निवेदन गर्दछु ।

कविता– (कागज हेर्दै) धन्यवाद उद्घोषकज्यू ! श्री सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू तथा सहभागी सदस्यज्यूहरूमा मेरो न्यानो अभिवादन !
मैले परिवारका सदस्यहरूको खानपिन, सरसफाई र रेखदेखको कार्य जिम्मेवारीका साथ समापन गरेकी छु । जेठी छोरी कमलालाई सभा सञ्चालन र पढाइ–लेखाइमा पर्याप्त मार्गनिर्देश गरेकी छु । कमजोरी पक्ष नभएका होइनन् । मेरो अर्को जिम्मेवारी स्वाध्यायन गर्नु थियो । ‘आजको साप्ताहिक’, ‘शिक्षक’, ‘मधुपर्क’ र ‘गरिमा’ जस्ता शैक्षिक÷साहित्यिक पत्रिका अनि केही उपन्यास पढ्नमा समय दिए पनि मैले शिक्षा सेवा आयोगको तयारी गर्ने सन्दर्भमा उचित ध्यान दिन सकिनँ । पटक–पटक छोरीहरू कमला र कुसुम आफ्नो दायित्वबाट पन्छिदा भने ठीक मार्गमा ल्याउने उद्देश्यले मानसिक कसरत गर्नुप¥यो । यद्यपि मानसिक÷शारीरिक दण्ड भने विल्कुलै दिएको छैन ।
परिवारका अन्य सदस्यले पनि उचित वातावरण निर्माणमा सघाउपघाउ गरेमा आउँदा हप्ताहरूमा कमजोरी न्यूनिकरण गर्दै जाने वचन दिँदै आफ्ना भनाइलाई यही विश्राम दिन्छु । धन्यवाद ! (ताली बज्छ ।)

कमला– हार्दिक धन्यवाद कविताज्यू ! अब म कमला स्वयम् सहभागी सदस्यका रूपमा आफ्नो साप्ताहिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
यस सभामा सभाध्यक्षज्यू, कार्य व्यस्तताका बाबजुत हाम्रो निमन्त्रणा स्विकारेर पाल्नुभएका आदरणीय प्रमुख अतिथिज्यू तथा अन्य सदस्यहरू !
यस हप्ता मैले विद्यालय जाने र अध्ययनलाई निरन्तरता दिने साथै बहिनी कुसुमलाई उचित स्नेह दिने कार्यमा कुनै कसर बाँकी राखिनँ । मासिक परीक्षाको परिणाममा म्याथमा कम अङ्क आएकोमा केही दिन चिन्तित रहेँ ।
मम्मीलाई घरायसी कामकाजमा सघाउन र परिवारमा शैक्षिक वातावरण कायम गर्ने कार्यमा भने पक्कै कमजोरी देखाएँ । साथीहरूको लहैलहैमा लागेर दौडधुपमा मन लगाई आफ्नो कर्तव्य निर्वाहमा कसर राखेको महसुस हुँदा लज्जित छु । आगामी हप्तामा यस खाले कमजोरी नदोहो¥याउने बाचा गर्दै आफ्नो प्रतिवेदन टुङ्ग्याउने अनुमति चाहन्छु । धन्यवाद ! (ताली बज्छ ।)

(केही समय सन्नाटा छाउँछ ।)

कमला– अब भने कनिष्ट सदस्य कुसुमको अपरिपक्व उमेर रहेको र औपचारिकरूपमा आफ्नो अभिमत प्रकट गर्न असक्षम रहेकीले प्रमुख अतिथिलाई सभालाई सम्बोधन गर्न निवेदन गर्दछु ।

कृष्ण– (मुस्कुराउँदै) सभाध्यक्षज्यू तथा अन्य सदस्य गण ! मलाई प्रमुख अतिथिका रूपमा यस साप्ताहिक सभामा सम्मान दिनुभएकोमा आभारी छु । वक्ताहरूको वैयक्तिक प्रतिवेदन सुनेर म असाध्यै प्रभावित भएँ । यस किसिमको चलन प्रत्येक परिवारमा भए अवश्य पारिवारिक कटुता निवारण भई सम्बन्ध सुमधुर हुने कुरामा दुई मत हुन्न ।
आजका वक्ताहरूद्वारा व्यक्त कमजोर पक्ष हटाउन सबैलाई सफलता मिलोस् भन्ने शुभेच्छाका साथ म आफ्नो मन्तव्यलाई यहीँ विश्राम दिन्छु । धन्यवाद ! (सबैले ताली बजाउँछन् । कविता चिया–नास्ता ल्याउँछिन् । सबै जना ग्रहण गर्छन् ।)
(बन्द सत्रको कार्यक्रम प्रारम्भ गर्न सभाध्यक्षको हैसियतले कमलेश उद्घोषक कमलालाई सङ्केत गर्दछन् ।)

कमला– अब बन्द सत्रको कार्यक्रम प्रारम्भ हुन्छ । यसमा बिनाऔपचारिकता मन खोलेर कुरा राख्न र ठोस निष्कर्षमा पुग्ने काम हुन्छ । मनमा कुनै किसिमको खोट नराखीकन कुरा राख्न निवेदन गर्दै म समेत अनौपचारिक छलफलमा प्रवेश गर्न अनुमति चाहन्छु ।

कमलेश– जिल्ला बाहिरको जागिरका कारण म हप्ताभरि परिवारबाट टाढिन्छु । हरदम परिवारकै भलोका बारेमा सचेत हुँदै कर्म मैदानमा डटेर लाग्छु । यहाँ तिमीहरू भने आप्mनै सीप र क्षमता अभिवृद्धिमा योगदान दिन पछि पर्छौ । अनि कसरी आर्थिक समुन्नतिको खुट्किलो उक्लन सकिन्छ ? यस महंगीमा एक जनाले कमाएर केही बचाउन सकिन्न । कमलाले पनि आफ्नो कर्तव्य निर्वाहमा तल पर्नु भएन । कुसुमले उचित माया–ममता पाउनुप¥यो ।

कविता– (मुस्कुराउँदै) हजुरको व्यङ्ग्यको आशय बुझेँ । म शिक्षा सेवा आयोगको तयारीमा होसियार हुन्छु । छोरीहरूलाई नै आफ्नो बसमा पार्न समय दिनु परेकाले म पछि परेँ । सानीले त बालसुलभ झन्झट दिनु स्वभाविक हो । ठूलीले हर्दम टेलिभिजन हेर्न र साथीहरूसँग दौडधुप गर्न मन नलगाए म समय पाउँथेँ ।

कमलेश– हँ कमला ! अब भन । तिमी नै बढी दोषी देखिँदै छ्यौ नि त ! अब तिमी नै निष्कर्ष निकाल । जसले समस्या खडा गर्छ, समाधान उसैले बताउनुपर्छ ।

कमला–(सकस मान्दै) मम्मी हर्दम पढ्, पढ् भन्नुहन्छ । उहाँलाई चाहिँ पढेको देख्तिनँ । फेरि खेल्ने र टेलिभिजन हेर्ने मन कुन बच्चालाई हुन्न र ! समय निर्धारण गरिदिए म सोहीबमोजिम काम गर्ने थिएँ ।
बाबा पनि कहिल्यै घरभित्रै खेल्ने सामग्री ल्याइदिनुहुन्न । राम्रो मुखले सम्झाउने र प्रोत्साहन दिने काम पनि गर्नुहुन्न । शैक्षिक उपलब्धि हासिल गर्दा पनि स्यावासी दिनुहुन्न । म्याथमा कम अङ्क ल्याई भनेर कचकच गर्नुहुन्छ । हजुरहरूलाई थाहै छ, म म्याथदेखि डराउँछु । त्यो डर भगाउने उपाय बताइदिए कस्तो हुन्थ्यो ?

कविता– (कमलातिर हेर्दै) ल, ल ! तिमीलाई खेल्ने, लेखपढ गर्ने रटेलिभिजन हेर्ने समय तोकिदिन्छु । त्यसलाई अक्षरशः पालना गर्न पछि नपर्नु नि ? सम्भव भएसम्म अबदेखि म पनि तिमीसँगै बसेर पढ्छु, हुन्न ?(कमला स्विकारोक्तिस्वरूप टाउको हल्लाउँछिन् ।) म्याथ सुधार्न भोलिदेखि नै म्याथ सरकहाँ ट्युशन पढ । यस बारे म पनि उहाँसँग छलफल गर्छु ।

कमलेश– (कमलातिर फर्केर खुशी हुँदै) स्यावास छोरी !मनका कुरा हाम्रासामु राख्ने जमर्को ग¥यौ । खुशी लाग्यो । दुबै सन्तानको मनोकाङ्क्षा बुझेर काम गरी सक्षम नागरिक बनाउन प्रयत्नशील छौँ । हामी आफ्ना अप्रिय बानी र सोच परिवर्तन गर्दै युगानुरूपका अभिभावक बन्न इच्छुक छौँ । एउटा कुरा बुझ, आर्थिकरूपमा हामी मध्यम वर्गीय परिवारमा पर्ने भएका कारण मैले खेलकुदका सामग्री किन्नमा मन लगाइनँ । ठीक छ । आउँदो हप्ता म क्यारेम बोर्ड किनिदिन्छु । त्यसले औँलाको कसरत गर्न र होसियार हुन पनि सघाउँछ । औँलाको कसरतले राम्रा अक्षर र चित्र बनाउन सहयोग पुग्छ । मम्मीले तोकिदिएको समयसीमामा रहेर काम गर्नू । म केही न केही नयाँ कुरो दिँदै जाने वचन दिन्छु । तिमी पनि आफ्नो वचनमा पक्का हुनू नि ?

कविता– मलाई विश्वास छ, यत्ति राम्रो र व्यवस्थित उद्घोषण कला देखाउने हाम्री कमलाले मान्यवरको मन दुखाउने काम कदापि दोहो¥याउने छैनन् ।

कमला–(प्रसन्नता देखाउँदै) धन्यवाद बाबा–मम्मी ! म हजुरहरूको विश्वासलाई जीवन्त बनाउन यसै घडीबाट कर्मपथमा जुट्छु । (सबैले ताली बजाएर स्वागत गर्दछन् । कविता निष्कर्षलाई समेटेर प्रतिवेदन तयार पार्दछिन् । )
अब भने आजको सभाको निष्कर्ष समेटिएको प्रतिवेदनका साथै आगामी कार्यविभाजनको प्रस्ताव सभामा पेस गरी पारित गर्न र सभा विसर्जन गरिदिन सभाध्यक्षज्यूलाई अनुरोध छ । अन्त्यमा, उद्घोषकको भूमिका निर्वाह गर्ने सौभाग्य दिनुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै म भने विदा हुन्छु । धन्यवाद !

कमलेश– आदरणीयप्रमुख अतिथि तथा परिवारका सदस्यहरू ! आगामी हप्ताको लागि सभाध्यक्षको भूमिकामा कविता, अन्य सहभागी सदस्यको भूमिकामा कमला र कुसुम साथै उद्घोषकको भूमिकामा कमलेश रहने अनि प्रमुख अतिथिको भूमिकामा हाम्रो परिवारका हितैषी कौशल शर्मालाई अनुरोध गर्ने गरी कार्य विभाजन गर्ने प्रस्ताव राख्दछु । साथै, कविताद्वारा हस्तलिखित आजको सभाको निष्कर्ष समेटिएको सामुहिक प्रतिवेदन पढी थपघट गर्न अनुरोध गर्दछु । (सबैले प्रतिवेदन पढ्छन्, सुधार गरी हस्ताक्षर गर्छन् र ताली बजाएर पारित गर्दछन् ।)
सक्रिय सहभागिता जनाई आजको साप्ताहिक पारिवारिक सभालाई परिणाममुखी बनाउनुभएकोमा प्रमुख अतिथि लगायत सहभागी सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै यो सभा यही विसर्जन भएको घोषणा गर्दछु । धन्यवाद !!!
(तालीको आवाजसँगै प्रकाश मधुरो हुँदै जान्छ ।)

Online Saptari

About The Author

%d bloggers like this: