• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवसँग सप्तरीवासीको अपेक्षा

उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवसँग सप्तरीवासीको अपेक्षा

विद्यानन्द राम
राजविराज, २० जेठ । प्रदेश २ को न्यून समृद्धिस्तर गरिबीको रेखा मुनि रहेका सप्तरीवासीमा समृद्धिस्तर वृद्धि हुने आशा बढेको छ ।
एक दशकभन्दा बढि समयदेखि तराई–मधेशको मुद्दालाई लिएर सडक संघर्ष गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारमा गएपछि सप्तरीवासीमा समृद्धिस्तर वृद्धि हुने आशा बढेको हो । ‘राजनीतिक अस्थिरता, सुशासनको कमी, सुरक्षा र लगानीमैत्री वातावरणको अभाव तथा बेरोजगारी जस्ता कारणले सप्तरी आर्थिक रुपले कमजोर देखिएको छ’ सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले भने–‘तर, अध्यक्ष यादव सरकारमा गएपछि अवश्य पनि यस्ता कुराहरुलाई समाधान गर्ने तर्फ लाग्ने र तराई–मधेशमा समृद्धिस्तर वृद्धि हुनेमा हामी आशावादी छौं ।’
उनले यादव सरकारमा गएसँगै भौतिक पूर्वाधार, सामाजिक विकास, आर्यआर्जन वृद्धि, सीपमूलक कार्यक्रम, सशक्तीकरण र सचेतनामूलक क्रियाकलापलाई आवश्यकता अनुसार अघि बढाउने विश्वास व्यक्त गरे । मधेशी कर्मचारी मञ्चका अध्यक्ष अजयकुमार झाले सप्तरीमा स्वास्थ्य र औद्योगिक क्षेत्र पनि अत्यन्तै पछि परेकोले यसमा पनि व्यापक सुधार आउने आफुले विश्वास लिएको बताए । ‘जिल्लावासीको स्वास्थ्य उपचारका लागि एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज छ, तर त्यो पनि रेफरल सेन्टरकै रुपमा परिचित छ’ उनले थपे–‘साथै राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि उद्योग विहिन नै छ ।’
यस्ता समस्याहरुमा पक्कै पनि ध्यान दिई सप्तरीवासीको जीवन उकास्ने आफुले आशा लिएको उनले बताए । साथै जिल्लालाई समृद्धि पार्ने निर्वाचनको समयमा जनता समक्ष गरेको वाचा समेत पुरा गर्ने वेला आएकोले ती बाचाहरु पुरा गर्नबाट पछि नहट्ने उनीहरुको विश्वास छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार ३१ प्रतिशतभन्दा बढी गरिबीको दर भएका जिल्ला न्यून समृद्धिस्तर भएका जिल्लामा पर्दछन् । जस अनुसार सप्तरी ३९.५, सिरहा ३४.६, धनुषा २३.१, महोत्तरी १६.२, सर्लाही १७.७, रौतहट ३३.४, बारा २९.९ र पर्सा २९.२ प्रतिशत गरिबीको दर भएको जिल्लामा पर्दछन् । सप्तरी जिल्लामा गरिबको संख्या २ लाख ५१ हजार ५ सय ७९ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सप्तरी क्षेत्र नं. २ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका अध्यक्ष यादव उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । फोरमकै इस्तियाक राईन शहरी विकास मन्त्री बनेका छन् । दुवै जनाले शुक्रबारै सपथ ग्रहण गरेर कार्यभार समेत सम्हालेका छन् ।