• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पतिको दिर्घायुको कामना गर्दै महिलाहरुले मनाए बरसाइत पर्व

पतिको दिर्घायुको कामना गर्दै महिलाहरुले मनाए बरसाइत पर्व

राजविराज, १ जेठ । मिथिला मधेशका महिलाहरुले शनिवार भव्यताका साथ वरसाइत पर्व मनाएका छन् ।
सुख, समृद्धि, पतिको दिर्घायु र परिवारको कल्याणका लागि यस पर्वमा वरको रुखलाई पूजा आराधना गर्ने गरिन्छ । वरको रुखमा ब्रम्हा र विष्णुको वास समेत हुने जनविश्वासका साथ वर पूजा गर्ने भएकोले यस पर्वलाई बट सावित्री पर्व पनि भन्ने गरिन्छ ।
पौराणिक कथाअनुसार सावित्रीले वरकै रुखमुुनि आराधना गरी मृत पति सत्यवानलाई पुनर्जीवित तुल्याएकी थिइन् । वरको रुखमा रहेको धोद्रोबाट निस्केको सर्पले टोक्दा सत्यवान मृत अवस्थामा पुगेका र रुखमुनि यमराजको आराधना समेत गरी सावित्रीले पतिलाई पुनर्जिवित तुल्याएको कारणले त्यहिबेलादेखि वरसाइतको ब्रत मनाईने गरिएको जनविश्वास रहेको छ ।
जेष्ठ महिनाको अमावश्याका दिन गरिने वरसाइत व्रतभन्दा एक दिनप्ूर्व नै नव विवाहिता बेहुलीले पतिको घरबाट आफ्नो माइतमा पठाइएको सामग्रीले ‘गौरी नैवेद्य’ चढाउने चलन छ । यसमा धानको लावा भुटेर बेसारको गौरी बनाई पूजा गरिन्छ । वरको रुखलाई रंगाईएको काँचो धागो बेरेर पूजा आजा गरेपछि सोही ठाउँमा बट सावित्रीको कथा समेत श्रवण गर्ने प्रचलन रहेको छ ।
प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि शुरु भएको धार्मिक विश्वास रहँदैआएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नागनागिनीका साथै बरको बोटको पूजा गरी मनाउने गरिन्छ ।
बिहानैदेखि उपवासमा बसेर महिलाहरु स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, बाँसको हाते पङ्खा, मिठाई, चना, काँक्रो लगायतका सामग्री लिएर बरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिन र पार्वतीलाई चढाएर यो पर्व मनाउने गर्दछन् । खासगरी यो पर्व नवविवाहिता महिलाले बडो उत्साह र धूमधामका साथ मनाउने गर्छन् । नवविवाहिता महिलाले घरबाट माइतमा ल्याइएको नयाँ बस्त्र धारण गरी आ–आफ्ना सखी र महिलाहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि पुग्छन् ।
नवविवाहिता महिलाको यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, १४ वटा हातेपङ्खा, चामल, चना, फलफुलका माटोको कलात्मक नागनागिनी, हात्ती बनाएर पठाइदिने परम्परा छ । नवविवाहिताको घरमा बरसाइत पूजा सम्पन्न भएपछि चामल, बदाम र अन्य पकवान्नहरु गाउँभरि वितरण गर्ने परम्परा रहँदै आएको छ ।