• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सवारी दुर्घटनामा दश महिनामै ६३ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा दश महिनामै ६३ जनाले ज्यान गुमाए

राजविराज, १ जेठ । सवारी नियम उल्लंघन गरी सवारी चलाउँदा सप्तरीमा सडक दुर्घटनामा परि ६३ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक अनुसार सप्तरीमा २ सय ८२ वटा सडक दुर्घटना भएको हो । ४ सय ४४ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक, बस, कार–जिप, भ्यान, ट्याक्टर, मोटरसाईकल सहितका सवारी साधान दुर्घटनामा परि १ सय ६८ गम्भिर र ३ सय ५३ जना समान्य घाईते भएको प्रहरीको भनाई छ । सो अवधिमा दुर्घटनामा परि ३३ वटा चौपाया मरेको छ भने ८ वटा घाईते भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्कलाई तुलना गर्ने हो भने सप्तरीमा बर्षेनी सवारी दुर्घटना बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा सडक दुर्घटनामा परि यहाँ २२ जनाको ज्यान गएको थियो । सो अबधिमा १ सय ७८ वटा सडक दुर्घटना भई १ सय १४ गम्भिर र ३ सय ३३ जना समान्य घाईते भएको थियो ।
यसैगरी, आर्थिक वर्ष ०७२÷०७३ मा सप्तरीमा भएको २ सय ८३ वडा सडक दुर्घटनामा परि ५१ जनाले ज्यान गुमाएको थियो । सो अवधिमा २ सय १६ गम्भिर र ३ सय ३७ जना समान्य घाईते भएका थिए ।
आर्थिक वर्ष ०७३÷०७४ मा ३ सय ९२ सडक दुर्घटनामा परि ७० जनाको ज्यान गएको हो । सो अवधिमा दुर्घटनामा परि २ सय २४ गम्भिर र ३ सय ९६ समान्य घाईते भएको थियो ।
सवारीको चाप अनुरुप राष्ट्रिय राजमार्गको चौडाई निकै कम रहेको तथा बैकल्पिक सडक समेत नरहेको, तिव्र गति र मादक पदार्थ सेवन गरी सवारी सञ्चालन, ओभरलोड, ओभरटेक लगायतका कारणहरुले अधिकांश दुर्घटनाहरु भएको सप्तरीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले बताए ।
‘सवारी चाप ह्वात्तै बढेको र सवारीको चाप अनुरुप राष्ट्रिय राजमार्गको चौडाई निकै कम रहेको छ’ श्रेष्ठले भने–‘बैकल्पिक सडक समेतको अभावका कारण सडक दुर्घटनामा दिन प्रति दिन वृद्धि भईरहेको छ ।’
प्रहरी निरिक्षक श्रेष्ठले राजमार्गका अतिरिक्त अन्य बैकल्पिक मार्गहरुमाथि पनि सम्बन्धीत निकायको ध्यान पुग्नुपर्ने खाँचो रहेको बताए । यसवाहेक यातायात व्यवस्था विभागले सार्वजनिक सबारी साधनहरुलाई रुट परमिट दिदाँ कुन रुटमा कतिलाई परमिट दिने, परमिट दिनु अघि आवश्यक्ता मात्रै भन्दा पनि सडक लगायतका अन्य अवस्थालाई पनि आकलन गर्ने लगायतका कुरामा थोरै नीति नियम वनाउन सके दुर्घटनालाई अझै न्यूनिकरण गर्न सकिने उनको सुझाव छ ।
दुर्घटना न्यूनिकरणका लागि आफुहरुले केन्द्रीय सर्कुलर बाहेक पनि स्थानिय स्तरमा पनि विभिन्न निकायहरुसँगको समन्वयमा विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । उनले भने, ‘यस वर्ष मात्रै हामीले २ सय ५० भन्दा बढि ट्रयाक्टरहरुमा रिफ्लेक्टीङ्ग स्टीकर टाँस्ने काम गरेका छौ, साथै नेपाल रेडक्रस सोसाईटी सप्तरीसँगको समन्वयमा सडक सुरक्षा सप्ताहनै मनाएका छौ ।’
सडक सुरक्षा सप्ताह अन्तर्गत ¥याली प्रदर्शन, जनचेतना मुलक सन्देश सहितको पर्चा पम्पलेट वितरण, विद्यालयहरुमा प्रशिक्षण, चालक तथा पैदल यात्रीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको उनले बताए ।