• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निर्णायक तहमा छैन मधेशी महिलाको पहुँचः उपाध्यक्ष यादव

निर्णायक तहमा छैन मधेशी महिलाको पहुँचः उपाध्यक्ष यादव

राजविराज, ३० बैशाख । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधि सभा सांसद एवम् पुर्व मन्त्री रेणु यादवले राज्यको निर्णायक तहमा मधेशी महिलाको पहुँच हुन नसकेको बताएकी छिन् ।
सामुदायिक महिला विकास केन्द्र (स्वेडेक)द्वारा आयोपजत कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले यस्तो कुरा बताएकी हुन् । विगत तीन दशकदेखि राजनीतिमा संघर्ष गर्दैआएका कारण सफलता पाएको बताउँदै उनले भनिन् ‘राज्यको निर्णायक तहमा मधेशी महिलाको पहुँच अझैं हुन सकेको छैन, मधेशी महिलाहरुले शिक्षामा जोड दिनुपर्दछ ।’
महिलाहरु अगाडि बढ्दा विभिन्न आलोचनाहरु सहनुपर्ने बाध्यता रहेको बताउँदै छोरीहरुले हिम्मतकासाथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सबैले सहज रुपमा स्वीकार नगरेपनि आफ्नो लक्ष्यमा अघि बढ्दै गएपछि आलोचना गर्नेहरुको मुख बन्द हुँदै जाने सांसद यादवले बताईन् । 
स्वेडेकको सल्लाहकार समेत रहेकी पूर्व मन्त्री एवं सांसद यादवले स्वेडेकबाट आफुले पटक पटक सम्मान पाएको र स्वेडेक निरन्तर आफ्नो पथमा अघि बढी रहेको भन्दै धन्यवाद व्यक्त गरे ।
स्वेडेकका अध्यक्ष ई. इन्द्र नारायण देवले गत चैत्र महिनासम्मको संस्थाको विवरण प्रस्तुत गर्दै संस्थाका सल्लाहकार पूर्व मन्त्री एवं सांसद यादवले गरेको संघर्षबाट अरुले प्रेरणा लिनु पर्ने बताए । संस्थाका उपाध्यक्ष डा. सुजाता देवले पूर्व मन्त्री एवं सांसद यादवसँग परिवारिक सम्बन्ध रहेको भन्दै राजनीतिमा निकै संघर्ष पछि सफलता प्राप्त गरेको बताईन ।
सम्मानित सांसद यादवका परिवारले सप्तरीमा शिक्षा क्षेत्रमा अतुलनिय योग्दान दिएको भन्दै विगत तीन दशकको राजनीतिक संघर्ष मधेशी महिलाका लागि प्रेरणादायी भएको बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मिरादेव, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, डा. सुजाता देव, स्वेडेकका सदस्य मन्जु शारदा, संस्थाका वित्तिय प्रमुख संतोष यादव सहितकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
२०५१ सालमा स्थापना भएको संस्थाले सप्तरी, सिरहा, उदयपुर र सुनसरी गरी चार जिल्लामा १४ शाखा मार्फत २ अर्ब ८६ करोड ३८ लाख ३७ हजार लगानी गरेको छ । २ अर्ब ४३ करोड ९४ लाख ६९ हजार असुली गरी २८ हजार ९ सय ७९ घरधुरीका १ लाख ७० हजार जनसंख्यालाई सेवा पुर्याउन सफल भएको संस्थाका कार्यकारी अध्ययक्ष ई. इन्द्रनारायण देवले जानकारी दिए ।