फलामको जञ्जीरबाट बबिताको उद्धारः सेफ हाउस खाली, उपमेयरको घरमा संरक्षण

उपचारको आवश्यकता
फलामको जञ्जीरबाट बबिताको उद्धारः सेफ हाउस खाली, उपमेयरको घरमा संरक्षण
Bwtech New Add With Software & Bull SMS

श्यामसुन्दर यादव
राजविराज, २९ वैशाख । विगत १२ वर्षदेखि सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरको एक गोठमा फलामको जञ्जीरमा २८ वर्षिया बबिता यादवलाई शनिवार साँझ उद्धार गरिएको छ र
राजविराज नगरपालिकाकी उप–मेयर साधना झा र विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष जनजिरा यादव, दहेज मुक्त मिथिला अभियानकी अभियन्ता करुणा झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव समेतको विशेष पहलमा उनलाई उद्धार गरिएको हो । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बबिताको विषयमा समाचार सार्वजनिक भएपछि तत्कालै राजविराज नगरपालिकाकी उपमेयर झाले तत्काल पहल थालेका थिईन् ।
संयुक्त टोलीले गोरगामा पुगेर अवस्थाबारे जानकारी लिँदै उनलाई जञ्जीर खोल्न लगाएर साँझ करिब ७.३० बजेको समयमा मुक्त गराउन सफल भएको छ । टोलीले बबिता त्यही स्नान गराई सारी लगाई दिएर सदरमुकाम राजविराज ल्याएको छ । उप–मेयर झाले उनलाई आफ्नो घर लगी लुगा लगाईदिएर तत्कालकालागि सेफ हाउसमा राख्न लगिएको थियो । यद्यपी सेफ हाउसमा कोही नभेटिएपछि उपमेयर झाले आफ्नै घरमा लगेर राखेकी छिन् । बबिताको उपचार आवश्यक रहेकोले यस विषयमा आफुले समेत पहल गर्ने उपमेयर झाले प्रतिवद्धता व्यक्त गरिन् ।
यता बबिताको विषयमा विभिन्न मानव अधिकारवादी संघ–संस्था तथा व्यक्तिहरुले चासो लिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको जनकपुर स्थित कार्यालयका प्रमुख दिपेन्द्र सिंहले चासो लिएका छन् । आफुहरुले स्थलगत रुपमा सत्यतथ्य अध्ययन गरी आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै महिला अधिकारकर्मी सञ्जु साहले चासो लिँदै बबिता जस्तै महिलाको आफुहरुले यस अघि उपचार गराएको भन्दै उपचार सम्भव रहेको तथा मानव अधिकारवादी सुशील प्याकुरेल र कोशिस नामक संस्थाले समेत आवश्यक सहयोग गर्ने ‘न्यूज टुडे’लाई उनले जानकारी दिईन् ।

‘न्यूज टुडे’ ले यस्तो समाचार सार्वजनिक गरेको थियो ।
फलामको जञ्जीरमै बित्यो बबिताको १२ वर्ष
आर्थिक अभावले रोकियो उपचार, पाईएन सहयोगी हात
श्यामसुन्दर यादव
रञ्जितपुर, २७ वैशाख । सामान्तयाः हाम्रो समाजमा गाईवस्तुलाई दाम्लोमा बाँधेर राखिन्छ । केही समयका लागि भए पनि चराउन बाहिर लगिन्छ । तर सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुर गाउँको एक गोठमा २८ वर्षिया बबिता यादवलाई विगत १२ वर्षदेखि फलामको जञ्जीरमा बाँधिएर राखिएको छ ।
बाहिरी संसारबाट अनभिज्ञ छिन् उनी । खम्बामा बाँधिएकै ठाउँमा परिवारजनले खाना राखिदिएपछि उनी त्यही बसेर खान्छिन् । गोठको एक कुनामा फलामको जञ्जीरमा बाँधिएकै अवस्था आफै बर्बराउने, हाँस्ने र कराउने गर्छिन् । कुनैबेला टोलकै सुन्दर, सुशील एवम् सभ्य युवतीका रुपमा कहलिएकी उनको अनुहार यतिबेला चाउरिदै हुँदै गएको छ । हात, खुट्टा र जीउ सुक्दै गएको छ । बबिता अर्थात मायाले मुन्नी नामबाट परिचित उनको अवस्था हेर्दा जो कोही पनि भावुक हुन्छन् । खाने लाउने उमेरमा उनको हालत यस्तो हुनुको कारणबारे अझै खुल्न सकेको छैन । किनभने उनले भित्री कुरा भन्न चाहने अवस्थामा छैन । यद्यपी १२ वर्ष अघि विवाह भएपछि ससुराली जाँदा पहिलो रातको विहानदेखि नै बबिताले मानसिक सन्तुलन गुमाएको परिवारजनको भनाइ छ ।
बबिताका दाजु बिशेश्वर यादवका अनुसार घरको आर्थिक अवस्था कमजोर भएका कारण २०६२ सालमा दुई कट्ठा जग्गा बेची दाइजो खर्च जुटाएर बेल्ही चपेना गाउँपालिका–६ फकिरा निवासी अग्निदेव यादवसँग विवाह भएको भएको थियो । विवाहमा ९० हजार नगद तथा सरसामान दिईएको दाजु बिन्देश्वरले बताए । उनका अनुसार दाइजोमा कबोल गरे अनुसार सबै सामान दिइए पनि पलङ्ग मात्र बाँकी थियो ।
एकमात्र बहिनी बबिताको विवाहकालागि बनाईएको स्वयम्वरमा अचानक आगो लागेको क्षण सम्झिैदै उनले भने ‘स्वयम्वर समारोहमा अचानक आगलागी भयो, तत्कालै निभाएर विवाह हर्षोल्लासका साथ सम्पन्न भयो ।’ बहिनी ससुराली पुगेको भोलीपल्ट आफुले पुछारी भार (कोसेली) लिएर जाँदा अचानक बहिनी रुँदै आफु नजिक आएको स्मरण गर्दै उनले थपे ‘कुनै कारणवश दुलहाले कुटेको होला कि भनेर सम्झाउने प्रयास गरें, बहिनीलाई कुटपीट गरेको निल डाम हेरेर केही दिनकालागि दुलहाका बुवालाई बिदागरी गरिदिन आग्रह गरें, तर मेरो आग्रह स्वीकार गरेनन्, रुँदै घर फर्किएँ ।’ त्यसको भोलीपल्टै निर्घात कुटपीट गरी बेहोसी अवस्थामा बहिनीलाई अस्पताल भर्ना गरिएको खबर आएपछि ईलाज गराएर घर ल्याईएको उनले बताए ।
माइतीबाट ससुराली लैजान दवाव दिँदा केही दिन राखेर पुनः माइतीमै छाडेर गएपछि हालसम्म बबिताको सोधखोज नगरेको उनले गुनासो गरे । ‘बहिनीले लगाएको गहना समेत समेत फुकालेर ससुरालीबाट पठाईदियो’ आँखा टिलपिलाउँदै बिन्देश्वरले भने ‘त्यतिबेला बहिनीको ईलाज गराउनमा लागें, दरभङ्गा लगेर ईलाज गराउँदा खासै सुधार नआएपछि विगत डेढ वर्षदेखि बबिता जिउँदो लास भएर बाँचेकी छिन् ।’ बबिताको यस्तो हालत भएको चिन्ताले आमाको समेत केही वर्षमै मृत्यु भएको तथा घरपरिवार समेत धान्नुपर्ने भएकोले सुविधासम्पन्न अस्पतालमा उपचार गराउन नसकिएको बिशेश्वरले स्वीकार गरे ।
उनका अनुसार यता पति अग्नीदेवले समेत बबिताको खोजखबरसम्म नगरी अर्को विवाह गरेपछि बबिताको मानसिक अवस्था झन बिग्रिदै गयो । ससुराली पक्षले माइतमा ल्याएर छोडिदिएपछि परिवारजनले भ्याएसम्मको उपचार गराउँदा पनि सुधार नहुँदा बाँधेर राख्ने गरिएको उनले बताए । जीउको लुगा च्यात्ने, खुला छाडेपछि घरबाट भाग्ने, तोडफोड गर्ने जस्ता क्रियाकलापबाट आजित भएर बहिनीलाई बाँधेर राख्नुपरेको बताउँदै विशेश्वरले भने ‘हातमा बाँधिएको जँजीर खोलिदिएपछि जहाँतही भाग्ने गर्छिन्, कतै केही भईदियो भने झन समस्या हुन्छ भन्ने डरले बाँध्नुपरेको छ, हामीसँग त्यो बाहेक अर्को विकल्प छैन ।’

आर्थिक अभावका कारण विगत डेढ वर्षदेखि बबिताको उपचार समेत रोकिएको छ । मानसिक सन्तुलन विग्रिएर नारकीय जीवन बाँच्न विवश बहिनीको उपचारका लागि पहल गरिदिन विशेश्वरले सबैपक्षसँग आग्रह गरेका छन् । आर्थिक सम्पन्नता र पहुँच हुनेले देश–विदेशको सुविधा सम्पन्न अस्पतालमा उपचार गराएर निको भएको आफुले सुन्ने गरेको बताउँदै उनले भने ‘जग्गा बेचेर आएको ६ लाख रुपैयाँले भारतको दरभंगामा बहिनीलाई उपचार गराएँ, खासै सुधार समेत नदेखिएपछि पैसा अभावले उपचार रोकिएको छ ।’ खेतीपाती गरेर ८ जनाको परिवार धान्दै आएका विशेश्वरले बहिनी बबिताको उपचारमा सहयोग गरिदिन सम्वद्ध सबैपक्षसँग अपिल गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author