• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

राजविराज मालपोत कार्यालयमा यस्तो छ घुसको रहस्य

राजविराज मालपोत कार्यालयमा यस्तो छ घुसको रहस्य

श्यामसुन्दर यादव
राजविराज, १६ वैशाख । सप्तरीको राजविराज स्थित मालपोत कार्यालयमा खुलेआम घुस लिने गरेको गुनासाहरु नौलो होइनन् । सेवाग्राहीको काम गरे वापत सम्वन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा रकम लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ । सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु हुँदैआएको छ । कर्मचारीहरु घुस माग्छन् या सेवाग्राहीले नै घुस दिन्छन् ? यस विषयमा खोजी गर्दै जाँदा भित्री रहस्य भने अर्कै पाईएको छ ।
कर्मचारी अभावः
एकातर्फ सरकारले जनतालाई छिट्टो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दैआएको छ भने अर्कोतर्फ कार्यालयमा रहेका दरबन्दी घटाउँदै लगेको छ । अत्यधिक कामको चाप रहने उक्त कार्यालयले एक दशकयता कर्मचारी अभावमा जनतालाई छिट्टो–छरितो सेवा प्रदान गर्न सकेको छैन । यहाँसम्म कि मालपोत कार्यालयमा तीन महिनासम्म धाउँदा पनि काम नभएको गुनासा गर्ने सेवाग्राहीको फेहरिस्त लामो छ । उक्त कार्यालयबाट काम सम्पन्न भएपछि सेवाग्राहीले युद्ध जिते जस्तो अनुभुती गर्छन् ।
कार्यालयमा प्रमुख मालपोत अधिकृत १ जना हुनुपर्नेमा वर्षौंदेखि निमित भएर मालपोत अधिकृतले कार्यालय धान्दैआएको छ । २ जना मालपोत अधिकृत हुनुपर्नेमा हाल १ जना, नायव सुब्बा ७ जना रहनुपर्नेमा पाँच जना मात्र कार्यरत छन् । यसैगरी खरिदार १० जना हुनुपर्नेमा हाल ६ जना मात्र कार्यरत रहेको प्रशासन प्रमुख नायव सुब्बा समेत रहेका सूचना अधिकृत रामनारायण शर्माले जानकारी दिएका छन् । रिक्त स्थानमा कर्मचारी पठाउन आफुहरुले पटक–पटक पत्राचार गर्दा पनि हालसम्म नपठाएकोले एक जना कर्मचारीले कहिलेकाही चार–चार ओटा फाँटको जिम्मेवारी सम्हाल्नु परेको उनले दुःखेसो सुनाए ।
उनका अनुसार २०६९ सालसम्म कार्यालयमा २१ जना खरिदारको दरबन्दी रहेकोमा कटौती गर्दै ०७२ सालमा १५ जना कायम गरेको थियो । ०७३ मा १५ जना खरिदारको दरबन्दीलाई काटेर १० जनामा झारेको बताउँदै उनले भने ‘२१ जना खरिदारबाट हाल १० जनाको मात्र दरबन्दी छ, त्यसमा पनि ६ जना मात्र कार्यरत छन्,
कामको लोड अत्यधिक रहेकोले धान्नै गाह्रो छ ।’
श्रेस्ता र मोठ फाँटमा कामको अत्यधिक लोड रहने गरेकोले कर्मचारी अभावले सेवाग्राहीलाई छिट्टो–छरितो सेवा प्रदान गर्न नसकेको स्वीकार्छन् उनी । १० ओटा मोठ फाँट रहेकोमा पाँच जना ६ जनाले भ्याउनुपर्ने अवस्था रहेको उनले दुःखेसो सुनाए ।
सेवाग्राहीको काम समयमा हुन नसक्दा सेवाग्राहीबाट अपशब्द एवम् दुव्र्यवहार सहनु समान्य जस्तै भईसकेको उनले बताए । ‘कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसक्दा हामीलाई पनि दुःख लाग्छ’ उनले भने ‘काममा ढिलाई भएपछि सेवाग्राहीले पैसा नदिएकै कारण काममा ढिलाई गरेको भनी आरोप हामीलाई झेल्नुपरेको छ ।’
सेवाग्राहीको गुनासोः
महिनौं धाउँदा पनि सेवा नपाएको गुनासो गर्नेहरुको फेहरिस्त लामो छ । तीमध्येका एक हुन् राजविराज नगरपालिका वडा नम्वर–१२ का हरिहर चौधरी । उनले जग्गा नामसारी गराउन गत चैत १२ गतेदेखि विदा बाहेक दैनिकजसो फाइल बोकेर कार्यालय धाउने गरेका छन् । कार्यालय खुल्न अगावै गेटमा कुरिरहेका हुन्छन् । शुरुमै कार्यालय पुगेर शान्त वातावरणमा काम गराउँला भने आशका साथै उनी कार्यालय हाताभित्र छिर्छन् । कार्यालयको समय सिधिएपछि निन्याउरो अनुहार लिएर बाहिरिन्छन् । ‘न्यूज टुडे’सँग गुनासो गर्दै उनले भने ‘कार्यालय धाएको आज एक महिना ३ दिन भईसकेको छ तर आज पनि होला जस्तो छाँटकाँट देख्दिन, फाँटका कर्मचारी घरिघरि यो फाँट त्यो फाँट गर्दै फुर्सद छैन ।’
राजविराज नगरपालिका वडा नम्वर ४ का राजेश्वर साह बाटो कित्ता काटका लागि विगत तीन महिनादेखि कार्यालय धाउँदैआएका छन् । तर उनको पनि काम बन्न सकेको छैन । कार्यालय आएर दिनभरी समय बर्वाद गर्नु बाहेक अहिलेसम्म केही उपलब्धी पाउन सकेको छैन ।
यसरी हुन्छ रकमको कारोबारः
मालपोत कार्यालयमा काम गराउन आएका सेवाग्राहीलाई कुन फाँटमा जाने ? काम गराउने प्रक्रिया बुझ्नै गाह्रो छ । सर्वसाधारण जनता विभिन्न काम लिएर कार्यालय जान्छन् । विभिन्न फाँटहरु धाउँदाधाउँदै सेवाग्राही वाक्क हुन्छन् । काम गराउने तरिकाबारे जानकारीको अभाव तथा समयमा काम नभएपछि दुई चार दिनको दौडधुपपछि थकित हुन्छन् सेवाग्राही । चाँडै काम गराएर फर्किने आशमा दिनहुँजसो कार्यालय धाउँदैआएका सेवाग्राहीलाई त्यहिँ घुमिरहेका दलालहरुले काम तुरुन्तै काम गराईदिने भन्दै लेनदेनको कुरा गर्दै हातमा फाइल बोकेर काम गराईदिने गरेको एक सेवाग्राहीले बताए । उनका अनुसार दलालले चर्को रकम लिएर केही अंश फाँटवालालाई समेत टक्र्याउँदै काम गराईदिने गर्छन् ।
यतिमात्र होइन, चाँडो काम गराउनकालागि केही सेवाग्राहीले आफै कर्मचारीलाई रकमको प्रस्ताव गरेर काम गराउने गरेको श्रोतले खुलासा गरे । उनका अनुसार केही सेवाग्राहीले भने काम गरिदिए वापत दर्ता चलानी लगायतका फाँटमा केही रकम खुशी भएर दिने गरेको पाईएको छ । दौडधुपको झन्झट लिनुभन्दा केहीले त शुरुमै सिधै कर्मचारी वा दलाल मार्फत रकम दिएर फाइल अगाडि बढाउने गरेको बताईएको छ ।
कर्मचारी अभाव लगायतका समस्याले जिल्लामै सर्वाधिक ढिलासुस्ती तथा रकम लेनदेनका कारण मालपोत कार्यालय सर्वाधिक चर्चामा रहँदैआएको छ । उक्त कार्यालयमा सेवाग्राही र कर्मचारी बिच झैं–झगडा हुनु समान्य जस्तै भईसकेको छ ।
यता कार्यालयको निमित्त प्रमुख जिम्मेवारीमा रहेका मालपोत अधिकृत दधिराम गुरागाइँले कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसक्दा आफु पनि चिन्तित रहेको बताए । सेवाग्राहीको अत्यधिक चाप तथा सम्पूर्ण फाँटमा कर्मचारी नहुनले समस्या भईरहेकोले कर्मचारी पठाउन माग गरिसकिएको उनले जानकारी दिए ।