• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको जनकपुरमा तयारी तीब्र

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको जनकपुरमा तयारी तीब्र

राजविराज, १३ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी वैशाख २८ गते प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुर हुन लागेको सन्दर्भमा तयारी तीब्र पारिएको छ ।
भ्रमणलाई भव्य एवम् व्यवस्थित बनाउन भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको संयोजकत्वमा ११ सदस्यीय जनपरिचालन उप–समिति विहीबार गठन गरिएको छ । प्रदेश अन्तर्गतका ८ ओटै जिल्लामा संयन्त्र गठन गर्न सांसदहरुलाई जिम्मेवारी दिईएको छ ।
समितिको सदस्यमा प्रदेश सभा सदस्यहरु विन्देश्वर प्रसाद यादव (सप्तरी), सुनिता राम (सिरहा), शैलेन्द्र कुमार यादव (धनुषा), सुरिता साह र डा. रिना यादव (महोत्तरी), सञ्जय यादव (सर्लाही), डिम्पल झा (रौतहट), पारस साह (बारा) र अव्दुल रहिम अन्सारी (पर्सा) रहेका छन् ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीको जनकपूर भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले समेत प्रदेश सरकार तथा धनुषा जिल्लास्थित सरकारी निकायलाई समेत यस अघि पत्राचार गरिसकेको छ । यसअघि भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत समेत बीच समेत आइतवारै छलफल गरिसकेका छन् ।
यता जनकपुरधाममा मोदीको भ्रमण र नागरिक अभिनन्दनको लागि तयारीहरु तीब्र पारिएको छ । रंगभूमी मैदानदेखि जानकी मन्दिरसम्मको सरसफाई र बाटो मरम्मत सम्भार कार्यलाई अगाडि बढाएको जनकपुरका पत्रकार घनश्याम मिश्राले जानकारी दिएका छन् ।
नागरिक अभिनन्दनकालागि जनकपुरधामको बारहविघा रंगभूमी मैदान पक्का भएपछि मञ्च व्यवस्थापनकोलागि भारतीय पक्ष र प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई सहित जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख सहित राजपाका नेताहरु समेतले बारहबिघा मैदानको निरीक्षण गरेका छन् । रंगभूमी मैदानभित्र पार्किंङ्ग गर्न राखिएको एम्बुलेंस र अन्यगाडीहरु समेतलाई स्थानानान्तरण गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी जनकपुर हेलिकोप्टरबाट आउने भएपछि रंगभूमी मैदान भित्र हेलिप्याडको लागि स्थान कुन उपयुक्त हुनेबारे पनि विमर्श समेत भएको छ । बारहबिघा मैदानदेखि जानकी मन्दिर र पुनः बारहबिघामा आएर नागरिक सम्वोधन र अभिनन्दन हुने जनाइएको छ ।