Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विना दाइजो विवाह गर्ने आदर्श जोडी ई. श्रवण–काजल (फोटो हेर्नुहोस्)

विना दाइजो विवाह गर्ने आदर्श जोडी ई. श्रवण–काजल (फोटो हेर्नुहोस्)

राजविराज, ८ वैशाख । मधेश–मिथिलाको ठूलो समस्याको रुपमा विकसित हुँदै गएको कुप्रथा दाइजोलाई चुनौती दिँदै एक शिक्षित जोडी शुक्रवार बैवाहिक बन्धनमा बाँधिएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–४ हाल राजविराज नगरपालिका–६ निवासी श्री विजयनारायण साहकी सुपुत्री काजल साह र महोत्तरीको भंगहा नगरपालिका–३ का गणेश साहका सुपुत्र ईं श्रवण कुमार साह बिच बिना लेनदेन विवाह सम्पन्न भएको हो । ईन्जिनियर श्रवण विगत केही वर्षदेखि अमेरिकामा कार्यरत छन् । यता एम.एड.सम्मको पढाई पुरा गरेकी काजलले पहिलादेखि नै विना दाइजो विवाह गर्ने संकल्प लिएकी थिईन् । सामाजिक सञ्जाल मार्फत उनीहरु बिच चिनजान भएको थियो ।
दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरु बिच बिना दाइजो विवाहका लागि सहमत भएका थिए । राजविराज स्थित दास धर्मशालामा आयोजित समारोहमा मिथिलाको वैवाहिक परम्परा अनुसार ई. श्रवण र काजल बिच विवाह सम्पन्न भएको छ । हर्षोल्सापूर्ण माहौलका बिच आयोजित वैवाहिक समारोहमा उपस्थित जन्तीका साथै बर–वधु पक्षका आफन्तजनको उपस्थितिमा दुलहालाई महिलाहरुले परिछन (एक प्रकारको वैवाहिक उपक्रम) गर्दै महफिलमा आसन ग्रहण गराईयो । तत्पश्चात लोप हुँदै गएको डोली (काँधमा बोक्ने साधन)मा बसाएर दुलही काजललाई परिक्रमा गराईएको थियो । यसरी दुलही बसेको डोलीलाई परिक्रमा गराईरहँदा उपस्थित महानुभावहरु केहीबेर भावविह्वल बनेका थिए । स्वयम्वर समारोहमा उनीहरुले एक–अर्कालाई माला तथा औंठी लगाए । तत्पश्चात उक्त अवसरमा महफिलमा काजलका बुवा विजयले अभिनन्दन–पत्र दुलहाका बुवा गणेशीलाई हस्तान्तरण गर्दै समधी मिलन (एक–अर्का बिच गला मिलाउने) समेत गरे । यतिमात्र होइन, दुवैपक्षका नातेदार तथा मान्यजनहरुले उक्त विवाहको प्रसंशा गर्दै आशिर्वाद दिए ।
दाइजोका कारण तय भएको विवाह समेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिने जस्ता घोर निन्दनीय घटनाहरु भईरहँदा विना दाइजोको विवाह भईरहेको भनी जानकारी पाएपछि उनीहरुलाई बधाई सहित सम्मान गर्न प्रतिष्ठित व्यक्तित्वहरु समेत वैवाहिक समारोहमा उपस्थित भए । दहेजमुक्त मिथिला अभियानको तर्फबाट अभियन्ता करुणा झाले नव जोडीलाई दोसल्ला, पाग सहित सम्मान–पत्रका साथ समारोहमै सम्मान गरिन् । दुलहा–दुलहीलाई बधाई एवम् शुभकामना दिँदै उनले समाजिक रुपान्तरणका लागि चालेको कदमले सिङ्गो मानव सम्भयतालाई गौरवान्वित तुल्याएको बताईन् ।
यस्तै बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानको तर्फबाट नायिका स्वेता खड्का, डा. सी.के.. सिंह र भोर संस्थाका अध्यक्ष राजकुमार महतोको संयुक्त हस्ताक्षर रहेको सम्मान–पत्र अभियानका सदस्य औरन्जेब अहमदले नव दम्पतीलाई हस्तान्तरण गरे । समाजकालागि उदाहरणीय जोडीलाई बधाई दिँदै यसबाट सिङ्गो समाजले शिक्षा लिनुपर्नेमा उनले जोड दिए । यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले समेत नमूना जोडीलाई बधाई एवम् शुभकामना दिए ।
दाइजो प्रथा विरुद्धको फिल्म ‘राज्जा रानी’की गायिका अन्जु यादवले समेत समारोहमै खुलेर नव दम्पतीको प्रसंशा गर्दै दाइजो कुप्रथालाई समाप्त पार्न शिक्षित युवायुवतीहरुले हिम्मतका साथ अगाडि आउनुपर्नेमा जोड दिईन् । सोही अवसरमा गायिका यादवले ‘चिपक चिपक राज्जाजीके तस्विर दिलके भित्तामे…’ बोलको गीत गुनाउँदै दुलहा–दुलहीलाई बधाई एवम् अभिभावकहरुलाई समेत धन्यवाद दिईन् ।
शिक्षित युवाहरु समेत दाइजोरुपी लेनदेनको नाममा खरिद–विक्री भईरहेको भन्दै यसतर्फ सिङ्गो समाज गम्भीर हुनुपर्ने तथा युवायुवतीले समेत यस विरुद्ध खुलेर अगाडि बढ्नुपर्नेमा दुलहा ई. श्रवणले प्रतिक्रिया जनाए । यस्तै दुलही काजलले ‘न्यूज टुडे’सँग संक्षिप्त प्रतिक्रया दिँदै भनिन् ‘छोरा–छोरी बिचको विभेद मेटाएर अभिभावकहरुले छोरा सरह छोरी पढाएर सक्षम बनाउनुपर्छ, साथै शिक्षित युवाहरुले दाइजोलाई बहिष्कार गर्नुपर्दछ ।’ धेरै पढेका युवाहरुले यदी दाइजोरुपी लेनदेनमा संलग्न हुन्छन् भने शिक्षा र उपाधीको कुनै महत्व नरहने भन्दै समग्र युवायुवतीलाई गम्भीर बन्न उनले आग्रह गरिन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।