• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शिक्षाको नाममा ब्रह्मलुट

निजी विद्यालयहरुले नयाँ शेक्षिक सत्र सुरु भएको मौका पारेर शुल्क बृध्दि गरेको भन्दै तीन ठूला राजनीतिक दल सम्बध्द विद्यार्थी संगठन अहिले विरोधमा उत्रेका छन् । शिक्षाका नाममा मनपरि शुल्क बृध्दि गरिएको भन्दै उनीहरुले यसलाई सच्याउनु पर्नेमा जोड दिएका हुन् ।अनेरास्ववियू,नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त संघर्ष समितिले बुधबार राजधानीमा निजी विद्यालय सञ्चालकहरु समेतलाई राखेर शुल्क बृध्दिले आतंक बढाएको भन्दै तत्काल त्यसलाई फिर्ता नलिए कडा आन्दोलन चर्काउने चेतावनी दिई सकेका छन् ।

निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन,एन प्याब्सनका पदाधिकारीहरुले भने हरेक क्षेत्रमा महंगी बढेको भन्दै शुल्क बृध्दि आफूहरुको बाध्यता रहेको बताएका छन् । निजी विद्यालयहरुले यसरी शुल्क बढाउने गरेको यो पहिलो पटक चाहिँ होईन । जब जब नयाँ शैक्षिक सत्र सुरु हुन्छ तब तब वर्षेनी जसो यो क्रम चल्ने गरेको छ । अन्य क्षेत्रमा भएको महँगीले गर्दा शुल्क बढाउनु बाध्यता रहेको भन्ने भनाई जहाँसम्म छ, व्यवहारतः हेर्दा निजी विद्यालयहरुले शुल्कमा बृध्दि मात्र नगरी विभिन्न शीर्षकमा अभिभावकको शोषण गरेको गुनासो बारम्बार उठ्ने नगरेको होईन । कहिले खेलकूदका नाममा त कहिले भवन मर्मत सम्भारका नाममा समेत शुल्क लिएर अतिरिक्त आर्थिक बोझ बढाईएको अभिभावकहरु आरोप लगाउने गर्दछन् ।

खास गरी निजी विद्यालयहरुले कुन कुन शीर्षकमा शुल्क लिने हो त्यसमा पनि एकरुपता देखिँदैन । यस्तै तजविजी हिसाबले फरक फरक निजी विद्यालयले फरक फरक शीर्षकमा शुल्क असुल्ने नगरेका होईनन् । शुल्कका अतिरिक्त पाठ्य पुस्तक निर्धारणमा पनि कमिशनको खेल चल्दो छ । महँगा खालका पाठ्य पुस्तक लगाएर प्रकाशक सित कमिशन लिने गरेको समेत गुनासो व्यापक रुपले उठ्दो छ । एक वर्ष एउटा प्रकाशनको पुस्तक लगाउने र कमिशनमा कुरा नमिले अर्को वर्ष त्यसलाई परिवर्तन गरी अर्कै प्रकाशनको पुस्तक लगाउने प्रचलन पनि नयाँ होईन । बढी मूल्यको पुस्तक लगाएर प्रकाशकसित विद्यालय सञ्चालकले त बढी कमिशन असुल्लान् ,तर यसको आर्थिक बोझ चाहिँ सिधै अभिभावकको काँधमा पर्ने निश्चित छ ।

पाठ्य पुस्तकको कुरा मात्रै होईन केही निजी विद्यालयले त विद्यालयको नाममा छापिएको कापी,टाई,झोला समेत आफैंले बेच्ने अनि बजार मूल्य भन्दा अत्यधिक मोल राखेर बिक्री गर्ने गरेको कारणबाट पनि अभिभावक वर्ग आर्थिक बोझ लिन बाध्य हुने गरेका छन् । हो,शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको योगदान पनि निश्चय नै महत्वपूर्ण नरहेको भन्न सकिँदैन । तर,यति हुँदा हुँदै पनि ती विद्यालयमाथि यस प्रकारका आरोप लाग्नुलाई चाहिँ राम्रो मान्ने आधार देखिन्न । शिक्षाका नाममा सेवा भन्दा पनि जसरी भएपनि कमाउने नियत हावी भयो भने त्यस्ता विद्यालय प्रति नकारात्मक धारणा विकसित हुन्छ नै ।

त्यसैले यस प्रकारका विकृतिबाट विद्यालयलाई कसरी मुक्त राख्न सकिन्छ भन्ने विषयमा स्वयं विद्यालय सञ्चालकहरुले नै ध्यान पुर्याउनु पर्ने पहिलो जिम्मेवारी हो । शिक्षालाई व्यापार होईन सेवाका रुपमा लिईनु आवश्यक विषय भएकोले व्यापारमुखी सोचबाट मुक्त हुन जरुरी छ । सोझा अभिभावकलाई अलमल्याएर अतिरिक्त आर्थिक बोझ थप्ने कार्य सेवा हुन सक्दैन । निजी विद्यालयहरुको पाठ्यक्रमको एकरुपता,शुल्क निर्धारण लगायतका सबालमा सरकारी स्तरबाट पनि पहलकदमीको आवश्यकता छ । शिक्षा सबैकालागि हो । निजी विद्यालयले निर्धारण गरेको चर्को शुल्क हुनेखानेले त तिर्न सक्लान् । तर,आर्थिक रुपमा कमजोर वर्गले पनि आफ्ना वालवालिकालाई पढाउन सक्ने गरि शुल्क निर्धारण भएन भने त सबैकालागि शिक्षाको कुरा त केवल कोरा नारामै सिमित नहोला भन्ने के ग्यारेण्टी ?