• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरीको कुशमहारमा अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिता

सप्तरीको कुशमहारमा अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिता

राजविराज, ४ वैशाख । सप्तरीको बोदेवर्साइन नगरपालिका वडा नम्वर–३ स्थित कुशमहारमा अन्तर्राष्ट्रिय स्तरको कुश्ती प्रतियोगिता मङ्गलवारदेखि शुरु भएको छ ।
कुशमहार स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा आयोजित मेलाको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला ईञ्चार्ज अनिरुद्ध कुमार सिंहले एक समारोहका बिच गरेका हुन् । बोदेवर्साइन नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो दिन वर्षाका कारण ६ जना पहलवान बिच मात्र प्रतिष्पर्धा भएको छ । तीनओटा खेलमध्ये दुई ओटामा नेपालको नवलपरासी जुगनु थापा र बसन्त थापाले भारतीय कुश्ती खेलाडिलाई पराजित गर्दै विजयी भएका छन् ।
भारतको मध्यप्रदेश, दिल्ली, झाँसी, गोरखपुर, बक्सर, पटना, बनारस, गाँजीपुर, कानपुर, उत्तरप्रदेश, लौकही, युपी, राजस्थानका चर्चित कुश्ती खेलाडीहरुको सहभागिता रहेका छन् । यसैगरी नेपालको नवलपरासी, रुपन्देही, त्रिवेणीधाम, रोल्पा लगायतका जिल्लाका कुश्ती खेलाडीहरु प्रतियोगितामा सहभागी भएको आयोजक समितिले जनाएको छ ।
वडा अध्यक्ष अनुज कुमार यादवको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा नगरपालिकाका उप–प्रमुख रन्जु कुमारी साह, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, भारतको लौकही प्रखण्डका अध्यक्ष रामकुमार यादव, वडा अध्यक्ष एवम् जनप्रतिनिधीहरु मजेबुल रहमान, रामानन्द चौधरी, श्रीप्रसाद भगत, नेपाली कांग्रेसका शिवनारायण यादव, तत्कालीन धनगढी गाउँ विकास समितिका पूर्व अध्यक्ष अशिष यादव, पत्रकार विद्यानन्द राम, विद्यापति समाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादव, अन्तर्राष्ट्रिय कुश्ती खेलाडी कासिन्दर यादव लगायतको उपस्थिति रहेको थियो ।
खराब मौसमका कारण मङ्गलवार अवरुद्ध भएको कुश्ती प्रतियोगिता बुधबार समेत जारी रहने जनाईएको छ ।