सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा ल्याउँछौंः मन्त्री महासेठ

सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा ल्याउँछौंः मन्त्री महासेठ
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा आउने बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघले शुक्रवार राजविराजमा शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । नेपालमा रेल सञ्चालनको कुरालाई हावादारी भनिएको चर्चा गर्दै मन्त्री महासेठले भने ‘मेची महाकाली रेलमार्गको डिपिआर तयार भईसकेको छ र ईष्टिमेट समेत बनिरहेको छ, सन् २०१८ भित्रै नेपालमा रेल सेवा सञ्चालनमा ल्याउँदैछौं ।’ पूर्वपश्चिमसँगै केरुङ्ग लुम्विनी रेल सञ्चालनका लागि समेत सरकारले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
तीन चरणको निर्वाचन र तीन तहका सरकार बनिसकेकाले देश विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए । संघीय संरचनामा विकासका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले भने ‘विकासको सवालमा राजनीतिक दलहरुले यो दल वा त्यो दल भने कुरा अब त्याग्नु जरुरी छ, सम्पूर्ण पार्टीहरु एकजुट भएर अगाडि वढ्नु पर्छ ।’ सप्तरी जिल्ला विकास निर्माणको सवालमा पछाडि रहेको भन्दै विकासको गतिमा अगाडि बढ्न आग्रह गर्दै उनले भने ‘विकासको मुद्दा लिएर प्रधानमन्त्री केपी शर्मा ओली होस्, शेरवहादुर देउवा होस् वा पुष्पकमल दाहाल होस्, कहाँ जानुपर्छ सबै दलहरु सँगै विकासकालागि अगाडि बढ्नुपर्छ ।’
मन्त्री महासेठले हुलाकी राजमार्गका कारण राजविराजमा पर्ने असरका विषयमा उचित निकास निकालिने आश्वासन दिए । कुनौली–राजविराज–रुपनी ६ लेनको सडक निर्माण हुने पनि मन्त्री मन्त्री महासेठ बताए ।
हुलाकी सडक, कुनौली–रुपनी सडक, छिन्नमस्ता मन्दिरसम्म भारतीय रेल ल्याउन मार्ग विस्तार, राजविराजमा यातायात ब्यवस्था कार्यालय स्थापना लगाएका विकासीय मुद्दाहरुलाई समेटेर संघका अध्यक्ष अरुण प्रधानले वुझाएको ज्ञापन पत्रको अध्ययन पछि एक महिनाभित्र अधिकांश समस्या सम्वोधन हुने प्रतिवद्धता मन्त्री महासेठले जनाए । सोही कार्यक्रममा रामकृष्ण दास ‘रामबाबु’ले हुलाकी सडक राजविराज बजार क्षेत्रबाट नलगेर बाइपास निर्माण कार्य अगाडि बढाउन मन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य सत्यनारायण मण्डल, सांसदहरु जुली महतो, सरिता गिरी, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने लगायतको उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author