• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

सहकारी मैत्री ऐन ल्याउने तयारी भईरहेको छः मन्त्री साह

सहकारी मैत्री ऐन ल्याउने तयारी भईरहेको छः मन्त्री साह

बोधराज सुवेदी
राजविराज, २० चैत । प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीको माध्यमबाट प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएको भन्दै सरकारले शीघ्र सहकारी मैत्री ऐन ल्याउने तयारी भईरहेको बताएका छन् ।
६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सप्तरीले मंगलवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले यसबारे जानकारी दिएका हुन् । प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रम सार्वजनिक गर्दा प्रदेशको समग्र विकासकालागि सहकारी क्षेत्रको भुमिका तथा आर्थिक साझेदारीतालाई उच्च महत्व दिएको भन्दै मन्त्री साहले अबका केही दिनमै प्रदेश सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमा सहकारीकर्मीहरुले भोग्नु परेको हरेक समस्याको सम्बोधन गरिने आश्वासन दिए ।
प्रदेश नम्बर २ मा कृषि क्षेत्रको विकासको प्रचुर सम्भावना भएर पनि निर्वाहमुखी कृषि प्रणालीले गर्दा यो प्रदेश आर्थिक रुपले पछि परेको उनले बताए । कृषिको ब्यापक व्यवसायिकरण गर्नुपर्ने भएकोले अब सरकारले यस प्रदेशलाई्र कृषि उपजमा आत्मनिर्भर बनाई यहाँका उत्पादनहरुलाई वाहिर निर्यात गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला सहकारी संघका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सांसद गोविन्द न्यौपाने, सांसद रुवी कर्ण, सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, जिल्ला दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष भुवन प्रसाद आचार्य, बचत तथा ऋण सहकारी संघ सप्तरीका सचिव तोया पोखरेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघकी माला कर्णले व्यक्त गरिन् ।
‘दिगो आर्थिक विकासको लक्ष्यप्राप्तिको लागि सहकारी’ भन्ने मुल नाराका साथ आयोजित सहकारी दिवसका अवसरमा राजविराज नगरपालिकामा प्रभातफेरि गरिएको थियो । विहान १० बजे स्थानिय शिव मन्दिर प्राङ्गणबाट निकालिएको प्रभातफेरीमा सप्तरी जिल्लाका भरीका सहकारीकर्मीहरुको उपस्थिति थियो ।