
राजविराज, १९ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देश संघीयतामा गईसके पनि केन्द्र सरकार अझै पुरानै मानसिकता पालेर बसिरहेको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता शक्तिपीठ प्राङ्गणमा सोमवारदेखि शुरू भएको दश महाबिद्या सह रुद्र महायज्ञको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । फोरम नेपालका केन्द्रीय अध्यक्ष यादवले स्रोत साधन अभाव रहेको बताउँदै उनले भने ‘देश संघीयतामा गईसके पनि केन्द्र सरकार अझै पुरानै मानसिकता पालेर बसिरहेको छ, यो मानसिकताले अब काम चल्दैन, केन्द्रले अधिकार प्रत्यायोजनसँगै स्वायतताको अधिकार दिईनुपर्दछ ।’
मानवीय विकास सूचकाङ्कमा समेत प्रदेश नम्वर २ पछाडि रहेको भन्दै बढी बजेट विनियोजन गरेर यो प्रदेशलाई समेत माथि उठाउनुपर्नेमा उनले जोड दिए । प्राकृतिक स्रोत साधनमा प्रदेशको पूर्ण अधिकार नभएसम्म ती प्रदेशहरु आर्थिक रुपले सबल बन्न नसक्ने बताउँदै स्थानीय तहका जन प्रतिनिधिहरुलाई समेत गम्भीर बन्न अध्यक्ष यादवले आग्रह गरे । देशका सबै जातजाति एवम् सम्प्रदायलाई एक–अर्काले सद्भाव एवम् सम्मान गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रदेश २ का कृषि तथा भुमि व्यवस्था मन्त्री शैलेन्द्र प्रसाद साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, तराई मधेस प्रदेशका मुख्य सचिव शम्भु झा, जिल्ला सचिव केदार प्रसाद यादव, युवा नेता नवनित झा लगायतको उपस्थिति रहेको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।



