
राजविराज, १५ चैत । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का स्थानीयहरुले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडाका हरेक घरमा चर्पी निर्माण भइनसकेको तथा वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा नगरि हचुवाका भरमा गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको विरोधमा स्थानीयले तोपास्थित वडा नम्बर ८ को कार्यालयमा बिहीबार बिहान तालाबन्दी गरेका हुन् ।
स्थानीय सत्यनारायण यादवले आफूहरु पटक–पटक वडा तहबाटै खुला दिसामुक्त क्षेत्र घोषणा हुनुपर्ने माग राख्दै आएपनि गाउँपालिका अध्यक्षले हैकमवादी चरित्र देखाउँदै वडा घोषणा नगरि गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेकोले वाध्य भएर विरोधमा उत्रिनु परेको बताए ।
खुला दिसामुक्त क्षेत्र अभियानमा स्वयंसेवक भई खटेका तोपाका शिवकुमार मण्डलले अझैपनि वडाका धेरै घरमा चर्पी निर्माण भइनसकेको अवस्था रहँदारहँदै गाउँपालिकालाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु मजाक सरह भएको बताए ।
तिलाठी कोइलाडी गाउँपालिकालाई बुधबार खुला दिसामुक्त क्षेत्र घोषणा गर्न तिलाठीमा आयोजित कार्यक्रममा पनि वडा नम्बर ८, ७ र ३ का स्थानीय वासिन्दाहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गरेका थिए । एकातर्फ खुला दिसामुक्त क्षेत्र घोषणा हुँदै थियो भने अर्को तर्फ स्थानीय वासिन्दाहरु वडा तहबाटै घोषणा हुनुपर्ने तथा हरेक घरमा चर्पी निर्माण भएपछि मात्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्न भन्दै विरोध प्रदर्शन गरेका थिए ।
स्थानीयहरुले बुधबार साँझ नै तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका थिए ।



