
राजविराज, १२ चैत । विगत केही महिनायता सप्तरी जिल्लामा बलात्कारसहित यौनजन्य घटनाहरु बढिरहँदा राजविराजमा महिलाहरुले त्यस विरुद्ध सोमवार राजविराजमा प्रदर्शन गरेका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीद्वारा महिला उपर यौनजन्य हिंसा विरुद्ध खबरदारी र्याली आयोजना गरिएको हो । जिल्ला प्रहरीमा ७ ओटा र एउटा ईलाका प्रहरी कार्यालयमा दर्ता भएको छ । उक्त घटनाका ८ अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको भए पनि राजनीतिक दवाव, पहुँच र अदालतको आदेशमा अभियुक्त रिहा हुने गरेको भन्दै महिलाहरुले खबरदारी स्वरुप प्रदर्शन गरेका छन् ।
बलात्कार घटनाका आरोपीहरुले उन्मुक्ति पाउँदै गएकोले यसतर्फ गम्भीर बन्न सराकोरवालाहरुलाई महिलाहरुले आग्रह गरेका छन् । राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा पश्चात शहिद दशन चौकमा कोण सभा आयोजना गरिएको थियो ।
कोणसभामा दहेजमुक्त मिथिला अभियानकी अध्यक्ष करुणा झा, इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, अधिवक्ता मनु खनाल, पत्रकार महासंघकी उपाध्यक्ष सुधा देब, मैथिली महिला परिषदकी सचिव पिंकी झा, स्वास्थ्यकर्मी सुनिता यादव, राजविराज नगरपालिका वडा नमबर ५ का सदस्य पार्थो सरकार, सप्तरी युथ नेपालका सदस्य अमर यादव लगायतले बलात्कार लगायतका घटनामा संलग्न दोषीहरुलाई कडा कार्वाही हुनुपर्नेमा जोड दिंदै अपराधीलाई प्रश्रय नदिन समेत उनीहरुले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।



