
राजविराज, ११ चैत । विगत ५८ वर्षदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो समय डिजेल अभाव तथा मेसिनमा आएको खराबीका कारण विमानस्थलको पक्की धावनमार्ग निर्माण कार्य दुई सातासम्म प्रभावित हुन पुगेको थियो । चैत्र महिनाभित्रै विमानस्थल निर्माण कार्य पुरा हुने लक्ष्य अनुसार कान्छाराम, रमण र देव एण्ड शायर जेभी कम्पनीले निर्माण कार्यलाई तिब्रता दिएका छन् ।
वि.सं. २०१६ सालमा तत्कालिन यातायात मन्त्री स्व. गणेशमान सिंहले विमानस्थलको शुभारम्भ गरेका थिए । उक्त विमानस्थलबाट बिच–बिच केही दिन अनियमित विमान चले पनि नियमित रुपमा उडान हुन सकेको थिएन् । सप्तरीवासीको आशा भरोसाको रुपमा रहेको राजविराज विमानस्थलको निर्माण कार्य लगभग ८० प्रतिशत पुरा भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका ईन्जिनियर सत्यराम दुवालले जानकारी दिए ।
पछिल्लोपटक २०७३ साल मंसिरदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदखै उनले भने–‘धावन मार्गमा कालोपत्रेको करिब ८० प्रतिशत सम्पन्न भएको छ, बाँकी काम पनि चैत महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तिव्र पारिएको छ ।’ गुणस्तरीयतालाई विशेष ध्यान दिन तथा निगरानी गर्न आफुलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले खटाएको ईन्जिनियर दुवालले बताए ।
उनका अनुसार वैशाखको दोश्रो सातासम्म विमानस्थल उडानका लागि पूर्ण रुपमा तयार भईसक्ने छ । एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य तिव्र रुपमा भईरहेको उनले बताए ।
राजविराज विमानस्थलमा राम्रो सम्भावना रहेको भन्दै आसपासको केही जग्गा अधिग्रहण गरेर चौडा पार्न सके अन्तर्राष्ट्रिय स्तरको विमान उडान भर्न सकिने ईन्जिनियर दुवालले जानकारी दिए । ‘बिराटनगर भन्दा राजविराजको एयर डिस्टेन्स समेत कम छ’ उनले भने ‘यो विमानस्थलको गुणस्तरीयता समेत उच्च रहेको छ ।’
स्थानीय समस्याः
राजविराज विमानस्थलको धावन मार्ग लगायतका निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चैत्र महिनाभित्रै सम्पूर्ण कार्य सम्पन्न हुने भए पनि विमानलाई उडान भर्न खुल्ला आकाश आवश्यक रहेको ई. दुवालले बताए । बिमानस्थलको हवाई मार्गमा पर्ने अवरोधहरु हटाउनुपर्ने चुनौती रहेको बताउँदै उनले भने ‘विमानस्थलको पूर्व करिब सात सय मिटर पूर्व रहेका ईटा भट्टाका चिम्नीहरु हटाउनु जरुरी छ, आसपासमा करिब एक दर्जन ईटा भट्टा सञ्चालनमा छ, चिम्नीबाट निस्किने धुँवाले भिजिविलिटीमा समेत समस्या गर्न सक्ने सम्भावना छ ।’
भट्टाका चिम्नी तथा पूर्व र पश्चिमतर्फ पर्ने केही रुखहरु समेत कटान गर्नुपर्ने भएकोले स्थानीय तहले तत्काल पहल कदमी लिनुपर्ने उनको भनाई छ । प्राधिकरणले सम्वन्धित पक्षलाई पत्राचार लगायतका प्रक्रियाहरु अगाडि बढाई सकिएको ई. दुवालले जानकारी दिए ।



