पुरुष मजदुरको भींडमा एक्लो महिला बसन्ती सदा

पुरुष मजदुरको भींडमा एक्लो महिला बसन्ती सदा
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ फागुन । अन्दाजी ४० वर्षिय एक महिला विहान ८ नबज्दै राजविराज स्थित गजेन्द्र चौकमा हाजिर हुन्छिन् । कामको खोजी गर्न विहानैदेखि उभिरहने कामदारहरुका बीच ती महिला पनि उभिरहेकी हुन्छिन् । कामदारहरुका बीच फरक अनुहारमा देखिने ती महिला हुन् सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१२ सिंगियौन गाउँकी बसन्ती सदा । गाउँबाट पैदलै पाँच–छ किलोमिटरको दुरीमा रहेको राजविराजको गजेन्द्र चौक पुग्नु उनको दैनिकी नै भएको छ ।
चौकमा भेला भएका मजदुरहरुमध्येबाट पारिश्रमिकमा मोलमोलाई गर्दै छानीछानी व्यक्तिहरुले कामदार लाने गर्छन् । मिस्त्रीदेखि समान्य मजदुरहरु समेत कहिलेकाही काममा गईहाल्छन् तर बसन्ती महिला भएकै कारण छनौटमा पर्दैन । घाम झुल्किएसँगै मजदुर खोज्न आउने मान्छेहरु आउने क्रम पातलिएपछि महिला भएकै कारण दैनिक ६ सय रुपैयाँ पाउनुपर्नेमा ४ सय रुपैयाँमै दिनभरि काममा जोतिनुपर्दा आफुलाई चित्त दुख्ने गरेको बसन्ती दुखेसो सुनाउँछिन् ।
‘काममा नगए घर परिवार कसरी चलाउने भनी चिन्ता हुन्छ’ उनले भनिन् ‘यो पापी पेटको सवाल छ, भोक लाग्छ खानै प¥यो नि ।’ खेती किसानी गर्न जग्गा समेत नरहेकोले बोनी मजदुरी गर्नु बाहेक अर्को समेत नभएकोले विगत १२ वर्षदेखि निर्माण सम्वन्धी कामममा ईटा ओसार्न, सिमेन्ट, बालुवा र गिट्टीको मसाला बनाउने, घर सरसफाई लगायतको कामहरु गर्दैआएको बसन्तीले बताईन् ।
आजभन्दा चौध वर्ष अघि पतिको अल्पायुमै मृत्यु भएपछि एक छोरा, दुई छोरी, सासु, ससुराको जिम्मेवारी समेत काँधमा आएपछि बाध्य भएर कामको खोजीमा गाउँबाट बाहिर निस्किएको उनले जानकारी दिईन् । उनका कथाव्यथाहरु खोतल्दै जाँदा भावुक हुँदै उनले भनिन् ‘पतिको मृत्यु भएपछि घरमा कमाउने मान्छे नै भएन, गाउँमै गिरहतको खेतमा गएर काम गर्थें तर त्यो काम नियमित थिएन, सिजन अनुसार नै हुन्थ्यो, बालबच्चाको मुख हेरेर काम खोज्दै राजविराज जान थालें ।’ एकल महिला भएकै कारण शुरुमा गाउँबाट अन्यत्र काम गर्न जाँदा समाजबाट आलोचित समेत हुनुपरेको जानकारी दिँदै पसिना बगाएर हातमुख जोर्ने प्रबन्ध मिलाउनुलाई धर्म सम्झेर काम गर्दैआएको उनले बताईन् ।
पुरुषहरुका बीच कहिलेकाही एक्लो हुँदा अलिकति असहजको अनुभूति भए पनि महिला भएकै कारण अवहेलित हुनुपर्दा चित्त दुख्ने गरेको बसन्तीले बताईन् । ‘पुरुष कामदारलाई ६ सय रुपैयाँमा लाने गर्छन् तर महिला कामदार भनेर मोलमोलाई बढी गरिँदा दुःख लाग्छ’ उनले भनिन् ‘काम बराबर नै गर्छु तर ज्यालामा विभेद गरिन्छ, कहिलेकाही त तिमी महिला हौ, त्यसैले यो काम गर्न सक्दैनौं भन्दा दुःख लाग्छ ।’
समूहमा काम गर्ने क्रममा सँगैका पुरुष सहकर्मीको होच्याउने बोलीले समेत कुनैकुनै बेला नराम्रो लाग्ने गरेको उनको अनुभव छ । ‘गिरहतको खेतमा काम गर्दा पनि पुरुषले १० देखि १५ किलो धान पाउने तर सँगैको महिला कामदारले दिनभरि काम गरेवापत ५ किलोमा चित्त बुझाउनुपर्ने अवस्था छ’ बसन्ती सदाले थपिन् ‘महिलाले प्रोत्साहन पाउनुपर्नेमा त झन् कम ज्याला दिएर शोषण भईरहँदा पनि हाम्रा लागि कसैले बोलिदिने भएन, त्यसैले बोलेर पनि फाईदा छैन ।
समस्या आईपर्दैमा महिलाहरुले नआत्तिई समस्यासँग जुझ्नुपर्ने उनको बुझाई छ । अरुको मुख ताक्नुभन्दा आफैले पसिना बगाएर पाएको मजदुरीमा गर्व गरेर आनन्द साथ जीवन जिउन आफ्नै खुट्टामा उभिनुपर्ने उनले बताईन् ।

Online Saptari

About The Author