• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नेपालमै पहिलो पटक फिचर फिल्मको घुम्ती सिनेमा सप्तरीबाट शुभारम्भ

नेपालमै पहिलो पटक फिचर फिल्मको घुम्ती सिनेमा सप्तरीबाट शुभारम्भ

राजविराज, २७ फागुन । नेपालमै सम्भवतः पहिलो पटक घुम्ती सिनेमामा फिचर फिल्म प्रदर्शन अभियानको शुभारम्भ सप्तरी जिल्लाको तिरहुत गांउँपालिकाको लोहजरा गाउँबाट गरिएको छ ।
प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र सोही मन्त्रालयका सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ गरिएको हो । लोहजारा गाउँका एक हजार पाँच सय भन्दा बढी आम जनसमुदायले ठुलो पर्दा र गुणस्तरीय साउण्ड सिस्टममा घुम्ती सिनेमाको पहिलो शोमा आफ्नै गाउँ टोलमा राज्जा रानी मैथिली सिनेमा हेर्न पाएका छन् । सामाजिक विकासमन्त्री साहले ल्याटपमा क्लिक गरेर राज्जा रानी मैथिली सिनेमाको पहिलो घुम्ती शोको शुभारम्भ गरे ।
फिल्म निर्माता राजकुमार मेहताले आइतवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलन गरी ‘घुम्ती शो’ बारे जानकारी दिएका छन् । उनका अनुसार प्रदेशनम्बर २ र १ का मोरङ्गदेखि पर्सा सम्मका १० जिल्लाका गाउँगाउँमा घुम्ती सिनेमा सञ्चालन गरिने लागिएको हो ।
सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विषयवस्तुमा बनेको फिचर फिल्मलाई सुगमदेखि दुर्गममा बसेका तथा सम्पन्नदेखि विपन्नसम्मको पहुँचमा पुरयाउन, सिनेमाहलको पहुँचबाट टाढा रहेकाहरुलाई सिनेमा देखाइने मनोरञ्जन मार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको अभियानमा योगदान गर्न, नेपाली सिनेमाको बजार बिस्तारमा मद्दत गर्न, मैथिली सिनेमाप्रति आम जन समुदायको चासो र भोक जगाउन जसले भोलीको दिनमा गुणस्तरीय मैथिली सिनेमा निर्माण गर्न र सफल व्यापार गर्न मद्दत गर्ने, राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमा मार्फत गाउँगाउँमा महिला पुरुष विचको दाइजो तथा महिला हिंसाविरुद्धको अभियानमा व्यापक जनचेतना फैलाउने उद्देश्य रहेको जनाईएको छ ।
प्रदेश नम्बर २ र १ का मोरङ्गदेखि पर्सासम्मका १० जिल्लाहरुका गाउँगाउँमा घुम्ती सिनेमा सञ्चालन, प्रत्येक जिल्लाका ६ देखि ८ स्थानलाई केन्द्र बनाई घुम्ती सिनेमा सञ्चालन गरिने, हरेक स्थानमा ३ देखि ५ शो सिनेमा प्रर्दशन गरिने, प्रत्येक शो मा ३ सयदेखि ४ सय दर्शकलाई व्यवस्थित ढङ्गले उनकै टोलमा पुगेर सिनेमा देखाइने महतोले बताए । उनका अनुसार सिनेमा प्रदर्शनमा प्रति टिकट पचास रुपैयाँको व्यवस्था गरिएको, घुम्ती सिनेमा प्रदर्शनमा १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४ हजार लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी गाउँ स्तरको घुम्तीमा सजिलो हुने गरी उच्चतम गुणस्तरमा सिनेमा प्रदर्शन गरिने उनले जानकारी दिए ।
राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमाको लक्ष्य घुम्ती सिनेमा प्रदर्शन हुने जिल्लामा मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेको छ । घुम्ती सिनेमा प्रदर्शन ६० स्थानमा तीन सय शोमा करिब एक लाख २० हजार दर्शकले हेर्ने अनुमान गरिएको छ । दाइजो पिडितको सत्य घटनामा आधारित भएर निर्माण गरिएको गुणस्तरीय, मनोरनजनात्मक र सन्देशमुलक सिनेमा ‘राज्जा रानी’ नेपालको इतिहासमै पहिलो पटक दुई भाषा नेपाली र मैथिली निर्माण गरिएको हो ।
फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनीप्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्दे्शित यो फिल्मको सम्पुर्ण छायांकन बाँके जिल्लामा गरिएको थियो । सत्य घटनामा आधारित दाइजो र महिला विरुद्ध हिंसा प्रमुख कथा रहेको राज्जा रानीलाई रमेश एमके पौडेल र राजकुमार महतोले निर्माण गरेका हुन् ।
सिनेमाको मैथिली भर्सनको निर्माण पक्षभोर कम्पनी प्रा. लि.ले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्न अभियानमा खर्च गरिने निर्णय गरी सकेको छ । सिनेमाबाट आउने पुरै मुनाफा अभियानहरुमा मितव्ययी तथा पारदर्शी तवरले प्रयोग गरिने, बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपाल मोरङ्ग देखि पर्सा सम्मका १० जिल्लाका अति विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहयोग, वीरगञ्जदेखि विराटनगरसम्मका कोरीडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवद्र्धन र सुदृढिकरण, भौतिक तथा आर्थिक विस्तृत प्रगती भोरको कार्यालय, सामाजिक सञ्जाल तथा बेबसाइटमा नियमित रुपमा सर्व साधारण र सरोकारवालाहरुको लागि उपलब्ध गराइने जनाईएको छ ।