• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
होली नजिकिंदै जाँदा गाउँगाउँमा होरी गायन

राजविराज, १४ फागुन । होली पर्व नजिकिंदै जाँदा मिथिला–मधेशका गाउँगाउँमा यतिबेला होरी गायनले तिब्रता पाएको छ ।
गाउँगाउँमा रहेका किर्तनीयाँ मण्डली तथा होरी समूहहरु अबेर रातीसम्म होरी गायनको अभ्यासमा जुटेका हुन् । गाउँ घरका अधिकांश युवाहरु विदेश पलायन भएपछि प्रौढहरुले भने यो परम्परालाई निरन्तरता दिँदैआएका छन् ।
केही वर्षयता वैदेशिक रोजगारी क्रममा बढ्दो युवा पलायनले होरी गायनको उत्साहमा कमी आउँदै गएको खरसाल होरी युवा समूहका बद्री यादवलदे बताए । राजनीतिक द्वन्द्व साम्य भएपछि होरी गायन बढे पनि केही वर्षयताको पलायनले यो क्रम घट्दै गएको बताउँदै उनले भने ‘जाडो कम हुँदै विस्तारै गर्मीको शुरुवातसँगै गाउँगाउँमा होरी गाउने परम्परा जस्तै भईसकेको छ तर विदेश पलायनले गाउने–बजाउने मान्छे नै पाउन छाडेपछि यसमा केही कमी आएको छ ।’
यस्तै भनाइ छ खरसाल युवा होरी समूहका रामअशिष यादव ‘घुटर’को । मिथिलावासी होरी गायनमा पोख्त रहेको बताउँदै उनले भने ‘गाउँ–गाउँमा रहेका होरी समूहहरु यो समयमा अनिवार्य रुपमा सक्रिय हुने गर्छन् तर ढोलक, हार्मोनियम, झ्याली, डम्फा बजाउने होरी गाउने मान्छेहरु नै विदेशिएपछि समस्या भएको छ ।’ परम्पराको रुपमा रहेको होरी गायनमा युवाहरुको अभावलाई आफुहरुले पूर्ति गर्दै संस्कृति लोप हुनबाट जोगाउने प्रयासमा रहेको उनले बताए ।
हरेक वर्ष सँगै होरी गायनमा ढोलक बजाएर साथ दिँदै आएका ढोलक बादक नेमन कुमार यादव ‘निर्मल’ विदेशमा रहेकोले आफुहरुलाई खल्लो अनुभूति भईरहेको होरी समूहका धीरेन्द्र कुमार यादवले बताए । ‘संस्कृति लोप हुनबाट जोगाउनुपर्छ’ भने मान्यताकासाथ आफुहरुले होरी गायनलाई निरन्तरता दिने कार्यमा जुटेको समूहका अर्का युवा रामकुमार यादवले जानकारी दिए । बढ्दो आधुनिकता र युवा पलायनले होरी गीत गाउने परम्परामा कमी आउदै गएकोले युवा पलायन रोक्नेतर्फ केन्द्र, प्रदेश तथा स्थानीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।
बसन्त पञ्चमीका दिनदेखि होली पर्वको अघिल्लो रातीसम्म भेला भई फगुवा, बिरहा, झुमर, जोगिडा, होरी आदि परम्परागत गीतहरु गाउने गरिन्छ । होलीको अघिल्लो राती होलीका दहन गरी अर्को दिन एक–अर्कालाई रङ्ग अबीर लगाएर हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । होरी गायनमा लागेका समूहहरुले टोलभरि होली गाएर औपचारिक रुपमा पर्वको समापन गर्ने परम्परा रहँदैआएको छ ।