• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तिलाठीवासीद्वारा रिले अनसन स्थगन

राजविराज, १२ फागुन । विगत १९ दिनदेखि विभिन्न माग राख्दै गाउँपालिका कार्यालय छेउमा तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका स्थानीय वासिन्दाले जारी राखेको रिले अनसन शनिबारदेखि तत्कालका लागि स्थगन गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र २(१) का प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहको उपस्थितिमा उक्त रिले अनसन तत्कालका लागि स्थगित गरिएको हो । गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले गैरकानूनी रुपमा सदरमुकाममा गाउँसभा आयोजना गरेको भन्दै उक्त गाउँसभा खारेज गर्नुपर्ने लगायत विभिन्न मागसहित स्थानीयहरु माघ २२ गतेदेखि रिले अनसनलाई निरन्तरता दिँदैआएका थिए ।
अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्ने लगायतका विभिन्न मागसहित आन्दोलित स्थानीयहरु प्रदेश सभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायहरुबाट गरिएको आग्रह एवं होली पर्वलाई लक्षित गरि तत्काल रिले अनसनलाई स्थगित गरेको स्थानीय अवकाश प्राप्त शिक्षक दयाकान्त झाले बताएका छन् ।
प्रदेश सभा सदस्य साहले अनसनमा बसेकाहरुलाई जुस खुवाउँदै तत्कालकागि अनसन स्थगित गरिएको उनले बताए । संविधान तथा संघीयता कार्यान्वयनको संघारमा आफुहरु रहेको हुँदा स्थानीय तहमा देखिएको सामान्य विवादहरुलाई आपसी सहमति र समन्वयनको आधारमा मिलाउँदै समग्र विकासकालागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रदेश सभा सदस्य साहले तिलाठी कोइलाडी गाउँपालिकामा देखिएको विवादहरुलाई मिलाउन स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारण समेत सकारात्मक देखिएको बताए ।
विवाद समाधानकालागि आफुले सरोकारवाला पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेको र सरोकारबाला पक्षहरुपनि विकासका निम्ति सानातीना विवादहरुलाई आपसी समन्वयमा मिलाउन निकै उत्सुक र उत्साहित देखिएपछि आफुले आन्दोलनरत पक्षलाई तत्काल रिले अनसन स्थगन गर्न आग्रह गरेको उनले बताए । आफ्नो आग्रहलाई स्वीकार गर्दै आन्दोलनरत पक्षले रिले अनसनलाई तत्काल स्थगन गरेकोमा प्रदेश सभा सदस्य साहले धन्वाद समेत ज्ञापन गरेका छन् ।