• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

‘मैथिली भाषाको स्थान सुनिश्चित गर्न संघर्ष आवश्यक’

‘मैथिली भाषाको स्थान सुनिश्चित गर्न संघर्ष आवश्यक’

राजविराज, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले प्रदेश नम्वर–२ को सरकारी कामकाजको भाषा बनाउन सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
मैथिली साहित्य परिषद् राजविराजले आयोजन बुधवार मैथिली भवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । देशको दोस्रो ठूलो भाषा मैथिली रहेको तथा प्रदेश नम्वर २ को मुख्य भाषा मैथिली नै नरहेकोले मैथिली भाषाको स्थान सुनिश्चित गर्दै अन्य मातृभाषाहरुको समेत समुचित स्थान हुनुपर्नेमा उनीहरुले आवश्यकता औंल्याएका छन् ।
संघीय शासन व्यवस्थामा मातृभाषाहरुको स्थान सुनिश्चित हुनुपर्नेमा वर्तमान अवस्थामा अन्य भाषालाई कामकाजको भाषा बनाउने षडयन्त्र भईरहेको बताउँदै यस्ता कार्यलाई रोक्नुपर्नेमा वक्ताहरुले जोड दिए । मधेश केन्द्रित दलहरुले समेत पछिल्लो समय मातृभाषाहरुको विषयमा मौनता देखाईरहेकोले गम्भीर बन्न उनीहरुले आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप–मेयर साधना झाले नगरपालिकामा मैथिली भाषालाई प्रयोगमा ल्याईने प्रतिवद्धता व्यक्त गरेका छन् । आफु मैथिली क्षेत्रमै पाइला टेकेर राजनीतिमा लागेको र यहाँसम्म पुगेको बताउँदै उनले भनिन् ‘विविध समस्याहरुसँग जुझ्दै आफुहरु नगरको विकासमा लागेको लागेको छ, मातृभाषा मैथिलीमा यसअघि कामकाजको शुरुवात पूर्व मेयर जगरन्नाथ दासले गरेको थियो, वर्तमान अवस्थामा मसहित नगरपालिका पदाधिकारीहरु मैथिली भाषाको प्रयोगको विषयमा गम्भीर छौं ।’
परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु प्रा. जनआनन्द मिश्र, प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, शुभचन्द्र झा, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्र कुमार झा ‘जितु’, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, करुणा झा, मातृभाषा साहित्य कला संरक्षण केन्द्र नेपाल सिरहा लहानका संयोजक अर्जुन प्रसाद गुप्ता, पूर्व प्राचार्य नथुनी दास, नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, परिषद्का सल्लाहकार अधिवक्ता राजेन्द्र प्रसाद देव, साहित्यकार आभासेतु सिंह, महिला परिषद्की अध्यक्ष शान्ति झा, पूर्व अध्यक्ष सुमित्रा दास, गीतकार श्रीराम मण्डल, कवि सत्येन्द्रनाथ चौधरी, विद्या झा ‘डेजी’ पिंकी झा लगायतले मैथिली भाषाको समुचित स्थान सुनिश्चितताकालागि सशक्त संघष गर्नुपर्नेमा जोड दिए ।
परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा सञ्चालित कार्यक्रममा विषय प्रवेश उपाध्यक्ष सतिश दत्तले गराएका थिए ।