
राजविराज, ८ फागुन । प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’ले सिंचाई समस्या स्थायी रुपमा समाधान गर्न सकेमात्र प्रदेश नम्वर २ मा आर्थिक उन्नति हुनसक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश नं. २ मा अत्यधिक खेतीयोग्य जग्गा छ’ उनले भने–‘तथापी सिचाईको संकुचित व्यवस्था नरहेका कारण यहाँका जनता गरिबीको मारमा परेको छ ।’ उनले जनताको जीवनस्तर स्तरीय बनाउन सप्तकोशीदेखि विरगंजसम्म सिचाईलाई जोड्न आवश्यक रहेको बताए ।
‘प्रदेश नं. २ मा अहिले खेतीयोग्य जग्गा हुँदाहुँदै पनि सिचाईकै अभावले जनतालाई गरिबीको रेखामुनि बस्नुपर्ने बाध्यता छ’ उनले भने–‘सिचाईकै समस्या समाधान गर्नु अहिले फोरम–राजपा सरकारको प्राथकिताको विषय हो ।’ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रिय सदस्य समेत रहेका यादवले सिंचाईकै विषयमा अहिले मधेशवादी दलले प्रमुख मुद्दा बनाई अगाडी बढिरहेको जानकारी समेत दिए । सप्तरी क्षेत्र नं. ३(ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका यादवले आफ्नो क्षेत्रमा पनि सिंचाईलाई बढी प्राथमिकतामा राखि काम भईरहेको बताए ।
उनले यसका साथसाथै सडक, शिक्षा र लघु उधोगमा पनि जनतालाई उत्प्रेरित गरी योजना बनाई काम अघि बढेको बताए । छ वटा पार्टी मिलेर बनेको राजपाको सन्दर्भमा यादवले अहिले ती पार्टीहरु पनि आ–आफ्नै दलमा मात्रै सिमित रहेको प्रति दुख व्यक्त गरे । उनले अहिलेसम्म पनि ती दलहरु व्यवहारिक रुपमा एउटा पार्टी बन्न नसक्नु सम्रग मधेशी जनताकै लागि दुखत रहेको ठहर गर्दै छ वटै दललाई व्यवहारिक रुपमा एउटा पार्टी बन्न आग्रह समेत गरे ।
प्रदेश नम्वर २ को सरकार गठन बारे यादवले यहि फागुन ११ गतेसम्म राजपाले सांसदहरुको नाम तयार गरी संसदमा वुझाई सक्ने बताए । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा शाखाका सभापति जितेन्द्रकुमार खड्गा, राजपाका युवा नेता किशोरकुमार यादव ‘केसी’ लगायतको सहभागिता रहेको थियो ।



