सुखके सब साथी दुःखमे ना कोई

सुखके सब साथी दुःखमे ना कोई
Bwtech New Add With Software & Bull SMS

–नन्दलाल आचार्य
लोकले मान्दै आएको महाशिवरात्रीको पवित्र समयमा म धेरै दिनदेखि मनमा गुम्सेको मनोगन्थनको गाँठो फुकाउँदै छु । अब पनि नफुकाउने हो भने धोक्रो नै ब्लाष्ट होला भन्ने जगजगी छ । भकुण्डोमा एकोहोरो हावा भरिरहँदा नफुटी छाड्दैन ।ं म नामको मनुवाको मनको धोक्रो पनि भरिँदा–भरिँदा टाइट भइसक्यो । कुनै बेला फुट्ने भएकाले बेलैमा होसियार भएर तँलाई आरोपप्रत्यारोप लगाउन खोज्दै छु ।
तेरो अघि लोक–समाज हात जोड्छ– तिमी सर्वशक्तिमान छौँ ! धर्तीका प्राणीको हरेक क्रियाकलापमा दृष्टिपात दिन्छौ । कसले के ग¥यो, कसले गरेन दूधको दूध, पानीको पानी छुट्याउन सिपालु छौ । तिम्रो न्यायालयमा अपराध गर्नेले सजायको कठगरामा उभिनुपर्छ । यद्यपि स्पष्टीकरण समेत दिन नपाई कोर्रा खानुपर्छ । तिमी मरिकाट्टे सजायको वहीखातालाई पुनरावलोकन गर्न मान्दैनौ । । लोकविश्वास बढोस् कि घटोस्, तिमी निष्पक्ष मनस्थितिमा फैसला गर्छौ । न कसैका कुरा मान्छौ, न कसैप्रति अनुराग राख्छौ । तिम्रो लीला स्वयम्मा विचित्रको छ ।
भगवान् ! तँ निकै बाठो छस् । लोक–समाजलाई आफ्नो पक्षमा सहमत गराइस् । यद्यपि म लोकविश्वासका हरेक कुरा मान्नेवाला छैन । म सधैँ तेरो भक्त बनेर पूजापाठको आडम्बर रच्न सक्दिनँ । अन्धो पथिक बनी तेरो पछि पछि दगुर्ने प्रपञ्चमा अल्झिन सक्तिनँ । अरूले समय काटे–कटाए म विरोध गर्दिनँ । सके केही काम–कुरामा सहयोग गरूँला, नसके असहयोग भने पटक्कै गर्दिनँ ।
उदाहरण हेर्छस् भने हेर् । आज एका विहानै मेरी धर्मपत्नी लक्ष्मीजीबाट हुकुम भयो– ‘चाँडो उठ्नुस् । स्नानादि कर्म गर्नुस् । पसलबाट धुप, बाती, चन्दन, अविर, प्रसादादि ल्याइदिनुस् । धर्मकर्ममा विश्वास पनि राख्नुस् । सधैँ कुँजिएर मात्र रहने नगर्नुस् । आज महाशिवरात्री होे । आराध्यदेव पशुपतिनाथको भक्तिभावले पूजा गर्नुपर्छ । विमार चाँडो विसेक होस् भनी वरदान माग्नुपर्छ ।’
लक्ष्मीकै सहयोगले बल्लतल्ल उठेर बस्ना साथ मनको धमिलो बाहिर देखाएँ– ‘जेजे भन्छ्यौ ल्याइदिन्छु । नुहाइधुवाई गराइदिए गर्दिन्छु । यद्यपि मन्दिर–मन्दिर दौडने र घन्ट–शंखको आवाजमा भुल्ने काम भने बन्दै गर्दिनँ । जडलाई पुजेर आफू धर्म कमाएको मानसिकतामा पुग्नु छैन ।’
मैले अगाडि थपेँ– ‘बरू भन्न सक्छ्यौ– गाईलाई पूजा गर, गर्न तयार छु । भैँसीलाई ढोग, ढोग्न तत्पर छु । गोरूलाई नमस्कार गर, गर्न उत्सुक छु । रूख–बिरूवाको सेवामा समय खर्च गर्न तयार छु । पृथ्वीलाई जगत्माताको स्थानमा राख्न राजी छु । सूर्यलाई जगत्पिता भन्न तयार छु । चन्द्रमालाई देवता भनी नमस्कार गर्न तयार छु । चराचर जगत्लाई परमात्माको श्रेणीमा राखेर त्यसकै भक्तिमा रमाउन उत्सुक छु । किनभने यी सबै मेरासामु छन् । मेरै सेवामा हर्दम तम्तयार छन् । म तिनीहरूको ऋणी छु । नुन खाएपछि, नुनको सोझो गर्नु मेरो दायित्व हो । यस्ता कुरा म भलिभाँती बुझ्दछु ।’
ए लोकले पुजी आएको भगवान् ! तैँले मलाई ढाँटिस् । मेरो परिवारजनको विश्वासको हत्या गरिस् । मलाई हर्दम आँसुको दहमा पौडी खेल्न वाध्य बनाइस् । मेरा कलिला दुई छोरीहरूको आस्था र सहाराको लौरो भाँचिस् । नाति–पनाति पुस्ताको मनमा समेत दोषी बन्ने काम गरिस् । अहिले मैले जति पीडा खप्नु परे पनि उनीहरूको मनमा मलाई निर्दोष सावित गर्ने काम पनि तैँले नै गरिस् ।
भगवान् ! कसरी भन्लास् ! ल सुन् । म राजविराजमा पढाउने पेशा अङ्गालेर बसेको थिएँ । जेठी छोरी गरिमाले तेरो कामना गर्दै भनेकी रहिछ– ‘परमेश्वरी ! मेरो बाबा माध्यमिक तहको शिक्षक हुनुभयो भने, म कंकाली मातालाई एक किलो लड्डू चढाउँछु ।’ लक्ष्मीले चाहिँ भाकल गरेकी रहिछन्– ‘खतरदेवीस्थानमा एक जोर परेवा उडाउँछु ।’ नभन्दै म शिक्षक पनि भएँ । मेरा नामका ती दुबै भाकल पूरा गरिए । सायद तँ पनि खुशी भइस् होला । कुनै प्रतिक्रिया भने जनाइनस् ।
भगवान् ! तेरो कृपाले हो कि मेरो लगनशीलताले हो मैले सफलता भने पाएकै हुँ । जे होस्, तैँले विश्वास कमाउने काम गरिस् । मैले पनि सानो भरोसा राख्ने ठाउँ भेट्टाएँ । लोकसमाजले पनि भगवान्को कृपाले बुढेसकालमा सरकारी जागिरमा झुन्डिने अवसर पायो भन्न पाए । सरकारको पैसो खान टाउकोमै लेखेको हुनु्पर्छ भन्थे, हो रहेछ भन्न समेत भ्याए । सबैले तँलाई नै जस दिए, मेरो मेहनतलाई भने पाखा लगाए । कसैको विरूद्ध बोलेर केही फाइदा छैन भन्ठानी म चुप रहेँ ।
सानैदेखि गरिमा पूजा गर्छु भन्थी । भगवान्को फोटो, लड्डू, अबिर आदि ल्याउन अह्राउँथी । म आज्ञाकारी सेवकलेझैँ उसको सेवामा खटिएको हुन्थेँ । म छोरी कोमल मनकी धनी होस्, सृष्टिलाई स्नेहले पोल्टामा राख्न सकोस् भन्थेँ । नभन्दै ऊ आजसम्म पनि धर्मभिरु नै छे । कसैको दुःख देख्न सक्दिनँ । माछा–मासु भनेपछि सती जाने मजस्तो बाउकी छोरी भएर पनि सानैदेखि ती कुराहरू छुँदै छुन्न । कान्छी सानिमाको प्रभावले होला, खानेकुरा खानुस् तर कसैको रगत र मासु नखानुस् भन्छे ।
भगवान् ! समय एकनाशको रहेन । मेरी आमालाई उच्चरक्तचापले च्याप्यो । उहाँको नाथ्री फुट्यो । हत्त न पत्त विराटनगरको नोबेल अस्पताल पु¥याइयो । उहाँ चाँडै विसेक हुनुभयो । हिँडडुल गर्न, खानपिन गर्न जस्ता सामान्य कर्म गर्न कसैको जरुरत परेन । लगतै म सोही बिमारले कुँजो भएँ । विराटनगरमै उपचार भयो । एलोपेथिकसँगै आयुर्वेदिक–जडिबुटी उपचारलाई पनि निरन्तरता दिएँ । साथै, दशगजा छेउको खरैया गाउँका गाउँले डाक्टरले दिएको छ दर्जन सुई पनि लगाएँ । एक पाथी गोटी पनि सिध्याएँ । नगन्यरूपमा विमार विसेक भयो । मनमा पहिलेको जस्तै तन्दुस्त हुन्छु भन्ने झिनो आशाको सञ्चार भयो ।
त्यस बीचमै कान्छा मामा शारदा तिमल्सिनाले भन्नुभएछ– ‘ए कंकाली देवी माता ! मेरा भान्जे–ज्वाइँलाई लागेको बिमार चट्टै निको भइजाओस् । म एउटा खसीले तिम्रो सेवा गर्न यथाशिघ्र चाँडो उपस्थित हुने छु ।’
सासु बज्यैले पुकारा गर्नुभएछ– ‘हे हलेसीधामका महादेव ! मेरा ज्वाइँ साहेव पूर्ववत्रूपमा ठम्ठम्ती हिँडडुल गर्नसक्ने हुनुहोओस् । म हजुरको दर्शनार्थ उहाँलाई पठाउँछु ।’ त्यसपछि देशका कतिपय ठाउँमा यही विमारले मान्छेहरू भकाभक ढल्न थाले । सञ्चार माध्यमहरूले रक्तचापबाट बच्ने उपायहरू प्रशासरणलाई तीव्रता दिए ।
लक्ष्मीले पनि सपनामै कुलदेवलाई स्मरण गर्दै भनिछन्– ‘ए कौडन्य गोत्रका आचार्यहरूका कुलदेवता ! उहाँ बिमारमुक्त हुनुहोओस्, म जुन रङको भए पनि देवालीमा बोको चढाउँछु ।’ मलाई ठीक होस् भनेर ठूल्दिदीले झारफुक, तन्त्रमन्त्र गर्नुभयो । ठूली भतिजीले पनि जोखाना हेराई ग्रहशान्ति गराइछ ।
उपचारबाट म घर फर्कंदा आठ दशक उमेर खाएका बुबा भक्कानिँँदै मेरो हालतले तड्पिएर भन्न थाल्नुभयो– ‘भगवान् पनि छन् कि छैनन् ! म डाँडापारीको घाम भएकालाई पो कुँजो–लङ्गडो बनाउनुपर्ने हो । भगवान् ! माहिलो छोराको सट्टामा बरू मलाई अपाङ्ग बनाऊ । हुन्न भन्छौ भने बरू आफ्नो घरै मलाई बोलाऊ । सब कुरा मन्जुर छ तर मेरो होनाहार रहरको छोरालाई जस्ताको तस्तै बनाऊ ।’
तैँले कसैको पुकारा सुनिनस् । मेरा वृद्ध पिताको आँसुले तँलाई पिरोलेन । वृद्ध आमाको भक्कानिएको मनलाई सान्तवना दिनुपर्छ भन्ने पनि ठानिनस् । भगवान् ! मैले तेरो कुनै कसेसाबारी फाँडेको थिइनँ । भए भरको शारीरिक कष्ट मेरै टाउकोमा बजारेर आफू कहाँ अलप भइस् ? मलाई किन नखाएको विषले समेत पोल्ने बनाइस् ? सारा लोकले समान व्यवहार गर्ने भनेर तँलाई विश्वास गर्दै आएका छन् । मसँग नै किन सौताको व्यवहार गर्छस् ?
ए भगवान् ! यो तैँले ठीक गरिनस् । म बबुरो तुच्छ मनुवालाई अहिलेसम्म चार÷पाँच महिना नरकको वास गराएर ठूलो भुल गरिस् । मजस्तो साधुरामको साधुकर्मलाई अपराधकर्म मात्र देखिस् । कसैले गलगिद्ध दारूपानी धोकेर गल्लीका भुस्याहा कुकुर बिउँझाउँदै समाज नै आतङ्कित हुने गरी फोहोरी शब्द फलाक्ने कर्म गर्दै हिँड्दा तँ केही भन्दैनस् । सरकारी ओहोदामा बसेर सातपुस्ता पुग्ने धन थुपार्दा तँ चुँसम्म बोल्दैनस् । गाँजा–भाँङ, अफिम–चरेसजस्ता लागूपदार्थलाई आफ्नो जीवनकै अङ्ग बनाउनेलाई कुनै चेतावनी दिँदैनस् । सोझा र निर्धा जनताको घाँटी निमोठिने गरी कालाबजारी गरेर रातारात गगनचुम्बी महल ठड्याउनेको कान समाउने हिम्मत गर्दैनस् । अबुझ बालबालिकाको सिँगान पुछ्दै कखरा पढाउने मजस्तो मान्छेलाई भने अपराधी सम्झन्छस् । सोझो राजमार्गमा होसियार साथ हिँँड्न लालायित मजस्तोे निर्धोलाई चाहिँ नरकवास गराउँछस् । भगवान् ! यो तेरो कस्तो दण्डविधान हो ?
भगवान् ! तँ भगवान्–देवीदेउता–ईश्वर–परमेश्वर आदित्यादि होस् रे । कसैको अल्लाह, कसैका लागि क्राइष्ट, कसैका लागि बुद्ध पनि बनेको छस् रे । आजसम्म तँलाई देखेर र भेटेर फर्कने धर्तीमा कुनै प्राणी छैनन् रे । तँ जेजस्तो रूप र शैलीमा कार्य गर्ने भए पनि अन्तिम बखत तेरो स्मरण नगरी मन सन्तोष नहुने रहेछ । मैले पनि आपत् परेको बेला भने तेरो नाम बेचेर हिम्मत जुटाएको छु । प्राण बचाउन सफल भएको छु । त्यो तेरो कृपा हो कि परिस्थितिको खेल हो दैव जानून् ।
यत्तिखेर पक्षाघातले म जिउँदो लास बनी लडिरहेछु । कसैले उठाइदिए, उठ्छु । बसाइदिए बस्छु । खुवाई दिए, खान्छु । विल्कुलै अर्काको भरले बाँच्ने भएको छु । बिमारले भनेजस्तो सुधार हुने नामै लिँदैन । भगवान् ! तँ भने देखेर पनि, नदेखेझैं, सुनेर पनि नसुनेझैं गर्न थालिस् । न मर्न दिइस्, न स्वाभिमानका साथका साथ बाँच्न नै दिइस् । कि तँ पनि एक साथ कानो र अन्धो नै भइस् ?
अन्तमा तँलाई जति दोष थुपारे पनि तेरै पाउमा नपरी धर भएन । तँलाई जति सरापे पनि तेरै स्तुतिगान नगरी खाएको पच्दै पचेन । जति अविश्वासको पहाड ठड्याए पनि विश्वासको अन्तिम विन्दु तँलाई नै नठम्याई धर पाइएन । देखिनेलाई, भेटिनेलाई पो गुनासो राख्न पनि सुहाउँथ्यो । यद्यपि देख्दै नदेखिने र भेट्नै नसकिनेलाई गुनासोको कुनै औचित्य देखिएन । भगवान् ! तैँले सबैको विश्वास जित्न सफल भएको छस् । म बबुरो चाहिँ तेरो दासभन्दा बाहिरको कसरी हुन सकेँ र ?
भगवान् ! जुन काममा हात हालेँ, ती सबै काम छिन्नभिन्न भएँ । एउटा पनि काम बनेन । त्यसको दोषी तँलाई नै ठानेर मेरो कन्पारो तातेको हो । अर्कातिर भनेजस्तो द्रुतगतिमा बिमार विसेक नभएको र दाहिने हात–पाउ काटेर झुण्ड्याएको जस्तो नालायक भएकोले विरक्त भएको हुँ । जसो गरे पनि अनिष्ट मात्र हुने कहिल्यै फलिफाब देखा नपर्ने गरेकाले मनको विष बमन मात्र गरेको हुँ ।
विज्ञानले पनि तेरो अस्तित्वलाई सप्रमाण अस्विकार गर्न पनि सकेको छैन । यद्यपि अस्तित्वलाई सप्रमाण स्विकार गर्न पनि सकेको छैन । तेरो बास ढुङ्गा र बालुवाको महलमा छैन, मानिसको विश्वासमा भने जिउँदै छ । यस कुरामा भने म पनि पूर्ण विश्वस्त छु । भगवान् ! तँलाई खोज्न संसार जुटेको छ । कोही आस्थाले खोज्छन्, कोही अनास्थाले खोज्छन् । जसले जसरी खोजे पनि हातमा शून्य लिएर फर्केका छन् । आस्था हुनेहरू त्यही शून्यतालाई अनमोल प्राप्ति ठान्छन् र सन्तोषले आनन्दित हुन्छन् । अनास्था हुनेहरू शून्यतालाई अप्राप्ति ठानी तिरस्कार गर्छन् र असन्तोषले जलिरहन्छन् ।
भगवान् ! मनको कलुषित भावना लुकाएर तँलाई ‘तिमी, तपार्इं, हजुर’ भनी दासत्व झल्कने भाषा नबोलेको हुँ । आफ्नो ठानेपछि मान–मर्यादाको आडम्बरमा फँस्नु जरुरी ठानिनँ । शरणमा परेकाहरूलाई सबै अपराध माफ गरी पूर्ववत् संसारमा फर्कादिए तेरो महल ढल्दैनथ्यो । मैले यहाँ जे भने पनि अन्तिम सहरा भए तँ नै होस्, बेसहरा भए पनि तँ नै होस् । मोहम्मद रफीका मुखराविन्दबाट निस्केका यिनै हरफ गुनगुनाउँदै चित्त बुझाउने कोशिस गर्छु–
सुखके सब साथी दुःखमे ना कोई
मेरे राम मेरे राम तेरा नाम
एक सच्चा तुँ जा ना कोई ।

२०७४ फाल्गुन १ गते, महाशिवरात्री
–श्री जनता मावि, गोलबजार–४, सिरहा ।
बेलका नगरपालिका–२, गल्फडिया, उदयपुर ।
मो.नं. ९८४२८२९२०६

Online Saptari
Online Saptari

About The Author