राजविराज गुदडी हाटको मौलिकता नबिगार्न व्यवसायीहरुको आग्रह

राजविराज गुदडी हाटको मौलिकता नबिगार्न व्यवसायीहरुको आग्रह
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ फागुन । राजविराज हटियाका व्यपारी–व्यवसायीहरुले विभिन्न माग राख्दै शुक्रवार नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलाई सुझावसहितको ज्ञापन–पत्र बुझाएका छन् ।
स्थानीय लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा आयोजित सर्वपक्षीय भेलामा उनलाई ज्ञापन–पत्र बुझाईएको हो । राजविराज गुदडी हाट र राजविराज नगरको प्रादुर्भाव सँगसँगै भएको भन्दै राजविराज गुदडी हाटको ऐतिहासिकता तथा यसको मूल स्वरूपमाथि आघात पार्ने गरी कुनै काम नगर्न आग्रह गरेको छ । कोशीको कहरका कारण विस्थापित सप्तरी जिल्लाको सदरमुकाम वि.सं. १९९८ मा राजविराज कायम गर्दा निर्माण गरिएको नगरको डिजाइन, गुदडी हाट तथा प्लटको संरचना र गुदडी मैदानको खिलाप हटिया क्षेत्रमा कुनै पनि आयोजना निर्माण गर्न नसकिने भन्दै प्टलवाला तथा हाटवालको ऐतिहासिक योगदानको अपमान हुने कुनै पनि काम गर्न नमिल्ने ज्ञापन–पत्रमा उल्लेख छ ।
वि.सं. २०१६ मा नगरपालिका बोर्ड गठन भएपछि हटिया क्षेत्रभित्र खुल्ला पसल गर्नकालागि बनाइएको खुला शेडहरूलाई बन्द शेडको रूपमा परिणत गरिएको अवस्थालाई हटाई हाट बजारको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । राजविराज पुनरावेदन अदालतले खुला भनी निर्माण गरिएको शेडहरूलाई खुला राख्ने व्यवस्था गर्नु र मैदान भनी खाली राखिएको हटिया क्षेत्रमा नया शेड बनाई मैदानको अस्तित्व समाप्त नपार्नु भनी दिएको आदेशको खिलाप नगरपालिका कार्यालय जान नमिल्ने भन्दै २०४५ सालको राजविराज नगर सभाले गुदडी हाटको प्लटसम्बन्धमा गरेको निर्णयको खिलाप वर्तमान नगरपालिका जान नसकिने भनिएको छ ।
राजविराज पुनरावेदन अदालतले २०५२ सालमा गुदडी हाटको प्लटको सम्बन्धमा राजविराज नगरपालिका कार्यालयको बिना अनुमति शेडसम्बन्धी पुनरावेदन, प्लटवाला शिव नारायण साहको परमादेश तथा निषेधाज्ञासम्बन्धी रिटमाथि राजविराज नगरपालिकाले शेड भत्काउने भनी गरेको निर्णय बदर ठहराई गरेको फैसला विपरीत वर्तमान राजविराज नगरपालिका कार्यालय जान नमिल्ने हटियावासीको धारणा छ । वातावरण संरक्षण ऐन र नियमले ठूला आयोजना निर्माण गर्नु पर्दा सो आयोजनाबाट पर्नसक्ने वातावरणीय असरसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकारको मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान विपरीत नगरपालिका कार्यालयले हठात कुनै आयोजना तर्जूमा गर्न नमिल्ने उनीहरुको भनाइ छ ।
माछा हाटको विचल्ली, बधशाला अभाव, ढल निकास, फोहरमेला अव्यवस्थित रहेको गुदडी हाटका यस्ता अनेक समस्याहरूको समाधानमाथि जोड दिँदै गुदडीहाटलाई हाट बजारकै स्वरूपमा सुन्दर र व्यवस्थित बनाउने र हालको १६ वटा वडाको नगरपालिका क्षेत्रमा हाट बजार क्षेत्रको पहिचान, अध्ययन तथा आयोजना तर्जुमा गरी समग्रराजविराजको हाट बजारको व्यवस्थापन गर्ने नीति, कानुन, मापदण्ड नबनाई नगरपालिकाले हालको अन्यायमेलग्रस्त गिलेशन बनाउन नपाईने भनिएको छ । राजविराज नगरपालिकाको भर्खरै सम्पन्न नगर सभाले ‘राजविराज नगरपालिका’ अन्तर्गत पसलहरूको अध्ययन गराई मर्मत सम्भार तथा घरबहाल व्यवस्थापनका लागि अध्ययन कार्यदल (टोली) गठन गरी आवश्यक सुधारका कार्यहरू अविलम्ब गरिने भनी निर्णय गरेको स्मरण गराउँदै नगरपालिका बोर्ड वा कार्यालयले नगरसभाको उक्त निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा नगर सभाबाट पारित नै नभएको गुदडी हाटलाई कारागारमा परिणत गर्ने कोलोनी बनाउने किसिमको आयोजना निर्माण गर्न नपाईने हटियाबासीको सुझाव छ । राजविराज नगरपालिकाले सर्वप्रथम हाट बजार व्यवस्थापन गर्न अध्ययन अनुसन्धान गरी नीति, कानून, मापदण्ड बनाउनुपर्ने र उक्त कार्यमा आफुहरुलाई सामेल गराउनुपर्ने तथा त्यस्तो नीति, कानून र मापदण्ड नगर सभाबाट पारित गराई विधि बमोजिम कार्य गर्नुपर्ने हटियावासीको भनाइ छ ।
शुक्रवार आयोजित छलफलमा नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, पूर्व मेयरहरु अनिस अन्सारी, शैलेश कुमार चौधरी, जगरनाथ दास, पूर्व सांसद रञ्जु ठाकुर, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेकपा एमालेका सुखराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, व्यापारी, व्यवसायीसहित विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुको विशेष उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author