Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

के अपाङ्गको कुनै देश हुन्छ ?

के अपाङ्गको कुनै देश हुन्छ ?

–नन्दलाल आचार्य
जताततै रक्तचापका कारणले मानिसहरू अपाङ्ग हुने, अशक्त बन्ने र कसैकसैले धर्ती नै छाड्ने घटना घटिरहेको परिप्रेक्ष्यमा म पनि गत कार्तिक महिनाको प्रारम्भदेखि नै त्यसको शिकार भएँ । यस्तो बेलामा आफन्तको सेवा र ममताको अति आवश्यकता पर्छ भन्ने सुनियो । आफ्नो गाउँ–ठाउँमा बस्न सके मनलाई शान्तवना दिन र बिमारसँग लड्ने क्षमता बढ्छ भन्ने कुरा पनि बुझ्न पाइयो ।
२०४८ सालदेखि घर छाडेर बाहिरफेरो नै पढ्ने र नोकरी गर्ने गरेको मलाई आफ्नै गाउँ–ठाउँको सेवामा जुट्ने अवसर प्राप्त भएको ठान्न पुगेँ । त्यसैले आफूलाई सुविधा हुने विद्यालय खोजी गर्न थालेँ । २०÷२५ कि.मि. को अन्तरमा ५÷५ वटा विद्यालयमा मा.वि. तहमा नेपाली विषयको स्थायी दरबन्दी खाली भएको पाएँ । त्यहाँबाट मेरो थातथलो उदयपुर नजिक थियो । करिब–करिब ती विद्यालय पनि मेरै गाउँलेको सेवाक्षेत्रभित्र पर्थे । कतै न कतै सरुवा पाइने भयो, वुढेसकालमा बुबाआमालाई सन्तोष दिने परियो र आफू पनि आफन्तहरूकै माया–ममतामा रमाउन पाइयो भनेर मन हर्षले पुलकित भयो ।
आफू पढेकै विद्यालयका प्रधानाध्यापक पनि उच्च रक्तचापका कारण भगवान्को घर गएको खबर सुन्न पाएँ । कुरा दुःखद थियो यद्यपि दरबन्दी भने रिक्त भयो । म पनि त्यही विमारको शिकार भएकाले त्यताबाट पनि सहानुभूति पाउने निश्चित थियो । कतै नभए आफ्नै गाउँ–ठाउँमा अवश्य देलान् भन्ने कुरामा आशावादी थिएँ ।
विगत केही वर्षदेखि शिक्षा सेवा आयोगमा शिक्षकको रिक्त स्थानको विवरण पठाउँदै नपठाएका कारण जताततै सिट खाली थिए । शिक्षण र लेखन क्षेत्रमा अढाई दशक सप्तरीलाई कार्यक्षेत्र बनाएर इतिहास बनाएको हुनाले मलाई नचिन्ने र नबुझ्ने कोही थिएनन् । म दाहिने हात लत्रङ्ग पार्दै र दाहिने खुट्टो खोच्याउँदै पद रिक्त रहेका पाँचै विद्यालय पुगेँ । त्यहाँ सबैले सुहानुभूति प्रकट गरे । तपाईंलाई सरुवा भई आउन भरमग्दुर सहयोग गर्नेछौँ, हामी हाम्रो तर्पmबाट कुनै कसर राख्ने छैनौँ समेत भने । सबैतिर निवेदन दिएँ र शरणमा परेको छु भनी नम्र भाव जाहेर समेत गरेँ । जसले पहिले बोलाउँछ, त्यसकहाँ नै काम गर्छु भन्ने सोच बनाएँ । अब भने मेरो मनमा कुनै शङ्का रहेन ।
समय वित्दै गयो । म तिनै विद्यालयका विभिन्न व्यक्तिहरूको फोन सम्पर्कमा निरन्त रहेँ । उनीहरू भन्थे–‘हजुरजस्तो कुशल शिक्षक पाउन गाह्रो छ । हामी आपसमा छलफल गरी सहमति जुटाउने काममा सरिक छौँ । विद्यालय व्यवस्थापन समितिलाई मात्र नभई स्थानीय निकायलाई पनि रिझाएर काम गर्नुपर्छ । समय त लाग्छ । नहडबढाइकन ढुक्क भएर बस्दा हुन्छ ।’
कसैकसैले मलाई अरू विद्यालय जानु्होला भनेर खबरदारी समेत गरे । म पनि जहाँको विद्यालयले पहिले सहमति दिन्छ, मेरो सेवा त्यही हुने छ भनेर जवाफ फर्काउँथेँ । अन्य परिचित साथीहरूले आगमनको लागि स्वागत र शुभकामना पनि दिएका थिए । आफ्नै वरपर आफ्ना सयौँ हितैषी शुभचिन्तक पाउँदा मैले आफ्नो शरीरमा भएको अशक्तपन भुल्नपुगेको थिएँ ।
करिब डेढ महिना वितेपछिका फोन वार्तामा शङ्कास्पद कुराहरू आउन थाले । एउटाले अन्यथा भनेर के भो अर्कोमा खाली छँदै छ नि भनेर चित्त बुझाउँदो भएँ । हुँदाहुदै सबै विद्यालयबाट एकै किसिमको जवाफ आयो । निकै दिन किंकर्तव्यविमुढ भई टोहोलाई रहे । एकान्त भेट्यो कि तिनै कुरा सम्झन पुग्थेँ ।
एउटा बोली– ‘बोर्डिङ स्कुलमा नाम कमाएर के गर्नु, सरकारी स्कूलको लागि अनुभव जिरो छ । बोर्डिङ स्कुलको डिक्टेटरसिप सरकारीमा चल्ने हैन । यहाँ शिक्षण सीप हैन, सबैलाई रिझाउने सीप चाहिन्छ । कहिले काहीँ नझुक्नुपर्ने ठाउँमा पनि झुक्नुपर्छ । नभुक्नु पर्ने ठाउँमा पनि भुक्नुपर्छ । तपाईं न झुक्न जान्नुहुन्छ, न भुक्न नै जान्न्ुहुन्छ । तसर्थ तपाईंको नाममा सहमति जुटाउन गाह्रो परिरहेछ ।’
अर्को बोली– ‘विनापैसा कसैको कलम उठ्दैन । पैसाले तताउन र सोमरसले नुहाइदिन जसले सक्यो, उसैले बाजी जित्छ । तपाईं न तताउन चाहनुहुन्छ न नुहाइदिन सक्नुहुन्छ । तसर्थ तपाईंको सरुवा मरिकाट्टे हुन सक्दैन ।’
तेस्रो बोली– ‘न सोर्स छ न फोर्स छ, कसरी काम बन्छ ? कि राजनैतिक झण्डा उचाल्ने काम हुनुपर्छ कि बेलामा नेताको झोला बोकेको हुनुपर्छ । हैन भने माथि नै आफ्ना मान्छे रहनुपर्छ अनि मात्र भनेको काम सजिलै हुन्छ । तपाईंले न उचाल्ने काम गर्नुभएको छ, न माथि नै आफ्ना मान्छे राख्ने गर्नुभएको छ । तसर्थ बरू चन्द्रमा खस्ला तर तपाईंको काम बन्दैन ।’
अर्को बोली– ‘कार्यरत् अल्छीका राजा हुन्छन्, जागिरले उग्राएका हुन्छन् । करार सूची वा फ्रेस क्यान्डिडेट होसियार, जाँगरिला र जागिरका भोका हुन्छन् । तिनै भोकले छटपटाएकाहरू अरूलाई खुवाएर अर्थात् खुशी तुल्याएर काम गर्छन् । जे कुरामा पनि कार्यरतहरू विधिको शासन खोज्छन्, दया–मायाले हैन प्रशासन नियमले चल्नुपर्छ भनेर उफ्रन्छन् । उनीहरू सत्य बोल्छन् र असत्यको धरोहर ढाल्न सक्छन् । जस्तोसुकै परिस्थितिमा पनि सत्यको धरोहर अङ्गाल्ने मान्छे भनेर तपाईं पनि चिनिनु हँुदो रहेछ । तसर्थ तपाईंलाई विद्यालय भित्र्याउने सम्बन्धमा बहु्मत आउन सकेन ।’
नजिकको विद्यालयबाट जवाफ आयो– ‘मान्छे तपाईं त अमृत नै हुनुहुन्छ । स्वस्थ छँदा नर्सरीदेखि एम.एडसम्म पढाउनु हुन्थ्यो भन्ने हामीलाई थाहा छ । यद्यपि अहिले तपाईं न राम्ररी बोल्न सक्नुहुन्छ, न सभ्य तरिकाले हिँडडुल गर्न नै सक्नुहुन्छ । एक्कासी तपाईंलाई देखे र भेटे भने स–साना विद्यार्थीहरू सर हैन बहुलाहा हो भनेर तर्सन्छन् । किनभने तपाईं नयाँ शिक्षक हुनुहुन्छ । नयाँ ठाउँको नयाँ मान्छे भएकाले र अपाङ्ग समेत रहेकाले तपाईलाईं सबैले हलुका नै मान्दछन् । तसर्थ नआउँदा नै तपाईंको जित हुन्छ । अर्कातिर अहिले हाम्रो विद्यालय अपाङ्ग मास्टर पाल्न सक्ने अवस्थामा पनि छैन र अपाङ्गमैत्री पनि छैन । तपाईंको यस असक्षताले गर्दा हाम्रा विद्यार्थीहरूले तपाईंलाई अस्विकार गर्ने भएकाले हामीले तपाईंलाई नबोलाएका हौँ ।
विद्यार्थीको जीवनसित खेलबाड गर्ने आँट गर्न सकिएन । जानिजानी हामीले तपाईंलाई ठाउँ दिएर विद्यार्थीको भविष्य बर्बाद पार्नु भएन । तपाईंलाई अशक्त भएर हेपेको हैन, हाम्रो प्रदेशमा सक्षम शिक्षकलाई मात्र सरुवा सहमति दिइन्छ । जहाँ असक्षम भयो, त्यसले त्यहीँ रहनुपर्छ ।’
अपाङ्गलाई यात्राको सकस, जागिरको असहजिलोपन भोग्न पाउँदा हैरान छु । अपाङ्गमैत्री वातावरण नहुँदा पाइलापाइलामा पीडा भोग्दै छु ।सार्वजनिक यातायातमा कतै आरक्षित सिट भेटिन्न । छिमेकी मुलुक तिर वृद्धवृद्धा, अपाङ्ग एवं बालबालिकाका लागि सुरक्षित सिट राख्ने चलन छ । हामीकहाँ संस्कारै छैन । कि यिनीहरूको छुट्टै देश छ ?
सबैतिरबाट आएका यस्ता लोभका, लालच, कुनीति र आडम्भरका असामाजिक कुराहरूले हृदय बेस्कन घोचिरहेछ । घरिघरी तिनीहरूको पाखण्डी मनमा आफ्ना लागि रत्तिभर सहानुभुति नहँुदा मान्छेको जातलाई नै सराप्न मन लाग्छ । मान्छे भई जन्मिएकोमा आफैँलाई सक्तो धिकार्न मन लाग्छ । घरिघरी भने आफू दुःखी भईकन पनि अझै धर्ती हेर्न र समाज सिंगार्न पाएकोमा परमात्मालाई सलाम ठोक्न मन लाग्छ । साथै, बालकृष्ण समका दुई हरफ दोहो¥याउँदै चित्त बुझाउन मन लाग्छ–
दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर ! कृपा गरी मलाई अझ दुःख दे !

–शिक्षक, श्री जनता मावि, गोलबजार–४, सिरहा ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।