राजनीतिक दलहरुको सांसद सूचीमा यस्ता छन् मधेशी अनुहार

राजनीतिक दलहरुको सांसद सूचीमा यस्ता छन् मधेशी अनुहार
Sinha Tempo

राजविराज, २९ माघ ।संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपालसहितका पार्टीहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको अन्तिम नामावली चयन गरेको छ ।
संघीय समाजवादी फोरम नेपालले एक पुरुषसहित पाँच जना महिलाको नामावली चयन गरेको हो । फोरमले प्रतिनिधि सदस्यमा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्माको नाम चयन गरेको छ ।
यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिक तर्फबाट कुल ६ सीटमा राजपाबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी, खस आर्य महिलातर्फ निर्जला राउत, दलित महिलातर्फ दुलारीदेवी खंग, मधेशी महिलातर्फ चन्दा चौधरी र मुस्लिम महिलातर्फ चुन्नी खातुन(सोनिया)को नाम चयन भएको छ ।
यसैगरी नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ ४१ सीटमध्ये ६ जना मधेशी अनुहार चयन भएका छन् । मधेशी पुरुषतर्फ मोतीलाल दुगड मात्र परेका छन् । यसैगरी जुली कुमारी महतो, पुष्पा कुमारी कर्ण, सरला कुमारी यादव, रेखा कुमारी झा र सरिता कुमारी गिरीको नाम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा परेका छन् ।
यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फ ४० जनाको नाम चयन गरी निर्वाचन आयोगमा बुझाएको छ । मधेसी समुदायबाट उद्योगी विनोद चौधरी, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय भएका छन् । महिलातर्फ पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पार्टीका पूर्व कोषाध्यक्ष चित्रलेखा यादव र मीनाक्षी झाको नाम परेको छ ।
थारु समुदायबाट पद्मनारायण चौधरी, पार्वती डिसी चौधरी र नमिताकुमारी चौधरीको नाम परेको छ । मुस्लिम समुदायबाट अत्तहर कमाल मुसलमान र महिलातर्फ सर्वत आरा खानको नाम प्रतिनिधि सभा सदस्यमा चयन गरी पार्टीले आयोग समक्ष सूची बुझाएको छ ।

Online Saptari
Online Saptari

About The Author