राजविराज, २८ माघ । जिल्ला वन कार्यालयले वद्नियतपूर्वक वडाध्यक्षमाथि मुद्दा चलाएको भन्दै शम्भुनाथ नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।
नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरीले आईतवार राजविराजमा पत्रकार सम्मेलन गर्दै वन कार्यालयले आधारहिन तवरले आफ्नो वडाध्यक्षलाई दुःख तथा मानसिक दवाव सिर्जना गर्ने नियतले मुद्दा प्रकृया अघि बढाएको विषयमा खेद प्रकट गरेका छन् । नगरपालिका क्षेत्रभित्र रहेको रुख विरुवाको संरक्षण सम्वद्र्धन गर्न नगरपालिका तयार रहेको भन्दै जिल्ला वन कार्यालयले गरिरहेको मनोमानीपूर्वक गतिविधिलाई नरोके नगरपालिकाका चुप लागेर नबस्ने तथा गतिविधि विरुद्ध हुन सक्ने परिणामको जिम्मेवार स्वयम वन कार्यालय नै हुने चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा नगरपालिकाले दिएको विज्ञप्तिअनुसार नगरपालिका क्षेत्रभित्र रहेका पूर्व पश्चिम राजमार्ग सडक किनारका शिशौको रुख काटेको भनि वडा नम्वर १ का वडाध्यक्ष ईन्द्रदेव साह विरुद्ध सडक डिभिजन कार्यालय लहानका नायव सुब्बा सत्यनारायण चौधरीले किटानी जाहेरी गरेकोमा माघ २ गते फिर्ता भईरहेको छ । यद्यपी, शम्भुनाथ रेञ्ज पोष्ट रुपनीले फिर्ता जाहेरी दर्ता गराउन आलटाल गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा तत्काल उक्त गतिविधि रोकी वार्ता र छलफलबाट समस्या समाधान गर्न जिल्ला वन कार्यालयलाई अनुरोध समेत गरिएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्ग, वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रदेव साह लगायतको उपस्थिति थियो ।