• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज हटियाको व्यवस्थापन होस्

राजविराज नगरपालिका हालको वडा नं. ७ स्थित हटियामा अहिले नगरपालिकाले व्यापारिक प्रयोजनकालागि भवन निर्माणको योजना अघि सारेको छ ।
यसै प्रयोजनकालागि नगरपालिकाले १५ दिन भित्र हटियामा राखिएका पसल खालि गराउनकालागि सूचना समेत जारी गरेपछि त्यहाँ दसकौंदेखि पसल गर्दै आएका व्यापारीहरु आफूहरुको उठिबास पो हुने हो कि भन्ने आशंका वीच चिन्तामग्न समेत भएका छन् ।
नगरपालिकाले विकासीय कामलाई अघि बढाउँछ भने त्यो निश्चय पनि स्वागत योग्य विषय हो र यसकालागि सबै नगरबासी जनताले पनि आआफ्नो क्षेत्रबाट सहयोग गर्नै पर्ने हुन्छ । विगतदेखि नै नगरको प्रमुख व्यापारिक स्थलका रुपमा चिनिएको हटिया क्षेत्र क्रमशः अतिक्रमणको चपेटामा पर्दै आएको कुरा सबैले महशुस गरेकै विषय हो ।
अतिक्रमण भएलगत्तै त्यसलाई हटाउनेतिर ध्यान दिन नसक्दा हटियामा सर्वसाधारणलाई आवागमनमा समेत समस्या व्यहोर्नु पर्ने स्थिति थियो । अहिले ढिलै भएपनि नगरपालिकाले व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसरी नयाँ भवन निर्माण भएपछि पहिलेदेखि त्यहाँ व्यवसाय गर्दै आएका व्यापारीहरुलाई नै प्राथमिकताकासाथ पुनस्र्थापना गरियो भने मात्र उनीहरुप्रति न्याय हुनेछ ।
अहिले व्यापारीहरुको चिन्ता भनेको एक पटक हटियाबाट आफूहरुलाई हटाईएपछि भवन तयार भएपछि अरुलाई नै बसाएर आफूहरुलाई कतै बञ्चित पो गरिने हो कि भन्ने नै हो । त्यसैले संघर्ष समिति गठन गर्दै ज्ञापनपत्र समेत बुझाईसकेका व्यापारीहरुसित आवश्यक छलफल पश्चात मात्र निर्माण कार्य अघि बढाउनु उचित हुने छ भन्नु अन्यथा हुने छैन ।
विगतमा पनि नगरपालिकाले व्यापारिक प्रयोजनकालागि भन्दै गिलेशनको निर्माण त नगरेको होईन । तर,गिलेशन भाडामा दिंदा पसलै नखोल्ने व्यक्ति,नगरपालिकाकै कतिपय कर्मचारीकै मिलेमतोमा उनीहरुका आफन्तका नाममा समेत कोठा दिईएका कारणले वास्तविक व्यापारीले चाहिँ कोठा नपाएको भन्ने गुनासो समेत नउठेको होईन ।
एउटाको नाममा गिलेशनको कोठा भाडामा दिने अनि उसले अर्कोलाई वढी रकममा भाडा लगाएर कमाउने नियत राख्ने हो भने यसबाट विचौलिया मात्र मोटाउने शिवाय अरु केही हुने वाला छैन । यसले न नगरपालिकालाई फाईदा हुने हो न त वास्तविक व्यापारीले नै सहुलियत पाउने हो । आगामी दिनमा यस्तो नहोस् भन्नेतिर नगरपालिका नेतृत्वले ध्यान दिनु पर्ने आवश्यकता छ । यसका साथै विगतमा गैर व्यापारीका नाममा गिलेशनका कोठा बुक भएका रहेछन् भने पनि ती कोठाहरु वास्तविक व्यापारीलाई उचित भाडा दरमा दिने तिर पहल थाल्नु जरुरी देखिन्छ । हटियामा वास्तविक व्यापारीले नै व्यवसाय सञ्चालनको प्राथमिकता पाउनु पर्दछ । यस्तो विषयमा नातागोता, करकुटुम्भको साईनोलाई आधार बनाईन्छ यदि भने त्यो सर्बथा अनुचित हुनेछ ।