• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘सलहेस’ फिल्मकालागि अडिसनबाट कलाकार छानिदै

‘सलहेस’ फिल्मकालागि अडिसनबाट कलाकार छानिदै

राजविराज, २४ माघ । फिल्म निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउने गर्छन् । कमैले मात्र क्यारेक्टर अनुसार एक्टर खोज्छन् । तर एक हजार पाँच सय वर्षअघिको ऐतिहासिक कथामा बन्न लागेको फिल्म ‘सलहेसः द पिपुल्स हिरो’ले क्यारेक्टर अनुसार कलाकार छनौट गर्ने भएको छ ।
मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन आव्हन गरिएको छ । फिल्ममा रहने सलहेसः राजा जयवर्दन शैलेश, मन्दोदरी, भैरव भुपाल, मोतीराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरुसहित दर्जनौँ सपोर्टिङ रोल पनि अडिसनबाटै छनौट गरिने फिल्मका निर्देशक अमितेश शाहले जानकारी दिएका छन् । ‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकोले आफुहरुले क्यारेक्टर सुहाउँदा कलाकार छनौट गर्ने, चलेकै कलाकार राख्दा पनि क्यारेक्टर अनुसार अडिसन गराएरै चयन गरिने निर्देशक शाहले जानकारी दिएका छन् ।
कलाकारितामा रुची भएका जो कोहीले एक महिनाभित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए । आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेईजिङ्गसम्म पुग्ने लक्ष्य रहेको उनले जानकारी दिएका छन् । अडिसनमा सहभागी हुन चाहनेले फिल्मको अफिसियल फेसबुक पेज, वेभसाइट या जिमेलमार्फत फर्म भर्न सक्नेछन् । देशका विभिन्न स्थानमा फर्म उपलब्धताको व्यवस्था समेत गरिएको निर्माता महतोले जानकारी दिए । ‘यो प्रतिभा भएका तर अवसर नपाएकाहरुका लागि कलाकार बन्ने सुनौलो अवसर पनि हो,’ अडिसनमा सहभागी हुन उनले नयाँ कलाकारलाई आग्रह गरेका छन् ।
भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन् । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले भने ।
फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्डसमेत जितेको थियो ।
करिब पाँच करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । ‘स्क्रिप्ट र रिसर्चका केही कामहरु बाँकी रहेकाले निर्माण घोषण भएको करिब एक वर्षपछि हामी अडिसनमा जाँदैछौं,’ निर्देशक शाहले भने, ‘अब काम द्रुतगतीमा हुन्छ, कलाकार छनौट हुने वित्तिकै वर्कशप गर्छौ त्यसपछि सुटिङमा जानेछौँ ।’
मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ‘उनको वास्तविक नाम भने राजा जयवद्र्धन शैलेश थियो’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने ‘यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न पुराणका यशस्वी राजर्षि नै हुन् ।’ उनी त्यतिबेला राजाभए पनि लोककल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ ।’
निर्देशक शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताए । ‘फिल्मको कास्टिङ्ग, कसट्यूम, गहना, शृंगार, सेट, लोकेसन, संगीत हरेक पक्षमा विस्तृतमा काम गर्नु र कथालाई न्याय गर्नु आफैमा चुनौतिपूर्ण छ,’ उनले भने, ‘कुनै पक्षमा कमी रहन नदिने गरी काम गर्ने प्रयास गर्नेछु । आशा छ यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले थप स्तरीयता महसुस गर्नेछ ।’
सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा सलहेसको नाममा राखिएको ‘सलहेस फुलबारी’ छ । ’हरेक वर्ष नेपाली नयाँ वर्षको पहिलो दिन यो फूलबारीमा फूल फूल्ने गर्छ,’ निर्माता महतोले भने, ’फूलबारीमा पूजा गर्न आउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो फूलबारीमा राजा सलहेस फूल टिप्ने जान्थे भन्ने किवंदन्ती छ ।
सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन् र त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फूल फूल्ने गरेको विश्वास गरिन्छ । हरेक वर्षको वैशाख १ गते त्यहाँ ठूलो मेला लाग्ने गर्छ, जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन् ।
फिल्ममा भिएफएक्स अनुपम शाह, कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलङ्गिया र पटकथा निर्देशक शाहकै रहनेछ । सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र ईश्वर दाहालको गीत रहनेछ । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए ।