• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

डा. सीके राउतलाई सप्तरीका युवा गजेन्द्र गजुरको खुला प्रेमपत्र

डा. सीके राउतलाई सप्तरीका युवा गजेन्द्र गजुरको खुला प्रेमपत्र

प्रिय वैज्ञानिक डा.राउत ज्यू,

नमस्कार,
महोदय, मातृभूमी, मातृभाषा र पहिचान प्रतिको स्नेह र जिम्मेवारी स्वीकार गर्दै केही पाइलाहरु चाल्न थालेको एउटा नव युवकले तपाईंसितको प्रेमको कारण यो प्रेमपत्र लेख्दै छु । यसलाई भावनात्मक भन्दा पनि वास्तविकताको धरातलमा लेखेको बुझ्नुहोला ।

यहाँले लेख्नुभएका ग्रन्थहरु मैले कैयौं पटक पढेको छु । तपाईको पुस्तकहरूबाट मैले मेरो मातृभूमिको बारेमा धेरै कुरा थाहा पाएँ । तपाईलाइ त मैले मेरो कल्पनाको ‘भगिरथ’ नै बनाएको थिएँ । तपाईको शब्दहरूले मभित्र पहिचान बोध अनौठो भाव सिर्जना गर्यो र मैले आफ्नो वास्तविक पहिचान थाहा पनि पाएँ । तपाईप्रतिको कृतज्ञता र समर्पण नै थियो, मैले मेरो व्यक्तिगत डायरीमा तपाईंको फोटो झुन्ड्याएको थिएँ र तपाईंको एउटा अटोग्राफकोलागि परीक्षा छोडेर सभा स्थल सम्म पुगें ।
मेरो अहोभाग्य, तपाईंको अटोग्राफ पाएँ पनि । सायद त्यहि बेलादेखि म तपाईंको प्रेममा परेको हुनुपर्छ । एउटा युवायुवती बीचको आकर्षण भन्दा पनि कयौं गुणा गहिरो प्रेम थियो मेरो । मैले अहिलेसम्म सर्वाधिक अध्ययन गरेको पुस्तक नै तपाईको आत्मकथा हो । डा. राउतजी, यो सत्य हो कि धेरै युवाले तपाईलाइ आफ्नो आइडल मान्छन् । यो पनि सत्य हो कि त्यस समूहमा कुनै बेला म पनि पर्थें ।
अब कुरा लेख्छु वर्तमानको ! म फेसबुकमा तपाईंको फलोवर पनि हुँ । तपाईंका हरेक पोष्ट पढ्नु दिनचर्या हो मेरो । त्यही क्रममा जनवरी २२ देखि तपाईले लेख्दै आउनुभएका पोष्टहरू पढ्दै गएपछि मन सम्हाल्न नसकेर म तपाईंलाइ प्रेमपत्र लेख्न बाध्य भएको हुँ ।
सन् २०१० मा लिखित दस्तावेज(आत्मकथा) पक्कै झुटो नहोला । मैले पढ्दा मलाई झुटो जस्तो लाग्दैन पनि । तपाईंकै आत्मकथाका केही लाइनहरू यहाँ ल्याएको छु ।
१. मैले मैथिलीमा भाषण गरेको र आफ्नो मातृभाषाको लागि जूनून त ममा पछि मात्रै पैदा भएको थियो ।
२.साहित्यमा निकै श्रेष्ठ मानिने आफ्नो मातृभाषाको एक पाना पनि पढ्ने अवसर पाएको थिइन ।
३.हामी धोती कुर्ता र पगडी लाउछौ ।
४.बुवा अक्सर विद्यापतिको गीत गाउनुहुन्थ्यो । म पनि सिक्न चाहन्थें ।
५.आमा र दिदीले मलाइ हाम्रो पर्व( तिहार, लोक गीत वारेमा ज्ञान दिनु भयो। ६( मैले मिथिला कला कोहबरको प्रेजेन्टेसन गरेको थिएँ ।

तपाईको यी भनाइहरूले हाम्रो मातृभाषा कति धनी छ भन्ने कुरा र तपाइमा आफ्नो मातृभाषा प्रति कति माया छ भन्ने प्रष्ट हुन्छ।
मानिसहरु भन्छन् सीके राउत व्यक्ति मात्रै हैन बिचार हुन् । तर विगत केही दिन यता सीके राउत पनि बदलिएको र विचार पनि बदलिएको स्पष्टिकरण तपाइले आफैं दिँदै हुनुहुन्छ । म जस्तो तपाइको प्रेमीले भने तपाइको देखेको बदलाव यति मात्र छ कि हिजो तपाईलाइ आफ्नो मातृभाषा मैथिलीप्रति गर्व थियो र आज मैथिली मेरो मातृभाषा होइन भन्दै हुनुहुन्छ । बदलाव यति मात्र छ कि हिजो जुन भाषाप्रति तपाईमा जूनून थियो, आज त्यसलाइ तपाई बचपनाको नाम दिँदै हुनुहुन्छ ।
हिजो आफ्नो आत्मकथामा जे जे लेख्नुभयो, आज त्यो सबै भुलवश लेखिएको भन्दै हुनुहुन्छ । तपाईमा आएको बदलाव पछि तपाईंले नै लेख्नुभएका पोस्टहरूको वाक्य यसप्रकार छन्ः
१ ‘छुवाछुतका भाषा, जातिय भाषा है मैथिली (सामन्तोका नाजायज गर्भ, बलात्कार हैं जो तुम्हारे पेटमे डाल दिया हैं, २. विद्यापति मैथिलीकी महाकवि नही थें । ३. मधेश पर लादा गया है मिथिला और मैथिली, ४.वर्तमान मधेशमे मिथिला है ही नही (जबरजस्ती पाग पहनाना, तिरहुतिया लिपी लादना, जब मैथिली लोकसेवा होगा तो सारी नौकरी छिन लेगा, केवल ३ प्रतिशत की भाषा है मैथिली’
तपाईले भनेजस्तै मैथिली सामन्तहरूको नाजायज गर्भ र बलात्कारको उपज हो र वर्तमान मधेशमा मिथिला छैन भने कसरी तपाइले आफ्नी आमा र दिदीबाट मिथिला संस्कारका गीत, भजन, चित्रकला आदिको ज्ञान प्राप्त गर्नुभयो ? के सामन्त वर्गले नै तपाईको परिवारलाई सिकाएको थियो? तपाईलाइ मैथिली बोल्न सिकाउने र मैथिली बोल्न लगाउने पनि सामन्त वर्ग नै हो ? तपाईको बुबालाई कुन मैथिल सामन्तले विद्यापतिको गीत गुनगुनाउन भनेका थिए ? मैथिलीको फकडाहरु आमाबाट सुन्दा किन दङ्ग पर्नुहुन्थ्यो? तपाईले नै भन्नुभएको छ कि मधेशको भूमि कुनै साधारण भूमि होइन । यस भूमिले जनक, सीता, बुद्धलाई जन्माएको छ । अहिले भन्दै हुनुहुन्छ मिथिला मधेशमा छैन । फेरि कहाँबाट आए मधेशमा सीता अनि जनक ? मिथिला मधेशमा नभए जनकपुरधाम मधेशमा कसरी छ ? राजा सलहेश, दिनाभद्री, कृष्णाराम आदि मिथिलाका लोक देवता हुन कि होइनन् ? या यिनीहरू पनि सामन्त नै हुन् ? यिनको गाथा कुन भाषामा छन् ? जनस्तरले स्वयम् त्यसको उत्तर दिनेछन् ।
हिजो तपाईमा क्या रूतबा थियो । अहिले तपाईंलाई परिचालित भनिन्छ । तपाइलाई माथिबाट आज्ञा आए जोसुकै माथि तपाइले आक्रमण गर्न सक्नुहुन्छ अरे ! दुःखको कुरो समयले यो सत्य हो भनेर देखाउँदैछ ।

तपाई गोल्ड मेडलिष्ट, भाषामाथि एडभान्स रिसर्च गर्नु भएको छ अरे । र तपाइको रिसर्चले मैथिली सामन्तको भाषा हुन् भन्ने प्रमाणित गरेको छ अरे ! हिजोसम्म हामी गैरसामन्तीहरूको भाषा मैथिली थियो । अब तपाईले भनेपछि मधेशी भाषा भएको छ। तर डा. राउत जी, म जतिको सामान्य मान्छेले बुझेको कुरा त यति हो कि मिथिला क्षेत्रमा बोलिने प्रायस् सबै बोलीहरु मैथिली हुन्। बरू तपाइले मलाई अब यति प्रष्ट पारिदिनुस कि अवधी, थारु, भोजपुरी, मगही आदि झैं तपाइले भनेको मधेशी भाषाको सुचीमा मैथिली पर्छ कि पर्दैन ?
कुरा आयो ठेंठीको । राउतजी, मैले बुझेसम्म ‘अछि, छथिन, छथि, थीक आदि जोड्दा मात्र मैथिली हुने होइन । यौ, छै, हे रौ, हवे, हइ, गे, भ्या गेलै पनि शुद्ध मैथिली हो । खासमा यिनीहरू भनेको ठेंठी मैथिली हो । जहाँ जे ठाउँ अनुसार क्रियापदको प्रयोग हुन्छ, त्यो भाषाको विशेषता हो । म गैरसामन्ती मैथिली भाषीको अर्को प्रश्न तपाईलाई, मैथिली छुवाछुतको भाषा कसरी भयो ? तपाईको परिवारमा मैथिलीमा कुरा हुँदा परिवारले गर्यो छुवाछुत ? या गाउँका मान्छेले मैथिली बोल्ने बित्तिकै छुवाछुत वा कठोरता देखाउन थाल्दथे ? के गाउँका बाँकी मानिसहरू मैथिली बोल्दैनथे ? भाषाले पनि छुवाछुत हुने हो र ? त्यो पनि मधेशमै ? डा. राउतज्यू, हामी मधेशी मधेशमा बोलिने हरेक भाषाको सम्मान गर्छौं । र मैथिली नै पुरै मधेशको भाषा होस् भनेर पनि कसैले भनेको त होइन नि । मैथिली मिथिलाको कामकाजी भाषा हुँदा तपाईलाइ के समस्या ?
डा. राउतज्यू, तपाईका ती मैथिली प्रतिका क्रुर पोस्टहरूमा मेरा कमलसमान कोमल कमेन्टहरूले तपाइलाई किन विचलित बनायो? र आफ्नो फेसबुक पेजमा ब्लक गर्नुभयो। हुन पनि हो, ठूला मानिसको अगाडी सानो जहिले निरिह नै हुन्छ । डा. राउतज्यू, तपाईंको भगिरथी मेहनतबाट खडा गरेको साम्राज्यमा आफ्नै मातृभाषामाथिको आक्रमणले तपाईं आफै कमजोर हुँदै गएको देख्दा सहानुभूति लाग्छ । आखिर कुरा मुटुको न छ । हिजो यही मुटुले तपाईंलाई प्रेम गथ्र्यौ । आज यही मुटु तपाईंको कारणले दुखेको छ ।
तपाइले कुनै एक वर्गलाई मात्र लक्षित गरेको भए गलत होलान् , होलान् । तर तपाइले त समग्र मिथिला र मैथिलीकै अपमान गर्नुभयो । आज मधेशमा मैथिल मैथिलमा फुट डाल्न खोज्नेले भोली अरू क्षेत्रमा यस्तो गर्दैन भन्ने के छ ? वैज्ञानिक राउतज्यू, शिष्टता बिनाको योग्यता बोझ हुन्छ । तपाईले मैथिली भाषाको नाममा मिथिलाकै विभिन्न जातजाति र हिन्दु मुस्लिमलाई लडाउन खोजेको देख्दा मलाई तपाईको गोल्डमेडल बोझ सरह भएको छ । तपाई जातीय राजनीतिमा प्रवेश गरेको देख्दा मैले कुनै दिन तपाईसंग प्रेम भएको थियो भन्ने सम्झेर आफैमा लाज लागेर आउँछ ।
खैर, यसलाई अन्यथा नलिनु होला । विषय र प्रसंग बाहेक अन्य अर्थ लागे क्षमा चाहन्छु। र कुनै व्राह्मण वा सामन्तले चिठ्ठी लेखेको वा लेख्न लगाएको भन्ने भ्रममा नपर्नुहोला । तपाईंको फूटको राजनीति र मैथिली माथिको आक्रमणको विरूद्धमा तपाइको यो पूर्वप्रेमी सँधै उभिरहने छ भन्दै अहिलेलाइ यो पत्र टुँग्याउन चाहन्छु ।
मिथिलाकी शान र मैथिलीको गौरव किशोरीजीसँग तपाईको सु–स्वास्थ्य र प्रगतिको कामना गर्दछु ।

उही तपाईको पूर्वप्रेमी
गजेन्द्र कुमार राय (गजुर)
हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी