• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ऊ कति ठीक कति बेठीक ?
नन्दलाल आचार्य

–नन्दलाल आचार्य

धेरै दिनपछि ऊ कक्षा ९ मा छिर्यो । खोच्याउँदै र लरबराउँदै आएकोमा चिन्ने–जान्नेले ‘कठै’ भने । बुझ्दै नबुझेकाले मादक पदार्थ सेवन गरी कक्षामा पढाउन आएको ठानेँ । सम्मुखमा कसैले केही बोलेनन् यद्यपि एकापसमा कानेखुसी गर्न भने छाडेनन् ।
ऊ माष्टरको जागिर खाइरहेको अधवैँसे हो । ऊ अचेल अल्पकालका निम्ति अपाङ्ग भएको छ । दिनानुदिन बिमार बिसेक हुँदै गए पनि त्यो कछुवा गतिमा छ । त्यसैले ऊ पूर्ण आराम हुन नसकूँला कि भनी शङ्का मानिरहेको छ ।
सधैँ निस्क्रिय जीवन जिउन उसलाई स्विकार्य छैन । त्यसैले तुलसा म्याडमलाई अफिसमै बस्न अनुरोध गर्दै ऊ कक्षा लिन गएको छ । ऊ कक्षामा पसेर जम्ला हात गरी पढाउन नआएकोमा माफी माग्छ । आफू अझै बिरामी अवस्थामै रहेको र सक्रियता बढाउन मात्र कक्षामा पसेको कुरा बताउँछ ।
किताब केन्द्रित शिक्षण म्याडमले नै गर्ने जनाउ दिँदै ऊ आफूले परीधिय कुरा गर्न मात्र चाहेको आफ्नो कुरा राख्छ । विद्यार्थीहरू सुन्दै जान्छन्, ऊ जोसिलो हुँदै जान्छ–हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा ‘आज’लाई नै भुलिन्छ र ‘भोलि’ अन्धकार हुन्छ । ‘आज’लाई पढ्न पाउनेले ‘भोलि’ आफैँ बनाउँछन् । ‘हिजो’मा भुल्दा त हाम्रो वर्तमान युग भताभुङ्ग र लथालिङ्ग भयो । वर्तमान पढाउन सके कसैलाई भविष्यको चिन्ता हुनेछैन । वर्तमान पढेका मान्छेले स्वतः अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । यस्तै शैक्षिक माहोललाई निरन्तरता दिइरहने हो भने अतीतका मानसिक दरिद्रताका पाठहरू घोकाएर वर्तमान नर्कतुल्य पार्नुको विकल्प नै छैन । अतीत स्मृतिमा आधारित हुन्छ, बुद्धि जगाउने शिक्षा वर्तमानमुखी हुन्छ, भविष्यप्रति लक्षित हुन्छ । त्यसैले त अतीतबाट मात्र पाठ सिक्नुपर्छ । हामीलाई अतीतले जन्मायो, अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।
शिक्षाले सिकारुको प्रतिभा प्रस्फुटनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकी अतीतमा सार्वजनिक भइसकेका सूचना र जानकारीहरू सिकारुको मनमा भित्र्याउने काम मात्र गरिरहेको छ । सिकारुभित्रका कुरा बाहिर ल्याउनुको साटो बाहिरका कुरा जबरजस्त भए पनि भित्र घुसाउने शैक्षिक व्यवस्था छ ।
त्यसैले शैक्षिक क्षेत्रको प्रतिफल विद्यार्थीको हितसम्म पुग्न सकेको देखिन्न । विद्यार्थीको प्रतिभा प्रफुटन भन्नु नै उनीहरू भित्र रहेको ज्ञान बाहिर ल्याउनु हो । यसका लागि जिज्ञासु बन्ने वातावरण दिलाउनुपर्छ । विद्यार्थीले आफूभित्रका प्रश्न राख्ने प्लेटफर्म पाउँदा यो सम्भव छ ।
उसले कक्षामा यस्तै–यस्तै कुरा गरेर घण्टी वितायो । अफिस पस्दा केही अभिभावक र केही शिक्षक गफ गर्दै थिए । उनीहरूका निम्ति ऊ नयाँ शिक्षक पनि थियो । नयाँ मान्छेका नयाँ कुरा सुन्ने इरादाले उनीहरूले विविध प्रश्न राख । ऊ जवाफ दिँदै गयो– शैक्षिक परिपाटीमा प्रतिस्पर्धाको खेल हुनु विडम्बनापूर्ण छ । ज्ञान हासिल गर्न कसैलाई उछिन्ने मानसिकता ठीक छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै अशोभनीय छ । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मनमा वितृष्णा उब्जिए मात्र शैक्षिक क्षेत्रमा नवीन अध्यायको सुरूवात हुन्छ । प्रतिस्पर्धाबाट अरूलाई पछारेर आफू अघि बढ्नु लोकप्रियता कमाउनु होइन । बरू अलोकप्रियता आर्जन हुन्छ । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ ।
आजको शिक्षा भौतिक उन्नति गर्ने सोचबाट प्रेरित छ । न त्यस सोचले पूर्णता पाएको छ, न बाटो नै बदलिएको छ । आफूले आर्जन गरेको ज्ञान र जानकारीका माध्यमबाट भौतिक उन्नति गर्न सक्ने अवस्था छैन । त्यही ज्ञानको जगमा उभिएर एकाध व्यक्ति आफ्नै खुट्टाले टेकेर जीवनरथ हाक्दै छन् तर ठूलो छाती बनाएर बाँच्न भने सकेका छैनन् । आफूमा भएको प्रतिभाले जीवन चलाउन सक्षम हुने शिक्षा आत्मक्रान्तिन्नोमुखी शिक्षा हो । समाजको सोच स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ तर बाटाहरू प्रशस्त गर्न असक्षम छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । केहीलाई जागिर दिएर अरू सबैलाई शैक्षिक बेरोजगार पारेर शिक्षाले नै गुलाम बन्न प्रेरित गरिरहेको छ । अध्ययनको एउटा चरण पार गरेपछि आत्मनिर्भर हुनुपर्नेमा त्यसो हुन सकेको छैन । आजसम्मको शिक्षाले बुद्धि त सिकाउँछ तर बुद्धिमान् बनाउन सकेको छैन । धन कमाऊ भन्छ तर धन कमाउने सीप दिँदैन, मार्गहरू खुलाउँदैन ।
आज लेखपढ गरेका व्यक्तिमै अहङ्कार छ । ठूल्ठूला तहका प्रमाणपत्र बटुल्ने मान्छे नै बढी अहङ्कारी छन् । शैक्षिक जानकारी नै अहङ्कापूर्ण छ । आजको शिक्षाले प्रेम सिकाउँदैन । केवल ईष्र्यालु विचार र भावनालाई प्रश्रय दिन्छ । अहङ्कार पतनको सङ्केत हो, प्रेमपूर्ण शिक्षा प्रगतिको सम्वाहक हो । अहङ्कारको नशा छुटाएर प्रेम र सहानुभूतिको विजारोपण गर्न शैक्षिक परिपाटीमा आमूल सुधार आवश्यक छ । वास्तवमा शिक्षाले सिकारुमा अहङ्कार जन्माउनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनु शिक्षकको दायित्व बन्नुपर्छ । शिक्षक एक प्रकारको प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । यसो भएमा गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर–सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । आजका विद्यार्थीले अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै पाउनु वेस हुन्छ । आजसम्मको शिक्षा खरो अनुशासनमा आधारित छ । वस्तुनिष्ठ छ । मेसिनरी छ । त्यसै कारणले आज सबै जसोमा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ ।
अनुशासनले मान्छे भित्रको उत्सुकताको हत्या गरिरहेको छ । मानवीय भावनाको खुल्लमखुल्ला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा तीतो यथार्थ भोग्न वाध्य हुनुको वैकल्पिक मार्ग छैन । यसको यथार्थ यस्तो हुन्छ– मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि !’ यस्तै त्रासमा बाँच्नुपर्छ । मन खोलेर जुनसुकै जिज्ञासा शिक्षकनजिक ओछ्याउन पाइन्न । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर राख्नुपर्छ । विद्यार्थीले नमीठो अनुभवको सिकार भइरहनुपर्छ । भय र त्रासले तर्सिरहनुपर्छ । अनुशासन नामको लगामले शिक्षक र विद्यार्थी बीच दूरी बढाउनु विल्कुलै अशोभनीय हुन्छ ।
पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । त्यसैले राजनीतिमा स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती बन्न पुग्यो । आज नयाँ पुस्ताको अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु उनीहरूको कर्तव्य भएको छ । विद्यार्थीले उनीहरूबाट नै विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ ।
पढाउने क्रममा नै शिक्षक पुस्तकमा समेटिएका सीमित प्रश्नको उत्तरमा केन्द्रीत रहन्छन् । विद्यार्थीले त्यतिमै सीमित रही चुप लाग्नुपर्छ । शिक्षकको दृष्टिमा विद्यार्थीको मनमा उब्जिएका हरेक कुराले उत्तर पाउनुपर्छ भन्ने छैन । विद्यार्थीलाई प्रश्नविहीन बनाउनु भनेको कि विद्यार्थी तिखारिएको विवेकवाला बन्नु हो कि जडबुद्धिवाला बनाउनु हो । हाम्रो परिपाटी भने जडबुद्धिउन्मुख छ । अतः हरेक कुरामा विद्यार्थी प्रश्नको खोजीमा हुने वातावरण दिलाउनु नितान्त आवश्यक छ ।
अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई अन्धो भएर खुरुखुरु अनुकरण गर्दा विडम्बनापूर्ण परिस्थिति भोग्नुपर्छ । हरेक कुरामा आफ्नै दृष्टिकोण व्यक्त गर्न खोज्ने सिर्जनात्मक प्रतिभाको कदर हुनुपर्छ । बाहिरको सूचना र जानकारी लिएर र सिकेर मान्छे बुद्धिजीवि त कहिएला तर बुद्धिमान् भने हुँदैन । अभिभावक र शिक्षकवर्गले भनेका कुरा नै सिक्नु र घोक्नु पर्याप्त छ भनेर बच्चाको मौलिक क्षमतालाई मार्ने काम हामी बौद्धिकवर्गले नै गर्ने हो भने कस्तो समाजको कल्पना गर्न खोजिएको हो ? त्यो स्पष्ट हुनुपर्यो । तालिम प्राप्त सुगाले जे सिक्यो त्यही भट्याइरहन्छ । त्यसभन्दा बाहिर जाँदैन । हलो जोत्ने गोरुले हलो तान्न जान्दछ तर ठीकबेठीक के हो, छुट्याउन सक्दैन ।हामी त विवेकले काम गर्ने जनशक्तिको चाहना र कामना गरिरहेका छौँ । यसका लागि हरेक कुरामा हरेक व्यक्तिको आ–आफ्नै दृष्टिकोण हुनुपर्छ । सैद्धान्तिक मार्गचित्र बमोजिम पढेको र घोकेको शिक्षाले मस्तिष्कको विकास त गर्छ तर हृदयको विकास ठप्प पार्छ । हृदयविनाको मान्छे गुलाम बाहेक अर्थोक बन्न सक्दैन । आफैँले जन्माएका प्रश्नै प्रश्नको घेरामा बच्चा रहने अवस्था आएमा उसमा सत्यको खोज गर्ने चाहना र सामथ्र्य विकसित हुँदै जान्छ । यस खाले वातावरण निर्माणमा हाम्रो भूमिका रहनुपर्छ ।
धर्तीमा अनुशासन सिकेर कोही आउँदैन । कसैले भनेको सरासर मान्नु बन्धन स्वीकार्नु हो । नमान्नु त्यस बारे आफ्नो धारणा बनाउनु हो । हरेक कुरा बुझेर मात्र स्वीकारेको र अपनाएको अनुशासनले बच्चालाई स्वतः मर्यादित बनाउँछ । उनीहरू सही मार्गमा त्यस बेलामा आउँछ, जब उनीहरूको मस्तिष्कमा बौद्धिकताको मूल फुट्छ । त्यो मूल फुट्न बच्चालाई पूर्ण स्वतन्त्रता दिनु र दिलाउनुपर्छ । बच्चा मर्यादित र अनुशासित हुँदा त सिकाइ गर्नै सक्दैनन् । मात्र अनुकरण गर्न सक्छन्, सिद्धान्त घोक्न सक्छन् ।
गम्भीर नबन्नु र हँसिलो मुद्रामा हरबखत प्रस्तुत हुनु विद्यार्थीहरूको बानी हुन्छ ।
चुलबुल नगर्ने बालबालिकाहरू जड बुद्धिका हुन्छन् । चञ्चलता प्रदर्शन गर्नेले कठिन कुरा पनि सरल तवरले बुझ्न र ग्रहण गर्न सक्छन् । बौद्धिक व्यक्तित्व निर्माणमा उनीहरूमा भएको चञ्चलता सहयोगी हुन्छ । विशेष गरी अभिभावकको सोच र क्रियाकलाप अनुकूल भए बच्चामा पनि अनुकूल र प्रतिकूल भए प्रतिकूल प्रभाव पर्दछ । वातावरण क्रोधित, झगडालु वा हिनताबोधी भए बच्चा त्यस्तै हुन्छन् । यस युगले गहन जिम्मेवारी हाम्रो काँधमा सुम्पेको छ ।
उठ्दा उठ्दै उसले अरूका लागि एउटै प्रश्न राख्यो– “अब भन्नुस्, म कति ठीक, कति बेठीक ?”

(लेखक आचार्य श्री जनता मा.वि., गोलबजार–४, सिरहामा कार्यरत छन् ।)