• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सनराइज क्लब खडकलाई पञ्चशिल्ड फुटबलको उपाधी

सनराइज क्लब खडकलाई पञ्चशिल्ड फुटबलको उपाधी

राजविराज, १७ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित ३० औं पञ्चशिल्ड फुटबल प्रतियोगिताको उपाधी सनराइज स्पोर्टस क्लब खडक नगरपालिकाले जित हात पारेको छ ।
सन्यासी युवा क्लब पोखरीयाको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत बुधवार फाइनलमा रामधुनी स्पार्टस क्लब भुम्का सुनसरीलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै सनराइज स्पोर्टस क्लब खडक नगरपालिकाले उपाधी हात पारेको हो । उपाधीसँगै सनराइज स्पार्टस क्लब खडक नगरपालिकाले नगद रु. २५ हजार शिल्ड तथा उपबिजेता भुम्का सुनसरीले रु. १७ हजार नगद र कपमा चित बुझाएको छ ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १० औं मिनेटमा सनराइज स्पोर्टस क्लबका सुशिल राईले गोल गर्दै टीमलाई अग्रता दिलाएको थियो । त्यसको ७ मिनेट नबित्दै सनराईज स्पोर्टसका बिशाल लिम्बुले गोल गर्दै टीमको अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफको २७ औं मिनेटमै विशाल लिम्बुले आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टीमलाई ३–० को स्थितिमा पु¥याएको थियो । झुम्का टीमका खेलाडीहरुले पहिलो हाफ भन्दा दोश्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि खडक नगरपालिकाले दोश्रो हाफमा दुई गोल थप्दै फराकिलो जित हात पारेको छ ।
गत माघ ४ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरीसहित सिरहा, उदयपुर, महोत्तरी, सुनसरी, मोरङ्ग लगायतका जिल्लाका बिभिन्न १२ वटा क्लबको सहभागिता थियो । प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य मो. समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उप–प्रमुख कबिता कुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङ्ग लगायतले बिजेता र उपबिजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य मो. समिमले खेलकुद क्षेत्रको विकासका लागि आफुले एक महिनाको तलब आयोजक खेल समितिलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।