• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शाकेत र दिलिपलाई शहिद घोषणा नगरिनु विभेदको नमूनाः प्रदेश सांसद साह

शाकेत र दिलिपलाई शहिद घोषणा नगरिनु विभेदको नमूनाः प्रदेश सांसद साह

राजविराज, १६ माघ । प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले गणतन्त्र प्राप्तिको आन्दोलनमा सप्तरीका दुई योद्धा शाकेतचन्द्र मिश्र र दिलिप चौधरीलाई अहिलेसम्म शहिद घोषणा नगरेर ठूलो विभेद गरेको बताएका छन् ।
राजविराज स्थित शहिद शाकेत पार्कमा मङ्गलवार आयोजित श्रद्धाञ्जली अर्पण एवम् मैनवत्ती प्रज्जवलन कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । तत्कालिन पञ्चायती शासन विरुद्ध देशमा गणतन्त्र बहालीका लागि संघर्षमा लागेका मिश्र र चौधरीलाई राज्यले तत्काल शहिद घोषणा गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘गणतन्त्रप्राप्तिका लागि जिवन उत्सर्ग गरेका दुई योद्धा शाकेतचन्द्र मिश्र र दिलिप चौधरीलाई अहिलेसम्म शहिद घोषणा नगरेर ठूलो विभेद गरेको छ, अविलम्ब दुबैजनालाई शहिद घोषणा हुनुपर्छ ।’
प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहले नेतृत्व गरेको जनवादी मोर्चाको नेतृत्वमा २०४२ सालको बमकाण्डमा संलग्न रहेको आरोपमा राज्यले नियन्त्रणमा लिएर वेपत्ता पारेको प्रसङ्ग उल्लेख गर्दै अविलम्व वर्तमान सरकार गम्भीर हुनुपर्नेमा प्रदेश सांसद साहले जोड दिए । पटक–पटक सरकारले विभिन्न आन्दोलनमा सहादत तथा बेपत्ता पारिएकाहरुलाई शहिद घोषणा गरे पनि दुवै योद्धालाई बेवास्ता गर्नुले राज्य गैर जिम्मेवार रहेको प्रष्ट भएको उनले टिप्पणी गरे । प्रदेश सभाको बैठकमा समेत उनीहरुको विषयमा आवाज उठाउनुका साथै शहिद घोषणाकालागि पहल गर्ने संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका सांसद साहले प्रतिवद्धता व्यक्त गरे ।
शहिद शाकेत पार्क व्यवस्थापन समितिका अध्यक्ष मिन्टु मिश्राको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, वडा अध्यक्षहरु चन्दर चौधरी, समिर झा, नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादव, प्रतिष्ठानका सचिव वैद्यनाथ मण्डल, कर्मचारी दिनेश कुमार साह समेतको सहभागिता रहेको थियो ।