Top_Header_Right_Add

कर्मचारी शहिद प्रभुनारायणको शालिक अनावरण

कर्मचारी शहिद प्रभुनारायणको शालिक अनावरण

राजविराज, १६ माघ । शहिद दिवस पारेर सप्तरीमा स्थानीय निकाय कर्मचारी शहिद प्रभुनारायण यादवको शालिक मङ्गलवार एक समारोहका बीच अनावरण गरिएको छ ।
राजविराज स्थित जिल्ला समन्वय समितिको परिसरमा नव निर्मित पार्क सहितको शालिक समितिका प्रमुख प्रभाकर यादवले अनावरण गरेका हुन् । जिल्ला समन्वय समितिको सहयोगमा स्थानीय तह कर्मचारी संघ नेपालद्वारा अर्ध कदको शालिक निर्माण गरिएको थियो ।
शालिक अनावरण पश्चात समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले कर्मचारी शहिद यादवको योगदानबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका प्रमुख यादवले कर्मचारीहरु कार्यालयको कामप्रति कर्तव्यनिष्ठ भएर काम गर्ने गुण र जिम्मेवारीपना स्व. यादवबाट सिक्नुपर्नेमा जोड दिए । पदमा कार्यरत रहँदा उनले लगाएको गुण जिल्ला समन्वय समितिकालागि अविस्मरणीय रहेको प्रमुख अतिथि यादवले बताए ।
२०५४ सालमा औपचारिक रुपमा सेवा प्रारम्भ गरेका उनी कार्यालयको कामकाजप्रति जिम्मेवार रहनुका साथै समाजिक क्षेत्रमा समेत विशिष्ट योगदान रहेको स्थानीयवासिन्दा समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाले बताए । कार्यालयको काम सकेर घर पुगेपछि उनले सामाजिक कार्यहरुमा संलग्न रहने गरेको उनले जानकारी दिए । स्व. यादवको नामबाट गाउँमा ट्रष्ट सञ्चालनमा आउन लागेको तथा चौकमा शालिक निर्माण समेत भईरहेको बताउँदै उनले भने ‘ट्रष्टद्वारा समाजिक सशक्तिकरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका साथै मानवीय सेवासँग सम्वन्धित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य गीता यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, नेपाल मधेशी निजामति कर्मचारी मन्च सप्तरी तथा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले मन्तव्य व्यक्त गरे । स्थानीय तह कर्मचारी संघ नेपालका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन कमलेश्वर बिराजीले गरे ।
सोही समारोहमा नासु स्व. यादवको हत्या भएपछि भएको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, पत्रकार महासंघका अध्यक्ष खड्गा, राजपाका केन्द्रीय सदस्य दिनेश कुमार यादव, गाविस हक हित संरक्षण केन्द्रका तत्कालिन उपाध्यक्ष रामकुमार यादव, पूर्व जिल्ला अध्यक्षहरु शिवदेव यादव, भागवत यादव, सेभ द सप्तरीका अध्यक्ष धु्रुव देव, युवा नेता अर्जुन प्रसाद साह, संघीय समाजवादी फोरम नेपालका युवा नेता केदार यादव. कर्मचारी कमलेश्वर बिराजी सहितका व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यालयको काम सकेर नायव सुब्बा पदमा कार्यरत कर्मचारी यादवको २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक गोली हानी हत्या गरिएको थियो । जिल्ला समन्वय समितिको रु. ११ लाखको लागत सहयोगमा पार्क सहितको शालिक निर्माण भएको सो समितिले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer