Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

शीतलहरबाट लाखौंको तरकारी बाली क्षति

शीतलहरबाट लाखौंको तरकारी बाली क्षति

राजविराज, १५ माघ । लगातारको शीतलहर तथा चिसोका कारण सप्तरीको मलेठमा मात्रै तरकारी बालीमा लाखौंको क्षति भएपछि किसानहरु चिन्तित भएका छन् ।
पुस महिनाको दोश्रो सातादेखि लगातारको बाक्लो हुस्सु तथा शीतलहरका कारण तरकारी बालीमा विभिन्न रोगको संक्रमणले बालीमा क्षति भएको हो । पकेट एरिया नै रहेको राजविराज नगरपालिका वडा नम्वर ९ मा पर्ने साविक मलेठ गाविसका कृषकहरुको तरकारी बालीमा क्षति भएपछि उनीहरु चिन्तित छन् ।
शीतलहरले आलु, टमाटर, भिण्डी, लौका, खुर्सानी लगायत सागपातको बोट र पात नै मरेकोले ७५ प्रतिशत बाली नष्ट भएको कृषक विनोद कुमार मेहताले जानकारी दिएका छन् । निरन्तरको शितलहरले गर्दा आफुहरुको लगानी नै डुबेको बताउँदै उनले भने ‘हाम्रो मेहनत त खेर गयो नै, लगानी समेत डुब्यो ।’
अत्यधिक चिसोबाट तरकारी खेतीलाई जोगाउन नियमित रुपमा औषधी छर्किए पनि काम नगरेको अर्का कृषक वैद्यनाथ मेहताले बताए । गत साउन महिनाको बाढीले समेत आफुहरुको तरकारी बालीमा क्षति भएको जानकारी दिँदै उनले भने ‘हामी किसानहरुको खेत समेत कटान भयो, त्यसमा लगाएको बालीबाट समेत अपेक्षाकृत आम्दानी कमाउन सकिएन ।’
यस्तै समस्याबाट पीडित छन् मलेठका श्याम प्रसाद मेहता, नारायण मेहता, लक्ष्मण मेहता, लाली मेहता, मनोज कुमार मेहता, फूलो देवी मेहता लगायतका किसानहरु । विगतका वर्षहरुमा शीतलहरले सामान्य प्रभाव पारे पनि यसवर्ष निरन्तर एक महिना नाघिसक्नु र घाम न उदाउनुले तरकारी खेतीमा समस्या थपिएको उनीहरुको भनाई छ । प्रतिवर्ष कुल उत्पादनको १५ तरकारी उत्पादन हुने गरेको सो ठाउँका कृषकहरुले यसवर्ष करिब ६० विगाहमा तरकारी खेती गरेका छन् ।
शीतलहरले जिल्लाको अधिकांश स्थानमा लगाइएको तरकारी बाली निकै प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा पहिलेदेखि तरकारीको अभाव रहेकोमा शीतलहरले बालीमा क्षति भएर यस वर्ष अत्यधिक मात्रामा तरकारी आयात गर्नुपर्ने अवस्था आएको कृषि विकास कार्यालयका प्रमुख भागिरथ यादवले जानकारी दिएका छन् । शीतलहरबाट तरकारी बालीलाई जोगाउन नियमित औषधी छर्किने किसानहरुको बाली केही हदसम्म जोगिएको उनले बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।