• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

स्मृतिमा मधेशका मसिहा गजेन्द्रनारायण सिंह

सन्दर्भः १६औं गजेन्द्र पुण्यतिथि
स्मृतिमा मधेशका मसिहा गजेन्द्रनारायण सिंह
विष्णु कुमार मण्डल

–विष्णु कुमार मण्डल
मधेशका सच्चा मसिहा गजेन्द्र नाराय ण सिंहको क्रान्तिकारी र राजनीतिक जीवन निश्चय पनि अहिलेका नेताहरुका लागि अनुकरणीय रहेको छ । एक मध्यम परिवारमा जन्मेर उनले देखाएका त्याग, संघर्ष र वलिदान सामान्य जनका लागि बन्दनीय त छ नै, तर, खासगरी मधेशलाई केन्द्र विन्दु बनाएर नेतृत्व गरिरहेका नेताहरुका लागि अत्यन्त प्रेरणादायी ।
नेता सिंहका जीवनका विभिन्न पक्षलाई नियालेर हेर्दा उनका सम्पूर्ण जीवन मधेश र मधेशी प्रति नै समर्पित रहेको स्वतः भान हुन्छ । अहिलेका नेताहरुको व्यक्तिवादी चरित्र, अहंकार र सिमित स्वार्थको दायरालाई हेर्दा आम जनमानसबाट घृणा मिश्रित नैराश्यपूर्ण प्रतिक्रियाहरु आउनु अस्वभाविक मानिदैन । किन भने उनीहरुले अत्यन्त मीठा मीठा बाचा र प्रतिबद्धता गरे पनि कार्यान्वयनको अवस्था शुन्य झै देखिन्छ । तर गजेन्द्र नारायण सिंहले जे बोले, त्यो गरेर देखाए । जस कारण अहिले पनि उनी अविस्मरणीय बन्न पुगेका हुन् । त्यसैले मधेश र मधेशीको कल्याणका साथै आफ्ना राजनीतिक व्यक्तित्व कायम राख्न समेत अहिले पनि ती कथित मसिहरुले गजेन्द्रका राजनीतिक जीवन शैलीलाई अंगिकार गर्ने हो भने उद्देश्य पूर्तिका साथै व्यक्तित्व निर्माणमा समेत ठूलो योगदान हुने निश्चित छ ।
वि.सं. १९८६ सालमा सप्तरीको कोइलाडी गाउँमा नेता सिंहको जन्म भएको थियो । भगवान रामको जन्मतिथिकै दिन बुवा कारी सिंह र आमा राधा देवीको कोखबाट उनको जन्म भएको हो । प्रारम्भिक शिक्षा कुनौली र नरपतगञ्ज, बिहारमा लिएका सिंह भारतको बनारसबाट आई.ए. उतीर्ण गरेका थिए । २००४ सालमा नेपाली काँग्रेसमा आवद्ध भई युवावस्थामै राजनीतिक क्षेत्रमा प्रवेश गरेका सिंह २०३३ सालसम्म नेपाली काँग्रेसमा सक्रिय भएर लागेका थिए । २००४ साल जेठ १९ गते १८ वर्ष कै कलिलो उमेरमा सिंह जेल चलान भई निरंतर ७ वर्षसम्म जेल जीवन बिताए । वि.सं. २०१८ सालदेखि २०२९ सालसम्म भारतमा निर्वासित जीवन विताएका उनी ने.का. का पूर्वाञ्चल संयोजकको जिम्मेवारी समेत प्राप्त गरेका थिए ।
वि.सं. २०३६ सालको जनमत संग्रहमा बुहदलीय स्थापनाका लागि उनले अथक संघर्ष गरे । त्यस बेला उनका साथ बखान सिंह गुरुङ, सुर्य प्रसाद उपाध्याय, रामराजा प्रसाद सिंह जस्ता नेता तथा कार्यकर्ताहरु थिए । तर दुर्भाग्यवश वा षडयन्त्रवस बहुदलीय व्यवस्थाको पराजय भयो । र नेपाली काँग्रेस समेत फुटको संघारमा पुग्यो । आफ्ना माउ संगठन ने.कां. भित्र मधेशी जनता र कार्यकर्ता प्रति अवहेलना र भेदभावको दुरावस्था श्रृजना भएको उनी महसूस गरे । जुन विषय गजेन्द्र नारायण सिंहको मानस पटलमा जड़ गाडेर बस्यो । फलस्वरुप उनले नेपाली काँग्रेस परित्याग गरी छुट्टै संगठन निर्माणमा तल्लीन भए । उनले आफूसँग रहेका पुराना नेता र कार्यकर्ता सहितको समूह बनाई २०४० सालमा नेपाल सद्भावना परिषदरुपी गैर राजनीतिक भनिए पनि राजनीतिक संस्थाको स्थापना गरे । परिषदमा महोत्तरीका रामचन्द्र मिश्र, सुनसरीका श्यामलाल मिश्र, सप्तरीका गंगाधर झा, गुणानन्द चौधरी, सत्यनारायण दास लगायतका पुराना र नयाँ कार्यकर्ताहरु सम्मिलित थिए । यस परिषदका मध्यमले उनी मधेशी पहिचान, समावेशीता, भाषा र संस्कृति, नागरिकता सहित अन्य समसामयिक विषय र मागहरुका सम्बन्धमा राज्य र सरकारको ध्यानाकर्षण गराउँदै दवाव मूलक आन्दोलनका स–साना कार्यक्रमहरु सञ्चालन गर्ने गरेका थिए । यिनै परिषदरुपी संगठनलाई राजनीतिक अस्त्र बनाई उनी २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका थिए ।
तत्पश्चात २०४६ सालमा नेपाल सद्भावना पार्टी गठन गरी उनी निर्विरोध रुपमा अनवरत राष्ट्रिय अध्यक्ष पदमा पदासिन रहे । २०४७ सालको प्रथम संसद निर्वाचनदेखि २०५३ सालसम्म सप्तरी संसदीय विकास क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका थिए । उनी २०५२ साल भदौं महिनाको संयुक्त सरकारको गठन पछि निरन्तर रुपमा मन्त्री पदमा बसे । सो अवधिमा उनी आपूर्ति मन्त्री, स्थानीय विकास, उद्योग र वाणिज्य एवं विज्ञान तथा प्रविधि मन्त्रालय समेतको जिम्मेवारी कुशलतापूर्वक निर्वाहन गरेका थिए । यस प्रकार पाँच पटक क्याविनेट मन्त्री भएका सिंहका मन्त्रीत्वकालमा विभेदमा परेका हजारौं मधेशी यूवाहरुले सरकारी जागीर पाए । यसका अतिरिक्त संस्थान, बोर्ड, आयोग र विभिन्न समितिहरुमा समेत मधेशको उपस्थिति शुन्य रहेका ठाउँमा उनले सैकडौं मधेशीहरुलाई उक्त निकायहरुमा समाहित गरे । हुन त मधेशी युवा र विद्यार्थीहरुलाई डाक्टर, इन्जिनियर, कृषि विज्ञ आदिको अध्ययनको व्यवस्था मिलाई मधेशीका लागि रोजगारी श्रृजनामा उनको ठूलो योगदान रहेको कुरालाई नकार्न मिल्दैन । बाल रोग विशेषज्ञ भई हाल प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सुर्यनारायण यादव, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप कुलपति डा. बलभद्र दास, डा. विश्वनाथ यादव सहित शैकडौं प्राविधिकहरु उनकै उत्पादन हुन् ।
यसरी आम मधेशीलाई रोजगारी दिलाई अधिकार सम्पन्न बनाउने कार्यका अलावा मधेशीमा नेतृत्व समताको विकास र अवसर प्रदान गर्ने कार्यमा पनि स्व. सिंहको महत्वपूर्ण योगदान देखियो । मधेशीको उपस्थिति प्रायः शुन्य रहेको स्थानीय निकाय र संसदमा समेत उनले मेचीदेखि महाकालीसम्मका सयकडौं यूवामा नेतृत्व क्षमताको विकास गराई उनीहरुलाई स्थानीय निकाय र संसदमा समेत सहभागिता प्रदान गर्ने अवसर प्रदान गरे । उनकै सानिश्यमा रही सो अवधिमा नेतृत्व र ख्याति प्राप्त गरेका राजेन्द्र महतो, हृदयेश त्रिपाठी, अनिल कुमार झा, मृगेन्द्र कुमार सिंह यादव लगायतका नेता पछि स्वयं नेतृत्व गर्न सक्षम भएको विषय सर्वविदित छ ।
गजेन्द्र नारायण सिंहको अवसान पछि नेपाल सद्भावना पार्टी विखण्डित भए पनि स्व. सिंहका यी अनुयायीहरु मधेशको नेतृत्व गर्दै नेपालको राजनीतिक क्षितिजमा हालसम्म उदीयमान रहेको देखिन्छ । यसरी मधेशको अधिकार र विकासका साथै मधेशीको नेतृत्व क्षमता विकासमा स्व. सिंहले ठूलो गुण लगाएका छन् । जसका कारण अहिले पनि उनी अमर छन् ।
स्व. नेता गजेन्द्र नारायण सिंहको अवसान पश्चात ने.स.पा. विखण्डित हुँदै मधेशका राजनीतिक परिवेश समेत स्वार्थ परल बन्न पुगेको सत्यलाई नकार्न मिल्दैन । अहिलेका मधेशका कथित मसिहाहरु व्यक्तिगत विकास र सम्पन्नता तिर बढी आकर्षित भएको देखिन्छ । आफ्ना परिवार, कर कुटुम्ब र आसेपासो व्यक्तिहरुलाई ठूल ठूला अवसर प्रदान गर्ने नेतृत्व वर्गमा व्याप्त विकृतिका कारण मधेश र आम मधेशीको आशातित विकास हुन सकेको छैन । साथै शासक वर्गका सामू समेत मधेशी नेतृत्वहरु व्यक्तिगत स्वार्थ कै कारण लम्पसार हुने गरेकाले नेतृत्व समेत ओझेलमा पर्न गएको छ । यिनै राजनीतिक विकृति र विसंगतिले गर्दा देशमा गणतन्त्र स्थापना भए पनि मधेशका मागहरु ज्यूका त्यूँ छन् ।
मधेश र मधेशीको पहिचान, समावेशीता, नागरिकता, आारक्षण आदि माग सहित मधेशीलाई ‘सौ मे पचास’ नारा धन्काउने पहिलो नेता गजेन्द्र नारायण सिंह नै हुन् । यति मात्र नभई शक्ति पृथक्कीकरणको सिद्धान्त अनुरुप देशमा संघीय शासन लागु हुनु पर्ने माग गर्दै सर्वप्रथम संघीयताका विषय उठान गर्ने प्रथम नेता पनि उनै हुन् । केन्द्रीकृत शासन प्रणालीमा जति सुकै गर्दा पनि भेदभाव कायम रहने आंकलन गरी उनले संघीय राज्य प्रणालीले यस्ता भेदभाव स्वतः हट्नुका साथै विकासीय गतिविधिमा समेत ठूलो टेवा पुग्यो विश्वास उनको रहेको थियो ।
संघीयता नै वास्तविक लोकतन्त्र हुने व्याख्या गर्दै उनले संघीयता कै माध्यमबाट आफ्ना गाउँ ठाउँका विकास र नेतृत्व दुबैमा मधेशीले समान अधिकार पाउने कुरा उनी बताउने गर्थे । तसर्थ नेपालमा संघीयताको परिकल्पना सार्वजनिक गर्ने पहिलो नेता गजेन्द्र नारायण सिंह नै हो भन्नुमा अतिशयोक्ति नहोला ।
छात्र जीवनदेखि नै संघर्ष र राजनीीत तर्फ मोडिएका गजेन्द्र नारायण सिंहको व्यक्तिगत जीवन अत्यन्त कठोर र अभावग्रस्त नै रहयो । ७ वर्षको जेल यातना पश्चात सन् १९६० देखि १९७७ सालसम्म निरन्तर १७ वर्ष उनले निर्वासित जीवन नै बिताउनु पर्यो । सो अवधिमा कहिले पटना त कहिले दरभंगा र कहिले दिल्ली आदि ठाउँमा निर्वासित जीवन विताउँदा उनले अत्यन्त कठोर र अभावग्रस्त जीवनयापन गरेका थिए । सन् १९७७ तिर दरभंगामा उनीसित मेरो पहिलो सम्पर्क हुँदा उनी शाहगञ्ज, बेताको एउटा खपडैल घरमा बसोबास गर्थे । एउटै कोठा, सानो खाट र टेबुल तथा यत्रतत्र पत्रिका र पुस्तक छरिएर रहेको त्यो कोठाको दृश्य अहिले पनि मेरो मानस पटलमा विद्यमान छ । त्यसताका बेता चौकको पत्रिका पसल र लौण्ड्रीको बील चार महिनासम्म तिर्न नसकेको अवस्थाले उनको अभावग्रस्त जीवनलाई स्वतः प्रतिविम्बित गर्दछ ।
प्रवासकाल पश्चात उनी आफ्ना जन्मथलो सप्तरी बसेर संगठन निर्माण गर्ने कार्यमा जुटे । जनमत संग्रहताका २०३४–३५ सालतिर उनले राजविराजमा करिब १२ कट्ठा जग्गा खरिद गरी सप्तरी सेवा आश्रम निर्माण गरे । सोही ठाउँमा उनले बहुदल पक्षधरहरुलाई संगठित गर्ने कार्य प्रारम्भ गरेका थिए । जनमत संग्रहमा बहुदलको पराजय पश्चात उनी सप्तरी सेवा आश्रमलाई नै केन्द्र विन्दु बनाई नेपाल सद्भावना पार्टीको निर्माण र संगठन गर्ने कार्य प्रारम्भ गरे ।
स्व. नेता सिंहमा रहेको साङ्गठनिक क्षमता, कर्तव्यपरायणता र उनका सरल, सौम्य र नैतिकतायुक्त व्यक्तित्व कै कारण अत्यन्त कम समयमा नेपाल सदभावना पार्टी तर्फ जनआकर्षण बढेको थियो । नेपाल विद्यार्थी मञ्च, यूवा मञ्च, किसान मञ्च, महिला मञ्च, मजदुर मञ्च सहितका विभिन्न भातृ संगठन समेत अत्यन्त सक्रिय र सबल रहेका कारण स्व. सिंह बाँचेसम्म नेपाल सद्भावना पार्टी एउटा शक्तिशाली पार्टीका रुपमा गनिन्थ्यो ।
वर्तमान अवस्थामा मधेशको नेतृत्व गरिरहेका पार्टीहरुसित न त त्यत्रो सबल सङ्गठन छ, न त सङ्गठित भ्रातृ सङ्गठनहरु नै । सदैव सत्तामुखी प्रवृत्ति हावी रहेको देखिने यी दलहरु क्रियाशील सङ्गठन निर्माणतर्फ उदासिन देखिन्छन् । व्यक्तिगत सोच र संकीर्णता हावी रहेकै कारण अहिलेका नेतृत्व पंक्तिहरुमाथि बेला–बेला आम जनमानसद्वारा लगाइने गरेका अविश्वासको आरोप अनुचित हो, भन्ने ठाउँ छैन । लोकतन्त्रदेखि कथित गणतन्त्रसम्म आइपुग्दा पनि नैतिक स्खनलता दूर हुन नसकेका कारण यो अवस्था उत्पन्न भएको भन्दा शायद अतिशयोक्ति नहोला ।
विगत केही वर्षदेखि मधेश केन्द्रीत दलहरुमा देखिएका फुट र विछोडका कारण पनि व्यक्तिगत महात्वाकांक्षा र स्वार्थ नै हो । नेता गजेन्द्र बाबुका विद्वान र जुझारु शिष्य मानिने हृदयेश त्रिपाठी र रामेश्वर राय यादव जस्ता दिग्गज नेताहरु समेत यिनै संघारमा परी मधेश ईतर तिर लाग्नु भएको हो । उनीहरुले जस्तो सुकै सफाई दिए पनि मधेशका सच्चा कार्यकर्ता त्यसबाट संतुष्ट हुने अवस्था छैन । यस्तै आन्तरिक कलह र स्वार्थका कारण मधेश केन्द्रीत अन्य दलहरु समेत पीडि़त छन् । तर जे भए पनि हाल सम्पन्न स्थानीय र संसदीय निर्वाचनका क्रममा मधेशी दलहरु जुट्ने संघारमा छन् । निश्चय यो एउटा सकारात्मक संदेश हो ।
तसर्थ मधेश केन्द्रीत राजनीतिमा लागेका दल र नेताहरु नेता गजेन्द्र नारायण सिंहबाट प्रेरित भई एकजुट भएर मधेश र मधेशीको अधिकार दिलाउन सक्षम बन्न सक्नु आजको आवश्यकता हो ।
आम मानव आफ्ना सन्ततिका भरणपोषण र भविष्यका लागि सम्पत्ति र भौतिक सम्पदा जोडेर राख्दैमा आफ्ना जीवन बिताउँछन् । तर गजेन्द्र नारायण सिंहले आफ्ना सम्पूर्ण जीवन मधेश र मधेशीकै लागि समर्पित गरेर गए । मृत्युवरण पश्चात न कुनै बैंक खाता र न सुन चाँदी भेटिएका मसिहा सिंहको समपत्ति र कर्मथलोका नाममा एक मात्र सप्तरी सेवा आश्रम बाँकी रहेको देखियो । जीवनको उत्तराद्र्धकालमा सो आश्रमलाई ‘गजेन्द्रनारायण सिंह जनकल्याण ट्रष्ट’ बनाई गरीब र मधेशीको सेवा गराउने अन्तिम इच्छा उनले वारम्बार व्यक्त गरेका पनि थिए । र सो अनुरुप कानूनी प्रक्रिया पनि अघि बढाइएको थियो । तर सो पनि आज अतिक्रमणको चपेटामा छन् । कुन बेला गजेन्द्रको चिनारीका रुपमा रहेका ती सम्पदा टुक्रा टुक्रा भई बिक्ने हो, ठेगान छैन । त्यसमा रहेका ऐतिहासिक ‘क्रान्ति भवन’ भत्काएर विद्यालय संचालित छन् भने सिंहको भौतिक शरीर अग्निभूत भएका समाधि नेपाल सरकारद्वारा निर्मित रहेर पनि संरक्षणको अभावमा कुन बेला समाधि समेत भत्काइने हो ? ठेगान छैन ।
नेपाल सरकारद्वारा गणेशमान सिंह, वी.पी., कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र गिरिजा प्रसाद कोइराला समेत स्व. गजेन्द्रका सहकर्मी र समकक्षी नेताहरुका नाममा विभिन्न संग्रहालय र प्रतिष्ठानहरु निर्माण भएको सर्वविदित छ । तर नेता सिंहले आफै अर्जेका र आफ्ना सम्पूर्ण जीवन, कर्म र भौतिक शरीर समेत समाहित भएका ‘सप्तरी सेवा आश्रम’ रुपी यस ऐतिहासिक स्थलको संरक्षण तर्फ कसैको ध्यान पुग्न सकेको देखिएन ।
नेता सिंहको मृत्युको १० वर्ष पश्चात २०६८ सालमा पुनरावेदन अदालत, राजविराजद्वारा सप्तरी सेवा आश्रम, गजेन्द्र निवास, क्रान्ति भवन, पुस्तकालय र समाधिस्थललाई सर्वसाधारणका लागि खुल्ला राख्ने र सोको संरक्षण, संरक्षण गर्नु भनी राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालय, सप्तरीका नाममा परमादेश जारी भए पनि हालसम्म सोको कार्यान्वयन नहुनु निश्चय दुःखद विषय हो ।
अहिले गजेन्द्र नारायण सिंहको सामिप्यता पाएका डा. सुर्यनारायण यादव, चन्द्रकान्त चौधरी र मनिष कुमार सुमन सहितका गजेन्द्रका अनुयायीहरु सांसद र विधायक निर्वाचित भएका छन् भने गजेन्द्रको विरासत भनिने क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव अपार मत सहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेता सिंहका चिनारीका रुपमा रहेका यस स्थलको संरक्षण र जगेर्ना गर्नु निश्चय उनीहरुका साथै गजेन्द्रका सम्पूर्ण अनुयायीको कर्तव्य बन्न पुगेको छ ।
तसर्थ मधेशका मसिहा गजेन्द्र नारायण सिंहको अमरत्व कायम राख्न उनको जीवनभरिको कमाइका रुपमा रहेको सप्तरी सेवा आश्रमको संरक्षण, सम्बद्र्धन आवश्यक रहेको देखिन्छ । यस पुनित कार्यमा सांसद, प्रदेश सभा सदस्य, स्थानीय निकाय, स्थानीय प्रशासन, मधेशी दल र आम नागरिक सहितको ध्यानाकर्षण होस् भन्ने अपेक्षा गरिएको छ ।
अन्तमा, मधेशका सच्चा मसीहा गजेन्द्र नारायण सिंहले मधेश र मधेशीको कल्याणका लागि कोरेको मार्गचित्र अझ फलिभूत होस् भन्ने कामना गर्दछु । साथै आज १६औं पुण्यतिथिका अवसरमा प्रातः स्मरणीय नेता गजेन्द्र नारायण सिंह प्रति यही शब्दरुपी भावभिनी श्रद्धा सुमन अर्पण गर्दै उनको अमरत्व सदैव कायम रहोस् भन्ने सदिच्छा व्यक्त गर्दछु ।

(लेखक अधिवक्ता मण्डल नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष हुनुहुन्छ ।)