बाबुनानीहरू सपार्ने काइदा

बाबुनानीहरू सपार्ने काइदा
Bwtech New Add With Software & Bull SMS

–नन्दलाल आचार्य

१.पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यतः वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव÷व्यवहार विकसित हुँदै जान्छ ।
हामी अग्रजहरू बालबालिकाले सर्वस्वीकार्य व्यवहार प्रदर्शन गरे ‘ठीकै छ’ भन्छौँ । कतै थोरै कमजोरी देखाएमा पनि ‘विल्कुलै खराब’ भन्ने सोचसमझ विकसित गछौँ । यस किसिमको व्यवहारले बालबालिकाको अन्तस्करणमा चोट लाग्छ । त्यसबाट उनीहरूमा नकार भावना उत्पन्न हुन जान्छ । सकारपन ओझलमा पर्दै जान्छ । जिद्दीपन र उदण्डता बढ्दै जान सक्छ ।
हामी अग्रजहरू स्वयम् बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । कहाँ बिराउँदै छु भन्ने हेक्का नराखी अग्रज भएकाले नै अहङ्कार देखाउँछौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने दर्जा दिँदै शारीरिक÷मानसिक सजाय दिनतिर लाग्छौँ । आफूकहाँ चुक्यौँ, त्यसको हेक्का राख्न भने विल्कुलै भुल्छौँ । बेलाबेलामा उनीहरूकै कमजोरी कोट्याई, कोट्याई तनाव दिइरहन्छौँ । सुध्रनका लागि मीठो भाका र लयमा सम्झाउँदैनौँ । यस किसिमको निरुत्साही व्यवहार झेल्दै जानुपर्दा उनीहरू नैतिक चरित्र निर्माणको मार्गबाट विचलित हुन्छन् र समाजका लागि दुष्ट पात्र बन्न सक्छन् ।
धर्म वा इतिहासका विविध प्रसङ्गसँग जोडेर उसले यसो गरेको थियो, त्यसले त्यसो गरेको थियो भनेर अरूजस्तै बनाउन खोज्छौँ । प्रत्येक बालबालिका आ–आफ्नै खाले मौलिक प्रतिभा बोकेर जन्मिएका हुन्छन् भन्ने कुरा भुल्छौँ । ंबालबालिकाको मौलिक सोच र समझको कदर नगरी आफ्नो सोच र समझमा जबरजस्त ढाल्न खोज्दा निस्कने घातक परिणामको कल्पना समेत नगरी लिंडेढिपीमा अडिग रहन्छौँ । अझ कडा दण्ड–सजायको सन्त्रास फैलाएर उनीहरूको सन्तुलित मनस्थिति पनि असन्तुलित बनाइदिन्छौँ । अतः आजका बालबालिकाका निम्ति समस्या हामी अग्रजहरू नै हौँ र समाधान पनि हामीहरू नै हौँ ।

२. अग्रजहरूको भूमिका

दण्ड–सजायरहित रूपले बालबालिका हुर्काउन अग्रजहरूको गहकिलो भूमिका हुन्छ । अग्रजहरूले विद्यालय वा घरपरिवारको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउनु पर्दछ । उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर व्यवहार गर्नुपर्छ । विद्यालय वा घरपरिवारमा बाहेक अन्यत्र पनि बालमैत्री व्यवहार गर्नुपर्छ । अग्रजहरूले प्रयोग गर्ने शिक्षण विधि र प्रविधि बालकेन्द्रित हुनु जरूरी हुन्छ । बालबालिकाको मामलामा उनीहरू सम्मिलित समूहले गरेको निर्णय मात्रै अन्तिम र मान्य हुनुपर्दछ । उनीहरूले पाउने पुरस्कार वा सुविधा कटौतीका आधारहरू पूर्व परिभाषित र स्पष्ट हुनुपर्छ । गल्ती स्वीकारेको अवस्थामा मात्र सुविधा कटौती गर्नुपर्छ । स्पष्टीकरण दिने मौका दिन चुक्नुहुन्न । सुध्रने अवसर नदिई उनीहरूले पाउने सुविधा कटौती गर्नुहुन्न ।
आजका अग्रजहरूले देखिएका समस्याभित्रै समाधानको बिज रहने सोच राख्नुपर्छ । गलत कदम देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रनुपर्छ । गाली र छडीले अल्पकालीन समाधान देला तर दिगो समाधानका लागि मायालु बोली र समुचित पृष्ठपोषणको जरुरत पर्दछ । बालबालिकाको भावनानुकुल आवश्यकता र समस्या पहिचान हुनुपर्छ । कुनै पनि कुराको छनोटको पहिलो हक बालबालिकालाई नै दिनुपर्दछ । बालबालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न पछि पर्नुहुन्न । उनीहरूलाई घरपरिवारको महत्त्वपूर्ण सदस्य ठान्नुपर्छ । उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्नुपर्छ ।
अग्रजहरूले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिनुपर्छ । आफू अनुकरणीय व्यक्ति बनेर अरूबाट सकारात्मक व्यवहारको अपेक्षा गर्ने गर्नुपर्छ । पूरातन जड अनुशासन नभई युगसापेक्ष प्रजातान्त्रिक अनुशासनको पालना गर्ने र गराउने काममा होसियार रहनुपर्छ । भेटिएका समस्या समाधानमा व्यवहारिक बाटो अबलम्बन गर्नुपर्छ । बेलाबेलामा सामुहिक छलफलद्वारा बालबालिकको स्वभाव÷व्यवहारको समीक्षा गर्ने र उत्प्रेरणा दिनु आवश्यक हुन्छ । देखिएका कमजोर पक्ष सुधार गर्न मर्यादित तवरले खबरदारी गर्न पनि कुनै कसर बाँकी राख्नुहुन्न । आवश्यकता परे आफू स्वयम् उनीहरूकै हितैषी मित्रको भूमिकामा समेत देखा पर्न सक्नुपर्छ ।

३. निष्कर्ष
अहिलेको युग धाक–धम्कीको युग होइन । कोही कसैभन्दा कम होशियार छैन । कोही पनि सधैँ निर्बलियो भई कसैको धम्की सहेर दबिरहन चाहँदैन । एक समय पछारिएर दबे पनि दाउ हेरिरहन्छ र मौका मिल्नासाथ बदला लिन सक्छ । मित्रवत् व्यवहार देखाउँदै सहयोगी हात अघि बढाउन सकेमा भने जन्मजात शत्रु पनि परम मित्रमा परिणत हुन सक्छ ।
उमेर बढेसँगै बालबालिका मानसिक रूपले परिपक्व हुँदै जान्छन् । समाजले जेजस्तो परिस्थिति र परिबन्द दिन्छ, उनीहरू त्यस्तै सोचसमझका भएर देखा पर्दछन् । उनीहरू बाहिरी जगत्बाट सूचना लिएर ज्ञानको सीमा फराकिलो पार्न तल्लीन हुन्छन् । अग्रजहरूले देखाएको स्वभाव र गरेको क्रियाकलापको सिको गरी समाजमा समायोजन हुन प्रयत्नशील रहन्छन् । अतः हामी अग्रजहरूले झिनामसिना बालसुलभ उपद्रवहरूलाई सहर्ष स्वीकार गर्दै मायालु वातावरणमा उचित मार्गनिर्देश दिन सके र न्यायोचित व्यवहार प्रदर्शन गरिरहे दण्ड–सजायरहित वातावरणमा बालबालिका हुर्काउन सक्छौँ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

–शिक्षक, श्री जनता मावि, गोलबजार–४, सिरहा ।

Online Saptari

About The Author